डल्फिन क्षेत्रमा दृश्यावलोकन स्तम्भ

लम्की – कैलालीको टीकापुर नगरपालिकास्थित बैदीमा डल्फिन क्षेत्रमा दृश्यावलोकन स्तम्भ निर्माण गरिने भएको छ ।

स्तम्भको सुदूरपश्चिम प्रदेशसभा सदस्य डा रणबहादुर रावलले शिलान्यास गरे ।

रावलकै पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्र्तगत रु १४ लाखको लागतमा स्तम्भ निर्माण गरिन लागेको हो । उनले डल्फिनलाई पर्यटनसँग जोड्नुपर्ने बताए । “नदी नाला सफा राखेर डल्फिनको बासस्थानलाई सुरक्षित पार्न स्थानीयको भूमिका महत्वपूर्ण रहन्छ,” उनले भने ,

टीकापुर–७ का वडा सदस्य यामलाल रेग्मीले पछिल्लो समय डल्फिन अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको बताए । उनले डल्फिन अवलोकनका लागि स्वदेशी मात्र नभई विदेशी नागरिकसमेत आउन थालेका बताए ।

उक्त स्तम्भ निर्माणका लागि स्थानीय टोपबहादुर केसीले निःशुल्क एक कठ्ठा जमीन दिएका छन् । उनकै अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर स्तम्भ निर्माणको काम भइरहेको छ ।

स्तम्भ निर्माणको काम आगामी साउन २० गतेसम्ममा सम्पन्न गरिने बताइएको छ । यसै वर्षायाममा उक्त स्तम्भमा चढेर मोहना र पथरैया नदीमा डल्फिन अवलोकन गर्न सकिने छ ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्