मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ

प्रधानमन्त्री फर्केपछि लोकसेवाको विज्ञापनबारे निर्णय गर्छौँ: प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् ।

प्रेस सङ्गठन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए ।

दाहालले भने, “मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।” सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले थपे, “जति गृहकार्य भएर विधेयक आउनु पथ्र्यो, केही कमी रहेको देखियो । पक्कै पनि सरकार पार्टी यसमा सतर्क भएको छ ।” आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने दाहालले बताए ।

सरकारको नेतृत्वको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा यो विषय नयाँ नभएको प्रतिक्रिया उनले दिए ।

दाहालले भने, “मिडियामा बढी नै नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ । यो कुरा पुरानै हो । हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौँ त्यहीअनुसार अघि बढ्छौँ ।”

अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियामा टुङ्गो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुङ्गो लाग्ने बताए ।

अर्को एक प्रश्नमा उहाँले प्रदेश नम्बर ३ को अस्थायी राजधानीलाई कमसेकम पाँच वर्षका लागि त्यहीँ राख्नेकी भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
प्रचण्डले लोक सेवा आयोगको विज्ञापनका विषयमा अहिले देखिएको विवादबारे प्रधानमन्त्री स्वदेश फर्केपछि निर्णय लिने बताए ।

उनले पर्याप्त छलफल गरेर सकारात्मक निर्णय हुने बताए ।

जेठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्