ओलीको बेलायत यात्रा

राजकुमार ह्यारी र कामचलाउ प्रधानमन्त्रीसँगको भेटमै सीमित

काठमाडौँ— ब्रिटिस सेनामा आवद्ध नेपालीलाई बेलायती समकक्षी सरह सेवासुविधा, तलव र अवकाशपछिको पेन्सन लगायतमा समानताका लागि आवश्यक पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई बेलायतकाे कामचलाउ प्रधानमन्त्रीकाे हैसियतमा रहेकी टेरिजा मेले नयाँ आउने उत्तराधिकारीलाई अवगत गराउने बताएकी छिन्।

बीबीसी नेपाली सेवाका अनुसार उनले वर्षौदेखि विवादका रुपमा रहेको उक्त विषयलाई प्रधानमन्त्री ओलीले उठाए पनि हालै आफ्नो पदबाट राजीनामा दिएकी प्रधानमन्त्री मेले त्यसबारे कुनै स्पष्ट आश्वासन नदिई आफ्ना उत्तराधिकारीलाई जानकारी दिने आश्वासन मात्रै दिएकी हुन्।

टेरिजा मेले २४ मेमा सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएकी थिइन्। अब केही सातापछि सत्तारूढ दलका नेता बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन्।

नेपालले पटक–पटक राखेको केही मागलाई सम्बाेधन गरेकोमा प्रधामन्त्री ओलीले बेलायतलाई धन्यवाद दिएपनि उक्त विषयमा मेले कुनै पनि आश्वासन दिन सकिनन्।

भूतपूर्व गोर्खा सैनिकहरूले आफूले पाउँदै आएको सेवासुविधामा बेलायतले विभेद गरेको र त्यो सम्बोधन नभए पुनः आन्दोलन थाल्ने चेतावनी दिँदै आएका छन्।

नेपालमा जन्मको श्रेष्ठताका अधारमा राजतन्त्र स्वीकार गर्न नसकिने अडान लिँदै आएका ओलीले बेलायतमा भने ब्रिटिस जनता र राजमुकुटप्रति गोरखालीहरुको सेवालाई ख्याल गर्दै उनीहरुको मागप्रति ध्यान दिनुपर्ने मे सँग आग्रह गरेका थिए।
त्यो सँगै ओलीले महारानी एलिजावेत द्धितियपछि राजगद्दीका चौथो उत्तराधिकारी प्रिन्स ह्यारीसँग पनि भेट गरेका छन्।
सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धि यता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरवलोकन गर्नुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्वीटमार्फत जनाएका छन्।

प्रधानमन्त्री ओली बुधबार नै बेलायतबाट फ्रान्सतर्फ प्रस्थान गरेका छन्।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू