ग्‍याँस सिलिण्डर पड्किँदा घाइते भएकी महिलाको ज्‍यान गयो, कम्पनीविरुद्ध मुद्दा

वीरगञ्‍ज-बाराको जीतपुर सिमरा उप-महानगरपालिका-१४ स्याउली चोकमा गत शुक्रबार ग्याँस पड्किँदा घाइते भएका मध्‍ये  एक जनाको ज्यान गएको छ।

घाइते भएकी २८ वर्षीया ज्ञानीमाया मोक्तानको ज्यान गएको वडा नम्बर १४ का वडाध्यक्ष रामशरण बर्तौलाले जानकारी दिएका छन्।

मोक्तानको बुधबार बिहान तीन बजे सुष्मा कोइराला मेमोरियल अस्पतालमा ज्यान गएको बर्तौलाले बताए।

गत शुक्रबार ग्याँस पड्कीएर भएको आगलागीमा परि एकै परिवारका चार जनासहित सात जना घाइते भएका थिए। बाँकी ५ जनाको घाइतेहरुको अहिले पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्य तीनजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनीहरुको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ।

उपचारमा आर्थिक अभाव भएपछि जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौलाको पहलमा सहयोग समित बनाई बैंक खाता खोलिएको छ।

सिमरामा रहेको महालक्ष्मी विकास बैंक लिमिटेडमा समयोग समितिका देवकुमार श्रेष्ठ, विदुर कुमार खड्का र सविना गोलेको नामबाट संयुक्त बैंक खाता खोलिएको वडा अध्यक्ष बर्तौलाले जानकारी दिए।

आर्थिक सहयोग गर्न चाहने दाताहरुले जुनसुकै स्थानबाट महालक्ष्मी बैंकमा रहेको ०२९१०४००४२९५७६०००००१ मा रकम जम्मा गर्न सक्नेछन्।

घाइतेहरुको उपचारका लागि हालसम्म जितपुरसिमरा उपमहानगर पालिकाले दुई लाख र स्थानीयहरुबाट करिब १ लाख १४ हजार रुपैयाँ जम्मा भएको छ।

यस्तै अमर ग्याँस उद्योगको सिलिण्डर पड्कीएर उनीहरु घाइते भएका भन्दै ग्याँस उद्योगले क्षतिपूर्ति दिनुपर्ने स्थानीयले माग गरेका छन्।

घाइतेका परिवारले अमर ग्याँसविरुद्ध क्षतिपूर्ति माग गर्दै प्रहरीमा उजुरी दर्ता गरेको बर्तौलाले जानकारी दिए।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू