अब भोकेसनल कोर्स पढ्न विदेश जान नपाइने

काठमाडौँ – सरकारले भोकेसनल कोर्स पढ्नका लागि विदेश जान नपाउने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश पढ्न जाने विद्यार्थीलाई ‘नो अब्जेक्शन लेटर’ दिन कम्तिमा कक्षा १२ सम्म अध्ययन गरेको हुुनुपर्ने निर्णय गरेको हो।

यसअघि कक्षा ११ र १२ लाईसमेत उच्च शिक्षा मानिए पनि सरकारले माध्यामिक तह १२ सम्म बनाएपछि डिप्लोमा अध्ययनका लागि माध्यामिक तह पूरा गरेपछि मात्र अनुमति दिने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका विदेश अध्ययन अनुमतिपत्र दिने शाखा प्रमुख महेश्वर शर्माका अनुसार विदेशको कलेज वा विश्वविद्यालयमा स्नातक तहमा भर्ना भइसकेको विद्यार्थीले उक्त तहको लागि आवश्यक पर्ने मापदण्ड पुर्‍याउन भाषा वा ब्रिज कोर्स पढ्न अनुमति पाउनेछ ।

शर्माका अनुसार विदेशमा परिवार भएका हरुलाई भने १२ कक्षा पास नगरे पनि मन्त्रालयले एनओसी दिने जानकारी दिए । तर त्यसका लागि भरपर्दो कागजात हुनुपर्ने मन्त्रालयको भनाइ । पछिल्ला वर्षमा भोकेसनल कोष पढ्न अष्ट्रेलिया, जापान जस्ता देशमा जाने विद्यार्थीको संख्या बढे पनि सरकारको यो निर्णयपछि कमि आउनेछ ।

त्यस्तै शिक्षा मन्त्रालयले भाषा मात्र पढ्नका लागि जापान जान पनि अनुमति नदिने भएको छ । एनओसी पत्र लिने बेलामै भाषापछि कुन विषय पढ्ने हो त्यो प्रष्टसँग उल्लेख हुनुपर्नेछ ।

सरकारको निर्णयको यस्तो निर्णयले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई निरुत्साहित गर्ने भन्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले विरोध जनाएको छ ।

गत वर्ष शिक्षा मन्त्रालयबाट ७१ हजार विद्यार्थीले एनओसी लिएका थिए जसमध्ये धेरै जसो विदेश पढ्न गएको मन्त्रालयको भनाइ छ।

जेठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्