मान्छेको जस्तै प्रयोगशालामार्फत पशुको स्वास्थ्य जाँच

बाख्राको स्वास्थ्य परीक्षण।

विर्तामोड- विर्तामोडको महानन्द चोक नजिक रहेको पशुरोग परीक्षण प्रयोगशाला तथा चिकित्सालय पुग्दा त्यहाँ कार्यरत पशु चिकित्सक डा. दिलिप सोपकोटा शिवसताक्षी नगरपालिका ७ को एउटा बोयर बाख्रा फर्मबाट ल्याइएको बाख्राको स्वास्थ्य परीक्षण गरिरहेका थिए।

स्वास्थ्य परीक्षण गर्दा उक्त १५ दिनको बाख्रोको मुखभित्रको तालु फाटेको उनले पाए।सोही बाख्रोको शल्यक्रिया गर्ने निष्कर्षमा डा. सापकोटा पुगे र शल्यक्रिया गर्ने चाँजो मिलाउँदै थिए।

विज्ञापन

अहिले डा. सापकोटाको नेतृत्वमा मान्छेको जस्तै पशुका रोग पनि प्रयोगशालाबाट परीक्षण पश्चात उपचार गर्ने पद्धति झापामा शुरु भइसकेको छ। पशुको स्वास्थ्य परीक्षणका लागि उक्त पशु प्रयोगशालाले पशु स्वास्थ्य परीक्षणको सेवा दिइरहेको करिब एक बर्ष भयो। लामो समय पशु स्वास्थ्य क्षेत्रमा काम गरेका अनुभवी दक्ष पशु चिकित्सक तथा प्राविधिकहरुको टोलीले उक्त प्रयोगशाला एक बर्ष अघि स्थापना गरेका हुन्।

पशुको रगत जाँच्दै डा. दिलिप सोपकोटा

डा. सापकोटाले ३५ बर्ष लामो नेपाल सरकारको पशु चिकित्सक भएर काम गरे भने अर्का पशु प्राविधिक तुलसी खनालको २५ बर्ष लामो अनुभव छ।

पशु चिकित्सा सम्बन्धी काम गर्ने भनेर उनीहरुले एउटा सहकारी संस्था स्थापना गरेका थिए। सोही सहकारी संस्थामार्फत अहिले अत्यन्तै न्यून शूल्कमा पशु चिकित्सा सेवा उनीहरुले दिइरहेका छन्।

प्रयोगशालाका उपकरण।

पशु प्राविधिक खनालले भने, ‘यो प्रयोगशालाले पशुका रोग निदान गर्नका लागि रिपोर्ट निकाली औषधिको सिफारिस गरिरहेको छ।’

उनका अनुसार त्यसरी गरिएको उपचारले पशुका रोग चाँडो निको हुने गरेको छ। प्रयोगशालामा लामो समय पशु चिकित्सकको रुपमा काम गरेका डा. दिलीप सापकोटाको पूर्णकालिन बस्ने गरेका छन्। उनी उक्त सहकारी संस्थाका अध्यक्षसमेत हुन्।

डा. सापकोटाका अनुसार पहिला हेरेर वा छामेर गरिने उपचार पद्धति अहिले विकास हुने क्रममा छ।उनले भने, ‘अहिले हामी ल्याब सर्भिस बेसमा काम गरिरहेका छौं। जस्ले गर्दा रोगबारे चाँडो थाह हुन्छ र औषधि चाँडो लाग्छ।’

पशु चिकित्सक तथा प्राविधिक।

उक्त प्रयोगशालामा दुधजन्य पदार्थ, रगत तथा पिसाब, भिडियो एक्सरे मेसिनबाट गर्भ परीक्षण गरिने गरिएको छ।प्रयोगशालामा एकजना पूर्णकालिन ल्याब टेक्निसियनको समेत व्यवस्था गरिएको डा. सापकोटाले जानकारी दिए।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू