पोखरामा गोली प्रकरण

एसपी कार्की भन्छन्, ‘लागुऔषध कारोबारीको नेटवर्क तोड्छौँ’

पोखरा– लागुऔषधका कारोबारीमाथि बुधबार कास्की प्रहरीले उत्तमचोकमा दिउँसै गोली चलायो। पोखरा १०, रामबजार स्थायी घर भएका ‘जोन’ भनेर चिनिने ३० वर्षीय गोविन्द थापालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर कार्कीले लागुऔषध कारोबारमा संलग्न थापालाई नियन्त्रणमा लिन खोज्दै गर्दा प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको बताएका छन्।

विज्ञापन

विभिन्न नाकाबाट पोखरा भित्रिने लागुऔषधको संगठित गिरोह सञ्चालनमा थापाको संलग्नता रहेको खबर प्रहरीले पाइसकेको थियो।

झन्डैं दिउँसो १२ः३० बजेको समयमा उत्तम चोकमा रहेको क्याफे अगाडिबाट उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै जाइलागेको एसपी कार्कीले बताए। ‘सायद उनीहरु पहिले पनि लागुऔषधमा पक्राउ परिसकेको हुनुपर्छ’, उनले भने, ‘प्रहरीलाई देख्नासाथ ‘ब्लन्ट अब्जेक्ट’ले प्रहार गरेका छन्। प्रहरीले सेल्फ डिफेन्सको लागि गोली चलायो।’

ग १३ प ८२२८ नम्बरको मोटरसाइकलमा सवार थापालाई प्रहरीले पछ्याएको थियो। उत्तम चोकको एक क्याफे अघि पुगेपछि उनलाई नियन्त्रणमा लिन खोजिएको प्रहरीको भनाइ छ। जिप्रकाबाट इन्स्पेक्टर गणेश सुवेदीको कमाण्डमा एक टोली खटिएको थियो। कारोबारी कुन प्रकृतिको हो, प्रारम्भिक अध्ययनमै हुँदा एक्कासी प्रहरी माथि जाइलागेको टोलीमा खटिएका एक प्रहरीले बताए।

प्रहरीको गोली लागेर थापाको देब्रे खुट्टामा चोट लागेको छ। थापाको आक्रमणबाट एक असई सामान्य घाइते भएको एसपी कार्कीले जानकारी दिए।

थापासँगै रहेका अन्य १ जना व्यक्ति पनि कारोबारीमा संलग्न भएको प्रहरीको अनुमान छ। घटनास्थलबाट उनी फरार भएका छन्।

घाइते थापाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ। प्रहरीको गोली लागेर घाइते भएका थापाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न डा सुमन पौडेलले जानकारी दिए।

पक्राउ परेका थापाले यसअघि लागुऔषध ओसार–पसार गरेको मुद्दामा कतारमा सन् २०१४ देखि २०१८ सम्म सजाय भुक्तान गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। थापा ज्यान मार्ने उद्योगमा कास्की कारागारबाट यसअघि सजाय काटेर निस्केको एसपी कार्कीले बताए।

घटनास्थलबाट डाइजापाम ५ सय, फेनारागन ५ सय र नुरफिन ५ सय थान गरी १५ सय एमपुल लागुऔषध सहित उनी सवार मोटरसाइकल बरामद गरिएको एसपी कार्कीले जानकारी दिए।

लागुऔषध कारोबारीको नेटवर्क तोड्छौं : एसपी कार्की


लागुऔषध कारोबारी विरुद्ध एक्सनमा उत्रिने जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले बताएका छन्।

गोली प्रकरणबारे प्रतिक्रिया दिँदै उनले भने, ‘लागु औषधको ठूलो कारोबार हुने क्षेत्रको रुपमा पोखरालाई चिनिन्छ। सेवनकर्ता भन्दा पनि कारोबारलाई कानुनी दायरामा ल्याएर नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो।’

बुधबार पक्राउ परेका गोविन्द थापासँग जोडिएको अन्य लागुऔषध कारोबारीलाई समेत कानुनी दायरामा ल्याउन सूक्ष्म रुपले अनुसन्धान गरिरहेको उनले बताए।

‘थापा जस्तै अन्य केहीलाई पनि लोकेट गरेका छौं’, उनले भने, ‘उनीहरु पनि कारोबारी नै हुन्। हाम्रो अनुसन्धान टोलीले पक्राउ गर्न सफल हुन्छ भन्नेमा आशावादी छु।’

पोखरामा लागुऔषध कारोबारीको नेटवर्क तोडेरै छाड्ने एसपी कार्कीको भनाइ छ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू