गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ग्रीन एयरपोर्ट’ बनाउन पहल

बुटवल-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हरित विमानस्थलको रुपमा सञ्चालनमा ल्याउनका लागि तयारी थालिएको छ।

हरित (ग्रीन) एयरपोर्टका लागि विमानस्थल सञ्चालनमा प्रयोग हुने सबै उर्जालाई वैकल्पिक उर्जाका रुपमा प्रयोग गर्ने लगायतका काम गर्न विमानस्थल निर्माण भन्दा छुट्टै योजनाका रुपमा सौर्य उर्जाको प्रयोग गर्नेबारे आवश्यक प्रक्रिया सुरु भएको छ।

विज्ञापन

विमानस्थल निर्माणका लागि अनुदान र सहुलियत पूर्ण ऋण उपलब्ध गराउँदै आएको निकाय एसियाली विकास बैङ्कले स्थानीय सरोकारवाला निकाय एवं पर्यटन व्यवसायीसँग यसबारे छलफल गरेको छ।

छलफलमा एसियाली विकास बैङ्क (एडिबी)का नेपाल आयोजना अधिकृत नरेश प्रधानले सौर्य उर्जाबाट गौतमबुद्ध विमानस्थललाई चलाउने भन्ने अवधारणा अघि बढाईएको र छलफल भैरहेको बताए।

विमानस्थलमा नयाँ योजनाका रुपमा हुने र सरोकारवाला निकाय नागरिक उड्ड्यन प्राधिकरणको कार्यालय, नेपाल विद्युत प्राधिकरण कार्यालय लगायतसँग छलफल भैरहेको प्रधानले जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले तीब्र गतिमा निर्माण भइरहेको छ भने निर्माणका कामहरु अन्तिम चरणमा छन्। यो विमानस्थललाई नेपालकै पहिलो ग्रीन एयरपोर्टको रुपमा विकसित गर्ने अवधारणा अनुसार सौर्य उर्जाबाट सञ्चालन गर्नेबारे छलफल अघि बढेको एडिबीका अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार सौर्य उर्जा जडानका लागि लाग्ने रकम ग्रान्टका रुपमा एडिबीले प्रदान गर्ने छ।

छिमेकी देश भारतको कोचिन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग पनि सौर्य उर्जाबाट भएको छ। ‘अब हामी पहिला त्यहाँ गएर हेर्नेछौ, विमानस्थल भनेपछि सुरक्षाको कुराहरु पनि आउँछन्। त्यसैले सौर्य उर्जाबाट विमानस्थल सञ्चालनमा ल्याउँदा खतरा छ या छैन भन्ने कुरा कोच्चीनमा गएर बुझ्छाैँ र अन्तिम निर्णय हुन्छ’,एडिबीका आयोजना अधिकृत प्रधानले भने।

गौतमबुद्ध विमानस्थल क्षेत्र भित्रै सोलार प्यानलमार्फत कम्तीमा १० मेगावाट विद्युत उत्पादन हुन सक्ने सम्भावना रहेको प्रधानले जनाए। सौर्य उर्जामार्फत एक मेगावाट विद्युत उत्पादनका लागि कम्तिमा १० करोड जति खर्च हुने प्रधानको अनुमान छ।

विमानस्थलमा उद्योगमा जस्तो धेरै विद्युत आवश्यक नपर्ने भएकाले सौर्य उर्जाबाट उत्पादन हुने विद्युत विमानस्थलमा प्रयोग गरी बचेको विद्युतलाई विद्युत प्राधिकरणले अन्यत्र प्रयोग पनि गर्न सक्ने उनले बताए।

सौर्य उर्जाबाट विमानस्थल सञ्चालनको योजना छलफलपछि कार्यान्वयन भयो भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशकै पहिलो ग्रीन एयरपोर्ट बन्ने छ।

योजना अघि बढेमा विमानस्थल निर्माण सम्पन्न भएलगत्तै यसको काम सुरु हुने र ५÷६ महिना भित्रै सौर्य उर्जाका सबै काम सम्पन्न भैसक्ने प्रधानको भनाई छ।

सन् २०१९ को डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र त्यसपछि बाँकी प्रक्रियाहरु पूरा गरी सन् २०२० भित्रै अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याउने योजना रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए।

दातृ निकाय एडिबीले पनि सन् २०२० को जुन सम्ममा यो विमानस्थल सञ्चालनमा आउने अनुमान गरेको छ।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्