विद्यालय बचाउ अभियानको नाममा ठगी गर्ने पक्राउ

वीरगञ्‍ज-विद्यालय बचाऊ अभियानको नाममा रकम ठगी गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सर्लाही हरिपुर नगरपालिका २ घर भएका ३२ वर्षीय वीरेन्द्र कुमारलाइ पक्राउ गरेको हो।

पक्राउ परेका बिरेन्द्रले बिद्यालय बचाउ अभियानको नाममा विभिन्न सरकारी तथा गैह्रसरकारी स्कुलहरुमा कार्यरत शिक्षिकाहरुसँग गैरकानुनी रुपमा रकम उठाउदै आएका थिए।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले बिरेन्द्रलाई कोल्हबी नगरपालिका-३ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, जुअवाकटृी अगाडिबाट पक्राउ गरेको हो।

केही समय देखी वीरेन्द्रले कोल्हवी एरिया अन्तर्गत रहेका विभिन्‍न सरकारी तथा गैह्र सरकारी स्कुलहरुमा कार्यरत शिक्षिकाहरुसँग सेभ द स्कुल को नाममा शैक्षिक सामाग्रीहरु किनबेच गर्ने,तालिम सञ्‍चालन गर्ने र वृज कोर्स गराउने जस्ता योजना सुनाई रकम उठाउदै ठगी गर्दै आएको बारा प्रहरीले जनाएको छ।

उनको साथबाट प्रहरीले रकम उठाउनको लागि प्रयोग गरिने सेभ द स्कुल लेखिएको रसिदको ठेली १ थान र ‘विद्यालय बचाउ अभियान’ लेखिएको ठेली-२ थान बरामद गरेको छ।

पक्राउ परेका बिरेन्द्रलाई ठगी मुद्दामा जिल्ला अदालत बाराबाट-५ दिनको म्याद थप गराई आवशयक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जेठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्