मोरङमा पनि पाँच जनामा डेंगूको संक्रमण, नष्ट अभियान सुरु

राजधानी बिराटनगरमा दुइ र सुन्दरहरैंचा नगरपालिकामा तीन जनामा डेंगुको संक्रमण देखिएपछि टायरहरुलाई हटाउँदै अभियानकर्ता। तस्बिर- अभयकुमार राई/देश सञ्‍चार

सुनसरी- सुनसरीको धरानमा फैलिएको डेङ्गु संक्रमणसँगै मोरङ जिल्लामा पनि पाँच जनामा यसको संक्रमण देखिएको छ।

राजधानी बिराटनगरमा दुइ र सुन्दरहरैंचा नगरपालिकामा तीन जनामा डेंगुको संक्रमण देखिएको हो। यससँगै विराटनगर महानगरपालिकामा बुधबारदेखि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कन थालिएको छ।

४० प्रतिशत मालाथिन र ६० प्रतिशत डिजेल मिसाएर मालाथिन फगिङ स्प्रे गर्न थालिएको महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत एपोलोकुमार भगतले जानकारी दिए।

शाखा अधिकृत भगतका अनुसार लामखुट्टेको लार्भा नष्ट गर्नका लागि सफा पानी जम्न नदिने र जमेको पानीमा डढेको मोविल वा डिजेल हालिदिने ‘खोज र नष्ट’ अभियान पनि सुरु गरिएको छ।

महानगरले विराटनगरको १, २, ३, र १० नम्बर वडामा बुधबार औषधि छर्किएको हो। बिहीबार १, ३, ४ र १०, शुक्रबार ४, ५, ६ र ७ तथा शनिबार ५, ६, ८ र ९ नम्बर वडामा औषधी छर्कने बताइएको छ।

त्यसैगरी असार १ गते ८, ९, ११ र १२ मा, २ गते ११, १२, १३ र १४ मा, ३ गते १४, १५, १६ र १७ मा तथा ४ गते १८, १९ नम्बर वडामा मालाथिन फगीन स्प्रे गर्ने कार्यक्रम तय भएको भगतले बताए।

‘डेंगु सक्रमित लामखुट्टेले दिउँसो मात्रै टोक्ने भएकाले बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको उनले बताए। उनले भने, ‘यसका लागि नगरबासीलाई खाने कुरा छोपेर राख्न पनि आग्रह गरिएको छ।’

त्यसैगरि, विराटनगर महानगरपालिकासहित मोरङको सुन्दरहरैंचा, उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी लगायतका स्थानीय तहको सक्रियतामा सरसफाई अभियान चलाएर लामखुट्टे मार्ने औषधि छर्कन सुरु गरिएको छ।

सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले डेंगुको संक्रमण नियन्त्रणका लागि सरसफाईमा ध्यान दिएर औषधि छर्कन थालिएको जानकारी दिए।
डेंगु नियन्त्रणकै लागि प्रदेश एक सरकारले ८० लाख रुपैयाँ बजेट समेत छुट्याएको छ।

जेठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्