किन बालश्रमिकमाथि कसैकाे आँखा पुग्दैन?

फाइल तस्बिर

काठमाडौं– सधैँजसो अफिसको काम सकेर घर फर्कदा साँझ भइसकेको हुन्छ। सानेपाबाट (अफिस) शान्तिनगर (कोठा)। साँझको बेला प्रायः जसो सानेपाबाट हामी गाडी चढ्न माइतीघरसम्म हिँडेरै जाने गर्छौँ। साँझको समय माइतीघरबाट गाडी चढ्दा खुट्टा राख्ने ठाउँ पाउन पनि मुस्किल हुन्छ।

अफिसबाट निस्कदा साँझको करिब साढे सात बजेको थियो। अफिसबाट साथी र मेरो यात्रा फेरि सुरु भयो। शुक्रबारको दिन हामी अन्य दिनहरु जस्तै त्यस दिन पनि हिँड्दै माइतीघरसम्म पुग्यौँ।

माइतीघर पुग्दा ८ बज्नै लागेको थियो। सार्वजनिक बसको संख्या पातलिने क्रममा थियो। जति आइरहेका थिए, ती सबैका ढोकासम्म यात्रुहरु झुन्डिरहेका थिए। अल्लि कम यात्रु भएको बस आउला भन्ने आशामा हामी कुर्न थाल्यौँ।

हामीले बस कुरेको केही समयपछि रिद्धिसिद्धि यातायात लेखेको एउटा बस आयो। बस रोकियो अनि बसबाट आवाज आयो, ‘बानेश्वर, कोटेश्वर, जडिबुटी….।’ आवाजमा बस पुग्ने गन्तव्यको नाम दोहोर्‍याई–तेहेर्‍याइ आइरहेको थियो। अन्य बसहरु भन्दा उक्त बसमा यात्रुहरु कम भएका कारण बस कुरेर बसिरहेका अन्य मानिसहरु पनि ठेलमठेल गर्दै भित्र पसे। उनीहरु सँगसँगै हामी पनि भित्र पस्यौँ।

बस चढ्दा साढे आठ भइसकेको थियो। प्रायः त्यो समयमा सबै मानिस आ–आफ्नो गन्तव्यमा पुगिसकेको हुन्छन्। सायद त्यसैले पनि होला हामी चढेको बस खाली नै थियो।

भित्र पस्ने बित्तिकै अगाडिको महिला सिट खाली रहेछ। शान्तिनगर ओर्लिनु पर्ने भएकाले म अगाडि नै बसेँ। बस आफ्नै रफ्तारमा हुइकिँदै थियो। समय–समयमा सहचालकले उसै गरी ती ठाउँका नाम दोहोर्‍याउँदै थिए, ‘बानेश्वर, कोटेश्वर, जडिबुटी….।’ जहाँजहाँ बस रोकिन्छ, उसै गरी बारम्बार सह–चालक त्यही ठाउँको नाम दोहोर्‍याउँदैै थिए।

एक्कासी मेरा आँखा सहचालकमा परे। हरियो चेक सर्ट, निलो जिन्स पाईन्ट, खुट्टामा चप्पल, गोलो अनुहार, अनि बाँया हातमा पैसाको मुठो समातेका करिव १२/१३ वर्षका साना बालक बसको ढोकामा उभिएको देखेँ। उसो त उनी जस्ता बालकहरु सहचालक नदेखेको भने होइन। तर त्यो बेला भने उनको छेउमै रहेको सिटको झ्यालपट्टि उस्तै उमेरका कालो चेक सर्ट र कालै जिन्स पाइन्ट लगाएका बालक आमासँग बसिरहेका थिए।

बानेश्वरबाट शान्तिनगर पुगुन्जेल ती दुवै बालकलाई राम्रोसँग नियालेँ। एक आमाको काखमा बाँधिएका थिए भने अर्का जिम्मेवारीले बाँधिएका थिए। दुवैको उमेर उस्तै तर काम बिल्कुलै फरक। एक जनालाई जिम्मेवारी के हो थाहा छैन भने अर्कोलाई पूर्ण रुपमा जिम्मेवारीले बाँधेको छ। दुवैको उमेर एकै भएपनि अवस्था भने बिल्कुलै फरक थियो।

हरेक वर्षको जेठ २९ गते बालश्रमविरुद्धको दिवस र भदौ २९ गते बाल दिवस मनाउने गरिन्छ।

प्रत्येक वर्ष यी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ मनाउने गरिन्छ। तर अहिलेसम्मका सबै यस्ता दिवस नारामा मात्रै सिमित रहेका छन् भन्दा पनि फरक नपर्ला। खास दिन र दिवसका बेला सम्झिइने तर अन्य समयमा बालबालिकाका मुद्दामा खासै चासो नदेखाउने प्रवृतिका कारण बालवालिका भने सधैँ प्रताडित भई नै रहेका छन्।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा संवैधानिक प्रत्याभूति प्रदान गरेको छ। वर्तमान संविधानले उल्लेख गरेका बालबालिकासम्बन्धी व्यवस्थाहरू मुलुकले बालबालिकाप्रति निर्वाह गर्नु पर्ने राष्ट्रिय दायित्व हुन्।

संविधानले मौलिक हकको रूपमा बालबालिकालाई बाँच्न पाउने हक, समानताको हक, विशेष संरक्षणको हक, स्वच्छ वातावरणमा बाँच्ने हक, आधारभूत स्वास्थ्य सेवा र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक, आफ्नो पहिचान सहित नामाकरण र जन्म दर्ताको हक, परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकासको हक प्रदान गरेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा केन्द्रीय बाल कल्याण समितिकै तथ्याङ्कलाई हेर्ने हो भने गत बर्ष मात्रै विभिन्न ५ सय ८५ वटा घटनाहरुमा १ हजार २ सय ७३ जना बालबालिका प्रभावित भएको देखाएको थियो।

जसमा उनीहरुलाई बलात्कार, हत्या, आत्महत्या, बालविवाह, अपहरण, गर्भपतन, शारीरिक सजाय, बाल ओसारपसार, बालश्रम जस्ता विभिन्न कार्यहरुमा संलग्न गराइएको पाइएको थियो। तर यस वर्ष यसको संख्या अझै बढ्दो रहेको छ।

संविधानमा प्रारम्भिक बाल विकास तथा बाल सहभागितको हक, बाल अनुकूल न्यायको हक, विस्थापित भएका एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधाको हक, कानुन बमोजिम सामाजिक न्याय, सुरक्षा र आफ्नो मातृभाषामा शिक्षा पाउने हक प्रदान गरिएका छन्।

यसका अतिरिक्त कुनै पनि बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन, गैरकानुनी ओसार–पसार गर्न, अपहरण गर्न, बन्धक राख्न, सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न शारीरिक, मानसिक, यौनजन्य वा कुनै किसिमको यातना दिन, शोषण गर्न, अनुचित प्रयोग गर्न तथा बाल विवाह गर्न नपाइने व्यवस्था गरी यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुने व्यवस्थाका साथै त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकसमेत सुनिश्चित गरेको छ।

तर उनीहरुका हक र अधिकारको संरक्षणका विषयहरु उल्लेख्य रुपमा सम्बोधन भएता पनि व्यवहारमा भने धेरै बालबालिकाहरुसम्म अधिकारको यो विषय पुग्न सकेको छैन।

सरकारले काठमाडौँ उपत्यकामा ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुदैन’, भन्ने नाराका साथ आर्थिक वर्ष २०७३/२०७४ बाट बालबालिका संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्क्त कार्यक्रम सुरु गरेदेखि गत वर्षसम्म ८ सय ७३ बालबालिका (बालक ७ सय ८३ र बालिका ९०) उद्धार गरिएको सरोकारवालाले दावी गर्दै आएका छन्।

ती मध्य पनि विभिन्न बाल केन्द्र वा बाल गृहहरुमा २ सय ७६ जना आश्रत रहेका छन्, ४ सय २० जना बालबालिकालाई पारिवारिक पुनस्थापना गरिएका छ भने विभिन्न तालिममा करिब १ सय १५ जना सम्मिलित भएका छन्।

सरकारसँग उपत्यकामा सञ्चालनमा रहेका १ हजार भन्दा बढी सार्वजनिक यातायातको अनुगमन गरी ५९ जना श्रमिक बालबालिकालाई विभिन्न संस्थाहरुमा पुर्नस्थापना गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो।

तर अझैँ पनि कयौँ बालबालिका छन् जो अहिलेसम्म पढ्न लेख्न पाएका छैनन्, शरीरमा नयाँ लुगा फेर्न पाएका छैनन्। त्यसैले त आफ्नो आय आर्जनका निम्ति विभिन्न ठाउँहरुमा श्रम गरिरहेका छन्।

उनीहरु श्रम गरेरै आफ्ना आवश्यकता पुरा गरिरहेका छन्। कयौँले काँधमा परिवारको जिम्मेवारी समेत बोकेर हिडिरहेका छन्।

जेठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्