प्रनेश गिरफ्तारीको केस चर्किएपछि निर्माता चाम्सको ‘रुन्चे सफाइ’

रिपोर्टर्स क्लबको पोडियमबाट चलचित्रकर्मी मिलन चाम्सले पत्रकारलाई सम्बोधन गर्दै भने, ‘मैले यो प्रेसमिट केही कुरा प्रस्ट पार्नलाई बोलाएको हुँ, प्रनेश गौतमको विषयमा जे जे कुरा सार्वजनिक भइरहेका छन्, त्यो गलत छ।’

प्रसंग हो,

व्यंग्य च्यानल ‘मिम् नेपाल’ को पेजबाट कमेडियन प्रनेश गौतमले चलचित्र वीर विक्रम – २ को बारेमा गरेको समीक्षाको। उनले चलचित्रको बारेमा गरेको समीक्षा यस्तो छ।

यो भिडियो सार्वजनिक भएपछि निर्देशक तथा निर्माता मिलन चाम्सले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीलाई उजुरी दिएपछि प्रनेशसँगै मिम् नेपालका सञ्चालकलाई पनि हिरासतमा लिइएको थियो। अहिले प्रहरीको नियन्त्रणमा प्रनेशमात्र रहेका छन्।

उनलाई प्रहरीले साइबर क्राइम गरेको भन्दै फेसबुकको पेजबाट सार्वजनिक गरेका थियो। गएको सोमबार मिलपत्र गर्न प्रहरी प्रशासन पुगेका चाम्सको विपक्षसँग कुरा नमिलेपछि प्रनेश हिरासतबाट बाहिरिन पाएनन्। उनले चलचित्रको समीक्षा गरेको आधारमा प्रहरीको नियन्त्रणमा बस्नु परेको भन्दै माइतीघरमण्डला लगायतका ठाउँमा प्रदर्शन पनि भएको छ।

यस्तै यो कदमले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। कांग्रेस नेता गगन थापा लगायतले यसको विरोध गरेका छन्। प्रहरीको यो क्रियाकलाप गलत भएको बताएका छन् उनले।

तर बुधबार रिपोर्टर्स क्लबमा वीर विक्रम – २ का निर्माता तथा निर्देशक मिलन चाम्सले यो विषयलाई राजनीतिकरण गरिएको दाबी गरे। समीक्षा गरेको आधारमा प्रनेशलाई हिरासतमा राखिएको हैन भन्दै चाम्सले भने, ‘उनको समीक्षामा रंगभेद, अनि गालि गलौज तथा अपशब्द प्रयोग गरिएको छ, त्यसैले यो गल्तीको अनुभूति उनीहरुले गर्न पर्छ भनेर उजुरी दिएको हुँ।’

उनले व्यक्तिगत रुपमा केही पनि दुश्मनी नभएको भन्दै उजुरी मात्र सबक सिकाउनको लागि गरिएकोमा राजनीतिकरण भएको बताए। सोमबार विपक्षसँग कुरा नमिलेपछि प्रनेश अझै हिरासतमा नै छन्।

को हुन् प्रनेश

धरान नगरपालिका वडा नं १४ घर भएका प्रनेश अहिले भक्तपुरको बालकोटमा बस्छन्। पेशाले आर्किटेक्ट हुन्। उनले कमेडी सर्कल, भिम्याग युट्युब च्यानलबाट कमेडी भिडियो बनाउँथे। स्ट्याण्डअप कमेडी गर्ने प्रनेशको पछिल्लो कमेडीको एक अंश धेरै नै चर्चित छ। ‘हेर्न त्यो केटालाई, कस्तो कालो, कस्तो घिनलाग्दो।’

यो डागलग टिकटक एप्लिकेशनमा पनि असाध्यै चर्चित छ।

प्रनेशको चलचित्रको समीक्षामा चक्कु देखाएर जबरजस्ती चलचित्रलाई राम्रो भन्न लगाइएको छ। उनले व्यंग्यात्मक रुपमा चलचित्र वीर विक्रम – २ लाई जसजसले राम्रो भने त्यो वास्तविकता हैन भनेर देखाउन खोजेको भनेका छन्।

यही अभिव्यक्तिबाट झोकिएका चाम्सले प्रहरीमा उजुरी दिए तर उनको यो कदमको चौतर्फी बिरोध भएपछि रिपोटर्स क्लबमा उनले सफाइ दिए। क्यामराको अगाडि उभिएर उनले भिडियो हेरेर राय मागे।

भिडियोमा उनले पल शाह, नाजिर र सरिता लगायतका कलाकारलाई अरु व्यक्तिको नाम दिएका छन्। प्रनेशले आफ्नो गल्ती स्वीकारिसकेको तर मुद्दालाई उल्झाइएको चाम्सले आरोप लगाए । उनले प्रनेशलाई दिनहुँ भेट्न गएको र प्रनेशका बाबुआमालाई भेटेको र आफूले चाँडै नै बाहिर निकाल्न चाहेको भएपनि प्रक्रियाले समय लागेको सफाइ दिए।

जेष्ठ २९, २०७६ मा प्रकाशित