बुढा रुख काटियो,नयाँ रोपियो

वैज्ञानिक वन व्यवस्थापनमा कतै विरोध, कतै समर्थन

राजपुर गाउँपालिका वडा नं. ३ स्गित त्रिशक्ति सामुदायिक वन क्षेत्रमा  काटिएका सालका बुढा तथा धोद्रा रुखका गोलीया। तस्विरः दशरथ घिमिरे/देश सञ्चार 

दाङ-वन क्षेत्रमा चरिचरण बन्द छ। तारबार गरेर वन प्रवेशमा रोक लगाइएको छ। सालका नयाँ विरुवा हुर्काउन उमेर पुगेका रुखहरु काटिएका छन्। अब खाली भएको स्थानमा साल नयाँ बिरुवा उम्रने आशा गरिएको छ।

गढवा गाउँपालिका–१ मलमलामा रहेको सूर्य सामुदायिक वनमा यसरी नयाँ बिरुवा रोप्ने प्रक्रिया थालिएको हो। जहाँ वन क्षेत्रको साढे चार हेक्टर वन क्षेत्रमा वैज्ञानिक तरिकाले वन व्यस्थापन गर्न लागिएको हो।

उक्त सामुदायिक वनभित्र हरेक वर्ष वैज्ञानिक वन व्यवस्थापन गर्दै ८० वर्षसम्मको वन व्यवस्थापन योजना तयार पारिएको सूर्य सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर श्रेष्ठले जानकारी दिए।

‘वन संरक्षणलाई खेती प्रणालीमा लग्नुपर्ने अहिलेको आवश्यकता हो। वनभित्र बुढा र अस्वस्थ रुखहरु छन्। त्यस्ता रुखहरुलाई हटाउँदै नयाँ रुख तयार पार्ने उद्देश्यले वैज्ञानिक वन व्यवस्थापन लागु गरिएको हो’, अध्यक्ष श्रेष्ठले भने,‘हरेक बर्ष काठ विदेशबाट आयात भैरहेको छ। यो आयात गर्ने दरलाई समेत घटाउन सकिन्छ।’

सूर्य सामुदायिक वनमा जस्तै दाङका २१ ओटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएको छ। डिभिजन वन कार्यालय देउखुरीको १५ ओटा र डिभिजन वन कार्यालय घोराही मार्फत ६ ओटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन गरिएको हो।

देउखुरी क्षेत्रमा एक सय ४८ ओटा सामुदायिक वन रहेका छन्। जसमध्ये यस वर्ष १७ ओटा सामुदायिक वनको कार्यायोजना स्वीकृत भएको छ। ‘रुख काटेर मात्रै वन व्यवस्थापन हुँदैन।

रुख काटिएको खाली ठाउँमा नयाँ बिरुवा उम्रेकै हुनुपर्छ,’ डिभिजन वन कार्यालय देउखुरीका प्रमुख शंकरप्रसाद गुप्ताले भने,‘वैज्ञानिक वन व्यवस्थापनमा उपभोक्ताको सक्रियता धेरै चाहिन्छ। चरिचरन पूर्णरुपमा बन्द भएको हुँनैपर्छ। डढेलो समेत लाग्न दिन हुँदैन। तब मात्रै नयाँ बिरुवा उम्रन सक्छ।’

सालको रूखको आयु ८० वर्ष मानेर सामुदायिक वनलाई ८० भागमा विभाजन गरी व्यवस्थापन भईरहेको छ। वैज्ञानिक वन व्यवस्थापनमार्फत आन्तरिक आम्दानी बढ्ने र रोजगारीका सम्भावना पनि बढ्दै गएका छन्।

वैज्ञानिक वन व्यवस्थापन किन ?


डिभिजन वन कार्यालय दाङ घोराहीका प्रमुख दिपक ज्ञवालीले वैज्ञानिक वन व्यवस्थापनको पवित्र उद्देश्य जंगल बनाउने नै रहेको बताए। ‘अहिले जंगल नराम्रो छ। धोद्रा रुख छन्। हेल्थ कन्डिसन पनि ठिक छैन। अब फेरी हाई क्वालिटी, हेल्दी फरेष्ट बनाएर हस्तान्तरण गर्ने हो’, उनले भने, ‘राम्रो कर्ममा लाग्ने हो। राम्रो कर्म गर्न मान्छे तयार छन् की छैनन् भन्ने कुरा हो। वनमा बदमासी गर्ने हो भने त्यसमा अपराध लाग्छ।’

वैज्ञानिक वन व्यवस्थापनको नाममा वन फडानी: वन महासंघ


सामुदायिक वन उपभोक्ता महासंघले वैज्ञानिक वन व्यवस्थापनको विरोध गरेको छ। सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सामुदायिक वन संरक्षणको नाममा वन फडानी गरिएको अरोप लगाए।

‘२०७० साल देखि सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको नाममा रुखहरु कटान गर्न थालियो। सरकारी हस्तक्षेपका कारण सामुदायिक वनको स्थायित्व नै संकटमा पर्न थाल्यो’, उनले भने,‘वैज्ञानिक वन व्यवस्थापनले सामुदायिक वनमा वातावरणीय जोखिम, सामाजिक प्रभावको वेवास्ता, शुसासनको अभाव र व्याप्त भष्ट्राचार मौलाउँछ।’

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्