श्रीमान्-श्रीमतीको सेटिङमा कारागारबाटै लागुऔषध कारोबार

पोखरा-जिल्ला प्रहरी कार्यालय पोखराले बुधबार लागुऔषधसहित एक महिलालाई पक्राउ गरेको छ।

पोखरा १० अमरसिंहबाट ठूलो मात्रामा लागुऔषधसहित ३८ वर्षीया देवीकुमारी गुप्तालाई पक्राउ गरिएको एसपी दानबहादुर कार्कीले जानकारी दिए।

लागुऔषधको कारोबार भइरहेको भन्‍ने सूचनाको आधारमा जिप्रकाबाट खटिएको अनुसन्धान टोलीले गुप्ताले बोकेको जेब्रा झोलाबाट लागुऔषध फेला परेको थियो।

गुप्ताको साथबाट ३ सय थान डाइजापाम, ३ सय थान फेनेरागन, ३ सय थान नरफिन र ९ सय थान एम्पुल बरामद गरिएको छ।

प्रहरीको अनुन्धानबाट गुप्ता लागुऔषध कारोबारी भएको खुल्न आएको छ। उनका श्रीमान् लागुऔषध मुद्दामा कास्की कारागारमा छन्।

कारागारभित्रबाट फोन गरी आफूलाई लागुऔषध अन्य व्यक्तिबाट बुझेर सम्बन्धित ठाउँमा पुर्‍याउन श्रीमान्‌ले अह्राएको बयानमा गुप्ताले खुलाएकी छन्।

अमरसिंह चौरबाट आफूले लागुऔषधसहितको जेब्रा झोला लिएर हिँडेको उनले प्रहरी समक्ष बताएकी हुन्।

उनले यसअघि पनि लागुऔषध ओसारपसार गर्दै आइरहेको प्रहरी जनाएको छ।

प्रहरीले उनको साथबाट सामान पठाएको ९० हजार रुपैयाँको आइएमइआइ भर्पाइ फेला पारेको बताएको छ।

उनी बुद्धचोक बस्दै आएकी थिइन्। पक्राउ उपर थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए।

जेष्ठ २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्