समाजवादी पार्टीले दियो दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौँ – समाजवादी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकता भएनर बनेको समाजवादी पार्टीले बिहीबार औपचारिक रुपमा दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

दल दर्ताका लागि संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवसहितका नेता–कार्यकर्ता आयोग पुगेका थिए ।

गएको वैशाख २३ गते दुई पार्टीले नौ बुँदे सहमति गर्दै पार्टी एकता घोषणा गरेका थिए । एकीकृत पार्टीको झण्डा तत्कालीन फोरमकै तारासहितको रातो र हरियो रंगको प्रस्ताव गरिएको समाजवादी पार्टीका नेता डा. शिवजी यादवले जानकारी दिए ।

उनका अनुसार पार्टीको चुनाव चिन्ह अहिले नराखिएको र आयोगले निर्णय गर्ने बेलासम्म प्रस्ताव गरिने जानकारी दिए । निर्वाचन आयोगमा दिएनको निवेदनमा पार्टीको केन्द्रीय सदस्य चार सय ३० नाम उल्लेख गरिएको छ ।

एक नेताका अनुसार तत्कालीन फोरमबाट दुई सय ८० जना र नयाँ शक्तिबाट एक सय ५० जनालाई केन्द्रीय सदस्य बनाइएको छ ।

राजनीतिक दल सम्बन्धि ऐन २०७३ अनुसार पार्टी एकीकरणका लागि निवेदन दिएको ४५ दिनभित्र निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेर प्रमाणपत्र दिनुपर्नेछ ।

तस्बिरहरु: बर्षा शाह/देश सञ्चार 

जेठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्