बालविकास केन्द्रका शिक्षकद्वारा आन्दोलनको चेतावनी

मोरङ-बाल विकास केन्द्रका शिक्षकहरुले प्राथमिक विद्यालयस्तरकै सेवा सुविधा र दरबन्दी उपलब्ध नगराए सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

प्रदेश एकको राजधानी विराटनगरमा समाजिक विकास मन्त्री जीवन घिमिरेलाई ७ बुँदे मागपत्र बुझाउँदै शिक्षकहरुको टोलीले उक्त चेतावनी दिएका हुन्।

लामो समयसम्म बाल विकास केन्द्रमा कार्यरत उनीहरुले सरकारले अझैपनि न्यूनतम पारिश्रमिक समेत उपलब्ध गराउन नसकेकोमा मन्त्री घिमिरे समक्ष गुनासो गरेका थिए। विगत १८ वर्षदेखि केन्द्रमा कार्यरत रहँदै आएका शिक्षकहरुले प्राथमिक तहका शिक्षक सरह सेवा सुविधा उपलब्ध गराउन मन्त्रालयमा दबाव दिएका थिए।

प्रदेश एकका विभिन्न जिल्लाबाट मन्त्रालय पुगेका शिक्षकहरुको मागपत्र बुझ्दै मन्त्री घिमिरेले विद्यालय शिक्षा स्थानीय सरकारले हेर्ने बताएका थिए। तथापि संघपछि प्रदेशले शिक्षा ऐन ल्याउँदा उल्लेखित मागका केही कुरा ऐनमा समावेश गर्न सकिनेमा मन्त्री घिमिरेले जोड दिएका थिए।

मागपत्र बुझाउदै नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास संघर्ष समिती प्रदेश एक अध्यक्ष मनिषा श्रेष्ठले आफूहरुको मागलाई तीनै तहको सरकारले वेवास्ता गरेको आरोप लगाएकी थिइन्।

सो क्रममा प्राथमिक शिक्षक सरह दरबन्दी कायम गर्नुपर्ने, योग्यता बढाउन समय दिनुपर्ने, उमेर हदबन्दी लागु नगर्ने, विद्यालयबाट विदा हुँदा राम्रो प्याकेजको व्यवस्था लगायतका मागहरु राखिएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

हाल सरकारले शिक्षकहरुलाई न्यूनतम ज्यालासमेत नदिएको गुनासो उनले गरेकी छिन्।

जेठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्