चिठ्ठा परेको भन्दै इमोमार्फत ठगी आरोपमा दुईजना पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङ।

मोरङ-चिठ्ठा परेको भन्दै इमोमार्फत ठगि गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ।

मोरङ प्रहरीका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विराटनगर महानगरपालिका–११ का निरज मरिक र धनपालथान गाँउपालिकाका श्रवण मलहालाई ठगि आरोपमा पक्राउ गरिएको जानकारी दिए।

दुवैको मिलोमतोमा गत वर्ष पुष १५ गते ईलाम माइ नगरपालिकाका पासाङ शेर्पालाई इमो मार्फत म्यासेज पठाएर चिठ्ठा परेको जानकारी गराएका थिए। पच्चीस लाख रुपैयाँ चिठ्ठा परेको भन्दै विभिन्न बहानामा शेर्पाबाट दुवैले १ लाख २० रुपैयाँ ठगि गरेका थिए।

चिठ्ठा परेको खबरसँगै दुवैले शेर्पालाइ पहिलो चरणमा दस्तुर रकम ४५ हजार र कम्प्युटर लक लागेको भन्दै ७५ हजार माग गरेका हुन्। सो रकम शेर्पाले खातामा जम्मा गरेपछि दुवैजना सम्पर्कविहीन हुँदै आएका थिए।

उक्त रकम पठाउनका लागि ग्लोबल आइ.एम.ई बैंकको खाता नम्बर उपलब्ध गराउने २३ वर्षिय मरिक बुधबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

त्यसैगरि ३६ वर्षीय मलहालाई उपलब्ध खातामा रकम पठाउन लगाउने व्यक्तिको रुपमा प्रहरीले पक्राउ गरेको हो। सोही क्रममा पीडित शेर्पाको उजुरीको आधारमा दुवैलाई प्रहरीले पक्राउ गरेको हो।

मलहालाई गतवर्ष पुषमा विराटनगरस्थित हाटखोला चौकबाट इमो मार्फत ३० हजार रुपैया ठगि गरेको आरोपमा पक्राउ गरेको थियो। पक्राउ परेका उनी माघमा २ लाख रुपैयाँ धरौटीमा छुटेका थिए।

जेठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्