टिपर दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

फाइल तस्बिर

नुवाकोट– नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवा नियालेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक र सहचालक घाइते भएका छन्।

पासाङ ल्हामु सडकखण्डको रानीपौवा र ३५ किलोको बीचमा काठमाडौँबाट नियालेतर्फ आउँदै गरेको बा २ क ६३६३ नम्बरको टिपर सडकबाट करीब ३ सय मिटर तल खसेको थियो।

प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार दुर्घटनामा स्थानीयवासी ६० वर्षीया माइली तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते तामाङको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा टिपर चालक २४ वर्षीय अनिल लामा र सह–चालक जीवन लामा घाइते भएका छन्। दुवै जनाको काठमाडौँमा उपचार भइरहेको छ ।

माइलीका आफन्तले क्षतिपूर्तिको माग गर्दै पासाङ ल्हामु सडकखण्डमा सवारीसाधन सञ्चालनमा अवरोध गरेका छन्।

जेठ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्