रिहा हुने आदेश पाएको ५ घन्टा नबित्दै विप्लवका ९ कार्यकर्ता मध्यरातमा पुनः पक्राउ

बार एसोसियसनको कार्यालयमा बसेका रिहा हुने आदेश पाएका विप्लव समूहका ९ विद्यार्थी कार्यकर्ता । उनीहरुलाई बिहीबार राति १२ बजे प्रहरीले पुनः पक्राउ गरेको छ । तस्बिरः देश सञ्चार

पोखरा – उच्च अदालत पोखराले रिहा हुन आदेश दिएको नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका ९ कार्यकर्तालाई पुनः प्रहरीले पक्राउ गरेको छ ।

न्यायाधीशद्वय तेजबहादुर कार्की र सुवास पौडेलको संयुक्त इजलासले बिहीबार उनीहरुलाई छाड्न आदेश दिएपछि पक्राउ पर्ने डरले बार एसोसियसनको कार्यालयमा शरण लिएर बसेका थिए ।

दर्जनौ प्रहरीले अदालतलाई घेरा हालेर रातको १२ बजेसम्म बसिरहे पनि अन्तिममा बारको कार्यालय खोलेर ९ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

जेठ २५ गते कास्कीको घान्द्रुक उरीबाट पक्राउ परेका १८ जनामध्ये रिहा हुने आदेश पाएका जंगबहादुर भण्डारी आक्रोश, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मीलन राई छन् ।

उनीहरु सबै विप्लव समर्थित विद्यार्थी संगठनका नेता हुन् ।

हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकले नियन्त्रणमा लिई राखेको प्रहरी स्रोतले बतायो ।

यसबारे भने प्रहरीले आधिकारिक धारणा दिन मानेको छैन ।

पक्राउ पर्नेमध्येका जंगबहादुर भण्डारी आक्रोशको तर्फबाट पृथ्वीराज भण्डारीले गैरकानूनी तरिकाले पक्राउ गरिएको भन्दै जेठ २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

उनीहरुलाई राज्य विरुद्धको कसुरमा जिल्ला अदालतबाट म्याद थप भएपछि जेठ २७ गते नै बन्दीप्रत्यक्षीकरण रिट दायर भएको हो ।

उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले ९ जनालाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

उक्त दिन पक्राउ परेकामध्ये बाँकी ९ जनाको हकमा सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका मुद्दा शाखाका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनीता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जेठ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्