लैंगिक अल्पसंख्यकहरुको खै को छ त?

हटिनटि अनुपम श्रेष्ठ

भनिन्छ जीवन एउटा प्रारब्ध हो रे जहाँ हरेक प्राणीहरुले जीवनको माध्यमबाट विभिन्न अनुभवहरु लिइरहेका हुन्छन् । अझ मान्छेको जीवन त अनुभब नै अनुभवको खानी हो। चेतनाको सर्वश्रेष्ठ शिखर चुमेर बुद्ध बन्नेहरु पनि मानिसकै रुपमा जन्मिन्छन्। मानिसहरु पुरुष भएर जन्मिन्छन्, महिला भएर जन्मिन्छन्। अनि, म जस्तै पृथक लिंगी भएर पनि जन्मिन्छन्, जसलाई तेश्रो लिंगी भनेर राजनीतिक भाषा अनुसार लिंगहरुको एक समूहमा राखिदिएको छ ।

मलाई चाहिँ तेश्रो लिंगी भनेर भन्दा तेश्रो दर्जाको लिंगी भन्न खोजेको हो कि जस्तो लाग्दछ । कहिले काहिँ दुई व्यक्तिको बिचमा कोही असम्बन्धित मान्छेले हस्तक्षेप गर्यो भने तिमी थर्ड पर्सन किन जान्ने भएको भनेर सोध्छौँ नि है, त्यसैगरी तेश्रो लिंगी भन्दाखेरि आफूलाई महिला र पुरुषको बिचमा एक अस्वभाविक मान्छेको रुपमा परिभाषित भएको जस्तो लाग्छ । त्यसैले तेश्रो लिंगी भन्ने लैंगिक परिचयले मेरो पृथक अस्तित्वलाई न्यायोचित रुपमा परिभाषित गरेको जस्तो लाग्दैन।

विज्ञापन

जे होस्, नमस्कार म तपाईंहरुकै हटिनटि अनुपम श्रेष्ठ। म आफूलाई उनी भन्ने सर्वनामबाट चिनाउन रुचाउँछु । यहाँहरुमध्ये कोही पुरुष हुनुहुन्छ होला, कोही महिला हुनुहुन्छ होला, तर यस सुन्दर प्रकृतिले मलाई दुवै रुप दिएर जन्माउनु भयो। म शारीरिक स्वरुपका हिसाबले पुरुष छु, अनि अन्तरमन र स्वभावका हिसाबले महिला छु । वैज्ञानिक रुपमा म जस्ता लैंगिक अल्पसंख्यकहरुलाई ट्रान्सजेन्डर भनेर भनिन्छ भने मलाई ट्रान्स वुमन भनेर भनिन्छ। म जस्ता महिलाहरुलाई सिमेल र लेडिबोय भनेर पनि भनिन्छ। अनि यहाँहरुलाई थाहै छ, समाजमा हामीलाई छक्का, हिजडा, बिचको जस्ता आदि ईत्यादि नामबाट पनि परिभाषित गरिन्छ।

भन्नेहरुले हामीलाई पूर्वजन्मको पापले जन्मेका र अभागी भएको भनेर भन्ने गरेको पनि सुनिन्छ । यी कुराहरु सम्झिँदा पहिला पहिला मलाई निकै दुःख लाग्थ्यो । तर अहिले लाग्छ, यो हाम्रो दुर्भाग्य हैन, लिंग भनेको दुईवटा मात्र हुन्छ भनेर सोच्ने मानिसहरुको चेतनाको दुर्भाग्य हो। प्रकृतिले हामीलाई यस सम्पूर्ण ब्रम्हाण्डको एक अनिवार्य हिस्साका रुपमा जन्म दिनुकी छन्। प्रकृति धेरै सृजनशील छन् र उनका सृजनाहरु कि सेतो र कि कालो भनेको जस्तो बोरिंग हुँदैन। उनका सृजनाहरु सामान्य परिभाषा र वर्गिकरण भन्दा निकै उच्च र बृहत छन्। उनका हरेक सृजनाहरु आफैमा पृथक छन्, चाहे त्यो हेर्दा महिला, पुरुष वा पृथक लिंगी नै किन नहोस् । कमी छ त केवल हाम्रै चेतनामा छ, प्रकृतिको त्यो कलालाई हामी या त बुझ्दैनौँ, या त बुझेर पनि स्वीकार्न चाहँदैनौँ।

मानिसले संसारमा आफ्नो अस्तित्व कायम गर्नको लागि विभिन्न किसिमका चुनौतीहरु भोगिरहेका हुन्छन्। मानिसहरुले भोग्ने विभिन्न चुनौतीहरुमध्ये लैंगिक हिंसा पनि एक प्रमुख चुनौती हो । आम महिला तथा पुरुषहरुले भोग्ने शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक तथा यौनिक हिंसाहरुको तुलनामा लैंगिक अल्पसंख्यकहरुले भोग्ने हिंसाहरु कयौं गुणा बढी छ। किनभने उनीहरु महिलाबाट पनि पीडित छन्, पुरुषबाट पनि पीडित छन् र सिंगो समाज र राष्ट्रबाट नै पीडित छन्। त्यसमा सम्बन्धित निकायहरु तथा सरोकारवालाहरुको ध्यान जानु निकै आवश्यकता छ।

आफ्नो लैंगिकताका कारण हामी सबैभन्दा पहिला त आफ्नै परिवारबाट अपहेलित तथा तिरस्कृत हुने गर्दछौँ। कतिपय साथीहरुलाई त घरबाट निकालिएका पनि छन् । अनि, जाने कहाँ? दोस्रो समाजबाट पनि हामीलाई दुर्व्यवहार र अपहेलना गरिन्छ। अनि साथ खोज्ने कहाँ? हामीलाई व्यवसायिक रुपमा कुनै पनि संघ संस्थाहरुले उचित रोजगारीको अवसर दिइएको हुँदैन। अनि, जीवन निवार्हका लागि यौन व्यवसाय नगरे गर्ने के ? राज्यको पनि बिकासको मूलधारबाट हामीलाई बाहिर राखिएको छ । अनि, हाम्रो मानव अधिकार माग्न जाने कहाँ? हरेक दिन हामीले कुनै न कुनै प्रकारको अपहेलना भोग्नु परिरहेको हुन्छ, जसको लागि हामीले भन्न जाने ठाउं पनि छैन, ब्यक्ति पनि छैन। यसै सन्दर्भमा एउटा दुःखद अनुभब म यहाँहरुलाई सुनाउने अनुमति माग्दछु ।

म क्लब तथा प्रत्यक्ष संगीत कार्यक्रमहरुमा जान रुचाउँछु। तर यस अर्थमा मलाई नकारात्मक रुपमा नलिईदिनु होला। आम जनसमुदायमा क्लब जाने मानिसहरुप्रति नकारात्मक धारणा हुन सक्छ । तर क्लब भनेको जाँड रक्सी खाएर मातिने ठाउँ मात्र पक्कै होइन। त्यहाँ संगीतको मज्जा लिन सकिन्छ। मनै लोभ्याउने मीठा परिकारहरु पनि खान सकिन्छ । साथै आफ्ना साथीहरुसँग भेटघाट पनि गर्न सकिन्छ। सबैभन्दा ठूलो कुरा त क्लबमा हरेक व्यक्तिले स्वतन्त्रताको अनुभव गर्न सक्दछ ।

सामान्यतया त्यहाँ कसैले कसैलाई जातियता वा लिंगताको रुपमा भेदभाब गरिँदैन। व्यक्तिगत रुपमा म क्लबमा आफूले आफूलाई खुलेर म को हुँ भन्ने अनुभव गर्न सक्दछु। विशेषगरी क्लबका साथीहरु जब मलाई अनुपम बहिनी, अनुपम दिदी भनेर भन्छन्, मलाई म हुनुको साँचो अनुभव त्यहाँ हुन्छ। यति हुँदा हुँदै पनि क्लबमा सँधै रमाईलो मात्र हुँदैन, कहिले काहिँ त्यहाँ हिंशा र दुर्व्यवहार पनि हुन सक्छ, जुन तश्रोलिंगीहरुलाई अझ धेरै जोखिम हुन्छ। यसै सन्दर्भमा क्लबको मैले भोगेको एउटा नरमाईलो घटना यहाँहरुलाई सुनाउन चाहन्छु।

अस्ति भर्खरको कुरा हो, म एउटा क्लबको पार्टिमा थिएँ । मसँग मेरा साथीहरु पनि हुनुहुन्थ्यो । म लाईभ म्युजिकको साथमा नाच्दै गाउँदै साथीहरुसँग रमाउँदै थिएँ। त्यसैबेला हामीबिच सट् पिउने होडबाजी चल्यो । म पनि साथीहरुसँग उत्साहित हुँदै सट् पिउने भिडमा जोडिन पुगेँ ।

मैले यसो निहुरेर मेरो पेय पदार्थ (सट्) खान मात्र के थालेकी थिएँ, अकस्मात पछाडिबाट कसैले मेरो स्कर्ट पर्लक्क पल्टाइ दियो र मेरो संवेदनशील अंग, बम्पमा प्याट्ट पिट्यो । त्यो अप्रत्यासित अनुभव आफैमा निकै पीडादायी थियो। यसो फर्केर हेरेको, मुखमा जुंगाको रेखी बल्लबल्ल देखिन थालिएको एकजना भर्खरको किशोर थियो। यसरी मानिसहरुले दुर्व्यवहार गर्दा, आम समाजले हामीलाई एक यौनजन्य मनोरञ्जनात्मक वस्तुको रुपमा हेरियो भन्ने जस्तो लाग्दछ र चित्त दुख्छ। मेरा लागि त्यो घटना पहिलो भने पक्कै पनि थिएन । त्यस्ता किसिमका दुर्व्यवहारहरु बाल्यकालदेखि अहिलेसम्म मैले धेरै पटक भोगेको छु, शायद त्यसैले पनि होला मलाई त्यस्तो अवस्थामा आप्mनो बचाउ कसरी गर्नु पर्दछ भन्ने केही ज्ञान पनि भइसकेको थियो । त्यसैले, जब त्यो किशोरले मलाई दुर्व्यवहार गर्यो, तुरन्तै मैले फरक्क फर्केर त्यसलाई समातेर दुई चार झाप्पु हानेँ। त्यत्तिकैमा त्यहाँ सुरक्षाकर्मीहरु आउनुभयो र त्यो झै–झगडाको माहोललाई सम्हाल्नु भयो।

मैले त्यो किशोरका बिरुद्धमा नजिकैको पुलिस स्टेसनमा उजुरी पनि गर्ने निर्णय गरेँ किनभने नेपालको कानून अनुसार स्वतन्त्र रुपमा घुमफिर गर्न पाउनु मेरो मानव अधिकार हो । त्यसरी महिला, पुरुष, वा पृथक लिंगीहरु माथि मन्जुरी बिना संवेदनशील अंगहरुमा छुनु नेपालको कानून अनुसार अपराधिक कुरा हो । तर मेरो सोच विपरित, पुलिस प्रशासनसँगको मेरो त्यो बेलाको अनुभव तितो रह्यो। अपसोच, उक्त समयमा ड्युटिमा रहनुभएका प्रहरीबाट मैले पुनः दुर्व्यवहारित भएको अनुभव गरेँ।

कुरा के भयो भने, मैले पुलिसलाई लिखित उजुरी दिएपछि रात्रीकालीन ड्युटिमा रहनु भएका सम्बन्धित प्रहरी ज्यूले म पीडित र मेरा पीडक दुवैलाई नियन्त्रणमा लिनुभयो । हामी दुवैजनालाई नजिकैको अस्पतालमा लगेर हाम्रो रगतमा अल्कोहोलको मात्रा जाँच गराउनुभयो। त्यसपछि पीडकलाई थुनामा राख्नुभयो भने मलाई पनि प्रहरी चौकीमा नै राख्नुभयो । उहाँहरुले मेरो धेरै अनुरोधका बाबजुद पनि मलाई घर फर्कन दिनुभएन।

अन्ततः बिहान साढे ६ बजे मैले हार खाएर बाध्यता बस ल भईहाल्यो म मिलेमतो गर्दछु यसलाई पनि छोडिदिनुस् र म पनि घर जान्छु भनेपछि उहाँहरुले मिलापत्र गराई पीडक र मलाई एकैचोटि घर पठाइदिनु भयो। प्रहरी प्रशासनको त्यस्तो व्यवहारले एक ट्रान्स जेन्डर महिलामाथि भएको यौन दुर्व्यवहारलाई उहाँहरुले ग्याङ फाईटको रुपमा परिभाषित गर्नु भएको जस्तो मलाई अनुभव भयो। उहाँहरुले मेरो केशमा गरेको रेस्पोन्स अनुसार पीडितलाई नै दोषी बनाईएको जस्तो अनुभव भयो । मैले सुनेकी थिएँ, पहिला पहिला अमेरिकामा महिलाहरुको बलात्कार भयो भने पुलिसहरुले ती महिलाले कत्रो लुगा लगाएकी थिइन्, उनले मादक पदार्थ सेवन गरेकी थिइन् वा थिईनन् भनेर जाँचिन्थ्यो रे । त्यस्तो व्यवहारगर्दा पीडितले पुनः पीडा भोग्नु पर्ने भएकोले हाल आएर त्यस्तो सोचलाई लज्जास्पद सोचको रुपमा लिईन्छ ।

तर दुर्भाग्य, नेपालमा अझै पनि पीडितहरुले प्रहरी समक्ष उजुरी दिन जाँदा पुनः पीडा भोग्नुपर्ने बाध्यता छ जसले गर्दा सुरक्षाकर्मीसँग सहयोग माग्न मानिसहरु निरुत्साहित हुन्छन् । म यसै लेखबाट प्रहरी प्रशासन समक्ष यो विनम्र निवेदन गर्दछु कि कृपया पीडक र पीडितलाई एउटै व्यवहार नगरिदिनुस्। जो पीडित छ उसैलाई दोष लगाउने र थप पीडा दिने परिपाटिलाई सुधार गरी सम्पूर्ण प्रहरी प्रशासन पीडित मैत्री बनिदिनुस्।

त्यो यौनदुर्व्यवहारको घटना पछि मैले सोचेँ, नेपालमा महिलामाथि हिंसा भयो भने , सम्पूर्ण महिलापुरुषहरु एकजुट हुन्छन्। महिलाको सहयोगका लागि सरकारी तथा गैर सरकारी विभिन्न संघसंस्थाहरु पनि छन्। पुरुषहरुले भोगेका समस्याहरुको लागि पनि सम्पूर्ण महिलापुरुषहरु एकजुट हुन्छन् । तर म जस्ता लैंगिक अल्पसंख्यकहरुको खै को छ त?

जेष्ठ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्