ह्याप्पी बर्थडे प्यारी हटीनटी अनुपम

प्यारी अनुपम, आज तिम्रो जन्मदिन। तिमीलाई लाख लाख शुभकामना। आजको तिम्रो जन्मदिनमा हामी निकै उत्साहित छौँ। सरस्वती भाउजू र म, अस्ति देखि नै कुन ड्रेस लगाउने? कस्तो झुम्का लगाउने ? कस्तो जुत्ता लगाउने? कपाल कस्तो बनाउने? भनेर छलफल गरिरहेका छौँ। अझ एक दिन त हामी पूरा ड्रेसहरु लगाएर हेरेर आफूलाई कस्तो देखिएको छ भनेर रिहर्सल पनि गर्दै थियौँ। हो नि केटी मान्छेहरु त्यस्तै हुन्छन्। केटीहरुलाई खाको लाको पनि सुहाउँछ। बजारमा हाम्रा लागि अनगिन्ती लुगा, जुत्ता, लिपिस्टिक, पालिस आदिईत्यादि पनि पाइन्छ। चाहे हाम्रो शारीरिक बनावट केटीको जस्तो होस् वा केटाको जस्तो होस्, हामीलाई छोरी हुनुमा गौरव छ।

छोरी मान्छेले सुन्दरतालाई भित्री तहबाट अनुभव र प्रशंसा गर्न सक्छ। फेरि छोरी मान्छे संवेदनशील पनि हुन्छ नि है। त्यसैले त खुलेर हाँस्न पनि सक्छ, रुन पनि सक्छ। हाम्रो हृदय यति कोमल छ कि न रुनलाई ठूलो आपत आउनुपर्दछ, न त हाँस्नलाई ठूलो निउँ चाहिन्छ। आफ्नो वैँशमा हामी मान्छेको चप्पल मात्र देखेर पनि कति हाँस्यौँ है? अहिले सम्झिँदा हाँसो लाग्छ। साँच्चै तिम्रो जन्मदिनले हामी माझ खुशी, उमंग, र उत्सव ल्याइदिएको छ। किनभने तिमी विशेष छौ। तिमी हाम्रा लागि मात्र हैन, नेपाली सिनेमा जगत, सिंगो राष्ट्र र सम्पूर्ण पृथक लिंगीहरुका लागि विशेष छौँ।

जसरी आज तिम्रो जन्मदिनमा हामी निकै खुशी भएका छौँ, त्यसरी नै तिमी भर्खर जन्मेको बेला तिम्रा आमाबाबा, दाजुहरु, परिवार र आफन्त पनि निकै खुशी हुनुभएको थियो होला। किनकी तिमी छोरा भएर जन्मेका थियौ। नेपाली समाजमा छोरा जन्मे खसी, छोरी जन्मे फर्सी भन्ने लैंगिक विभेदपूर्ण उखान आज पनि प्रचलित नै छ। बाहिरबाट मानिसहरुले छोराछोरी केहि फरक छैन बराबर भनेर गफ लगाएपनि भित्रि व्यवहारमा जब छोरीलाई छोरा सरह अधिकार दिने कुराहरु आउँछन्, धेरै मानिसहरु अझै पनि संकुचित नै छन्। अझ पृथकलिंगीका हकमा त उहाँहरुलाई घर, परिवार, समाज र राष्ट्रले उचित अधिकार तथा न्याय दिन सकेको अवस्था छैन।

जे होस्, तिमी जन्मिएको बेला आमाबाबालाई दुई छोरा पछि जन्मिएकी तिमी छोरी भईदिएको भए हुने भन्ने जस्तो थोरै चाहाना चाहिँ पक्कै नै थियो होला । तर उहाँहरुलाई के थाहा, तिमीलाई भगवानले दुई रुप दिएर पठाएका थिए भनेर। तिमी छोराको शरीरमा छोरी भएर जन्मिएकी थियौ। यो आपैmमा एउटा सुन्दर प्राकृतिक सृजना थियो। तर जब तिमी हुनुको यथार्थ बिस्तारै खुल्दै गयो, शायद तिमीलाई र तिम्रो परिवारलाई यो बुझ्न र बुझाउन निकै कठिन भयो होला।

जब मैले थाहा पाएँ, तिमीले आफ्नो शारीरिक बनावटलाई स्वीकार्ने कोशिस गर्दै पौरुषताको हर्मोन थेरापी लिन थाल्यौ, तिमी भित्रको छोरीलाई कति पीडा भयो होला? कहिले काहिँ म तिम्रो अन्तर्वार्ताहरु हेर्छु । ती अन्तर्वार्ताहरु तिम्रो लिंगको वरिपरी घुमिरहेको देख्छु, त्यो बेला मलाई निकै पिडा हुन्छ। तिम्रै सहपाठीहरु तिमीलाई लिंग परिवर्तन गरेको छैन भने म भाइ नै भन्छु भनेर भन्दै गरेको पनि सुन्छु । म सोच्छु, अनुपमलाई के भनेर बोलाउने भन्ने अधिकार अनुपमको मात्रै छ । यसमा अरुले हस्तक्षेप गर्नु हुँदैन। कोही सहपाठीहरु तिमीसँग जोडिन नचाहेर अन्तर्वार्ताकै बिचमा भागेर गएको पनि देख्छु । यस्तो देख्दा उहाँहरुले अझै धेरै सिक्नु छ जस्तो लाग्दछ।

अनि पृथकलिंगीहरुलाई चलचित्र लेखकहरुले पनि हाँसोको पात्रको रुपमा लेखिदिएको देख्छु । कहिले काहिँ म आफैँलाई प्रश्न सोध्छु, राजेश हमाल सकुन्तला बनिन् । फुलन्देकी आमा पुरुष हुन् । अनि पृथकलिंगीहरुलाई चाहिँ किन पृथक लिंगीकै भूमिका मात्र दिईन्छ त ? कलामा ऊ महिला पनि हुन सक्छ, पुरुष पनि हुन सक्छ, पृथक लिंगी पनि हुन सक्छ किनकी एउटा कलाकार कुनै लिंगमा सीमित हुँदैन। कलाको यस यथार्थलाई लेखक र निर्देशकहरुले बुझ्नु पर्दछ। उहाँहरुले आफ्ना पात्रहरुलाई लैंगिक रुपमा विभेद गर्नु हुँदैन। पक्कै पनि मैले पर्दामा तिमीलाई देख्दा भन्दा धेरै तिमीले यथार्थमा भोगेका छौ होला। तर जस्तै अप्ठेरोपनको बिचमा पनि तिमीलाई सधैँ संयमित नै देखेकी छु । तिमीबाट मैले सँधै केही न केही सिकिरहेकी छु । आज तिम्रो जन्मदिनमा तिमीलाई दिन म सँगै धेरै ठूलो उपहार छैन । तैपनि तिमीलाई केहि कुराहरु भन्न चाहन्छु ।

पहिलो कुरा, तिमी धेरै पृथकलिंगीहरुका लागि तिमी जीवन दाता हौ। सामान्य मानिसहरुमा भन्दा पृथकलिंगीहरुमा आत्महत्याको जोखिम बढी हुन्छ, किनभने उहाँहरुलाई परिवार तथा समाजले तिरस्कृत गरिदिएको हुन्छ। तर जब तिमी जस्तै साहसी मानिसहरु अध्याँरो चिर्दै सुर्य झैँ उदाउँछन्, तब अन्धकारमा बसेको पृथकलिंगी साथीहरुले पनि त्यो न्यानो आभाको अनुभव गर्दछन् । जसरी तिमी आफू हुनुमा मस्त छौ, त्यो मस्तीको उमंग सबैका लागि पे्ररणादायी छ। तिम्रो उदय सँगै, सम्पूर्ण पृथकलिंगीहरुले जीवनप्रति सकारात्मक आशा देखिरहेको हुन्छ। यो कुरालाई तिमी कहिले पनि नबिर्सिनु।

दोस्रो तिमीलाई हामीलाई पे्रम गर्दछौं । तिमी जो हो, जे हो त्यसलाई खुशी साथ स्वीकार्दछौँ। तिमी जस्तो साहसी मान्छेको साथी हुनुमा मलाई निकै गौरव लाग्दछ। तिम्रो सरस्वती भाउजूको साथीको नाताले मैले तिम्रो पारिवारिक जीवनलाई पनि नजिकबाट नियाल्ने मौका पाएँ । जसरी तिम्रो परिवारले तिमीलाई प्रेम र साथ दिएको छ, त्यो आफैमा उदाहरणीय छ। सबै पृथकलिंगीहरुले आप्mनो परिवारजन तथा मित्रहरुबाट त्यस्तै प्रेम पाओस् भनी म कामना गर्दछु।

तेस्रो, तिमी मेरा गुरुपनि हौ । मैले पृथकलिंगीहरुका बारेमा सुनेको मात्र थिएँ। कहिले कहिं बाहिर देखेको पनि थिएँ । किताबमा पृथक लिंगीहरुका बारेमा कोर्सबुक पनि पढेको थिएँ । तर मैले व्यवहार गर्न पाएकी थिईन् । तिमीलाई भेटे यता धेरै कुरा सिकेकी छु । तिमीसँग सजिएर क्लबजाँदा, सुन्दरताको नयाँ परिभाषा सिकेकी छु । साँच्चै तिमी निकै सुन्दर छ्यौ। तिमी सँग बसेर लैंगिक विभेदका बारेमा छलफल गर्दा, तिम्रा बिचारहरुबाट म निकै प्रभावित भएकी पनि छु। तिमीले धेरै परिवर्तन ल्याउन सक्छ्यौ । तिमीले आफैले डिजाइन गरेका ड्रेसहरु देख्दा, तिम्रा सृजनाबाट प्रेरित पनि भएकी छु। तिमी एक सफल फेसन डिजाइनर तथा उद्यमी हुन सक्छ्यौ। तिमीसँग ज्ञानको अथाह खानी छ। तिमीलाई मेरो नमन।

अन्तमा, शायद हामी सबैले पृथकलिंगीहरुका बारेमा धेरै सिक्नु छ र उहाँहरुले हामीले पूर्ण हृदयले स्वीकार्नुछ। कृपया मेरी प्यारी साथी हटिनटी अनुपमलाई जन्मदिनको शुभकामना दिन हजुरहरुले पनि नछुटाउनुस् है।

जेठ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्