बुटवल– तराईमा गर्मी अचाक्ली ढंगले बढेको छ। गर्मीका कारण तातो हावा चलेको छ भने घरबाहिर निस्कने सक्ने अवस्था छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार रुपन्देही क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियसको नजिक पुगेको छ।

गर्मीका कारण मानिस मात्रै हैन, पशुपंक्षी पनि छटपटिन थालेका छन्। मानिसहरुले गर्मीबाट जोगिन अनेक उपाय अपनाउन थालेका छन्। गर्मीका कारण चिसो पेयपदार्थको बिक्री बढेको छ।

गर्मीसँगै अस्पतालहरुमा बिरामीको संख्या पनि बढेको छ। प्रादेशिक अस्पताल बुटवलका अनुसार दैनिक ६ सयदेखि ७ सयसम्म बिरामी उपचार गराउन अस्पताल आउँछन्। तीमध्ये धेरैजसो गर्मीजन्य रोगबाट प्रभावित छन्।

झाडापखाला, छाला, निमोनिया, रुघाखोकी लगायतका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालले बताए।

बुटवलका अरु अस्पताल र जिल्लाका अस्पतालहरुमा पनि बिरामीको संख्या बढेका अस्पतालहरुले जनाएका छन्।

प्रदेश ५ मा रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लामा खानेपानीका मुहान सुकिरहेका छन्। यी जिल्लाका वनमा डढेलो लागिरहेका कारण तापक्रम अरु बढिरहेको छ। मुख्य शहरहरुमा पनि खानेपानीको अभाव बढ्दो छ।