बुटवल क्षेत्रमा सेतो र रातो रगतको अभाव

फाइल तस्बिर

बुटवल– बिरामी हुँदा तपाईको लागि कुन रगत चाहिन्छ सचेत बन्ने प्रयास गर्नुहोला। रगतको अभाव नहुने बुटवलमा अहिले सेतो र रातो रगतको अभाव छ। बुटवलमा तीन हप्ता यतादेखि रातो र सेतो रगतको अभाव देखिएकाे हाे।

रगतको अभावले अकालमै मृत्यु हुनसक्ने भएकाले बिरामी, बिरामीका आफन्त, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु सचेत हुन नसके अप्रिय घटना नघट्ला भन्नसक्ने अवस्था छैन।

बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा रहेको रातो र सेतो रगत छुट्टाउने मेसिन बिग्रिएको छ। प्लेटलेस र फ्रेस प्लाजमा छुट्टाउने मेसिन बिग्रिएपछि समस्या आएको हो।

प्रदेश पाँचको अस्थायी राजधानीको आँगनमै रहेको रक्तसञ्चार सेवा केन्द्रमा रहेको उक्त मेसिन बिग्रिएपछि पैसाको अभावले नयाँ मेशिन खरिद गर्न सकिएको छैन।

यो मेसिन बिग्रिएसँगै बुटवल क्षेत्रमा हुने सेतो, रातो रगतको बिरामीको उपचार हुन नसक्ने अवस्था आएको छ। रक्तसञ्चार केन्द्रका लागि अति आवश्यक मानिने चालु अवस्थामा रहेको मेसिन गत जेठ १० गते बिग्रिएको हो। यो मेसिन बिग्रिएपछि बुटवलमा रातो र सेतो रगतको अभाव छ।

चितवन पश्चिम बुटवलमा मात्र रहेको मेसिन बिग्रिएपछि आजभोलि रातो र सेतो रगत ल्याउनका लागि चितवन जानुपर्ने बाध्यता छ।

रातो, सेतो रगत बुटवलमा नभएपछि सर्वसाधारण तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले ठूलो समस्या भोग्नु परेको छ।
फालमेमिया भएका बिरामीहरुका लागि सेतो र दुर्घटना, रगतको कमी भएकाहरुका लागि रातो रगत चाहिने रक्तसञ्चार सेवा केन्द्र बुटवलका इन्चार्ज जोगबहादुर गुरुङले जानकारी गराए।

मेसिन बिग्रिएपछि बनाउन पठाए पनि अझै नबनेकाले समस्या भएको रक्तसञ्चार सेवा केन्द्र बुटवलका अध्यक्ष प्रेमलाल उदासले बताए।

डाक्टरहरुले आकस्मिक रुपमा रगतको माग गर्ने भएकाले सेतो र रातो रगतको अभावले सर्वसाधारण बिरामीको अकालमै मृत्यु हुनसक्ने अवस्था रहेको छ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलका अनुसार मासिक ३ सय पोका सेतो, रातो रगत खपत हुँदै आएको छ। २०६९ सालमा विश्व स्वास्थ्य संगठनले दिएको उक्त मेसिनको सेटलाई ४० देखि ४५ लाख मूल्य पर्नसक्ने सरोकारवालाले बताएका छन्।

बिग्रिएको उक्त मेसिन बनाउनका लागि काठमाडौंस्थित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा पठाइएको छ। मेसिन बन्ने नबन्ने विषयमा इन्जिनियरहरुले कुनै जानकारी नगराएको र कहिलेसम्म बन्छ भन्ने पनि जानकारी नभएको रक्तसञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ।

नयाँ मेसिन खरिदका लागि प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयमा बजेटको माग गरिएको रक्तसञ्चार सेवा केन्द्र बुटवलका अध्यक्ष प्रेमलाल उदासले जानकारी दिए।

जेठ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्