गल्फ अफ ओमानमा तेल ट्यांकरमाथि आक्रमण

तेलका समुद्री ट्यांकरमाथिको आक्रमणले विवाद चुलिँदो, थप तनावमा अमेरिका–इरान सम्बन्ध

ओमानको गल्फमा तेलका दुई ट्यांकरमा भएको बिस्फोटमा इरानको संलग्नता रहेको अमेरिकाले दाबी गरेको छ । इरानले त्यसको प्रतिबाद गरेको छ र घटनामा आफ्नो संलग्नता नरहेको पुनः स्पष्ट पारेको छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा इरानकै संलग्नता रहेको र उसको असंलग्न रहेको भन्ने दाबी झुट भएको बताएका छन् ।

अमेरिकी पत्रिका वासिङ्गटन पोस्टले एक भिडियोमा इरानीको सेनाले सानो डुंगामा आएर बिस्फोट नभएका माइन एक ट्यांकरबाट निकालिरहेको देखिएको उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्पले त्यहि कुरालाई उद्धृत गर्दै घटनामा इरानकै संलग्नता रहेको बताएका हुन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले घटनाको सत्य तथ्य स्पष्ट रुपमा स्थापित हुनु पर्ने बताएका छन् ।

रुसले अमेरिकी निष्कर्ष हतारमा निकालिएको हुन सक्ने बताएको छ ।

बिहीबार गल्फ अफ ओमानमा देलका दुई ट्यांकरमा बम बिस्फोट भएको थियो । जापान र नर्वेको स्वामित्वमा रहेका दुई ट्यांकरमा आक्रमण भएको हो । तेलका दुई ठूला समुद्री ट्यांकरमा स्थानीय समय अनुसार बिहीबार बिहान बिस्फोट भएको हो । जापानको स्वामित्वको रहेको कोकुका करेजिएस र नर्वेजिन कम्पनीको फ्रन्ट अल्टाएयरमा बिस्फोट भएको हो ।

घटना लगत्तै ट्यांकरमा रहेको क्र्यू मेम्बरलाई उद्धार गरिएको थियो । इरान र अमेरिकाले दुवै उद्धार आफूहरुले गरेको दाबी गरेका छन् । कोकुकामा रहेका २१ र फ्रन्टमा रहेका २३ क्र्यू मेम्बरलाई उद्धार गरिएको हो । विश्वको सबैभन्दा ठूलो तेल मार्गमा महिना दिन भित्र भएको यो दोस्रो आक्रमण हो ।

यसअघि संयुक्त अरब इमिरेट्सका चार ट्यांकरमाथि आक्रमण भएको थियो । अमेरिकाले त्यो बेला पनि इरानमाथि आरोप लगाएको थियो र इरानले अस्वीकार गरेको थियो ।

घटनाले इरान र अमेरिकाबिचको तनावपूर्ण सम्बन्धमा थप समस्या निम्त्याउने देखिएको छ ।

जेठ ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्