कक्षा ४ को पहिलो दिन थियो त्यो, विद्यालय युनिफर्ममा चिटिक्क सजिएको एउटा फुच्चे मन भारी गराउँदै थियो। मनमा अनेक कुरा खेल्दै थिए, ‘अघिल्लो वर्षमात्रै किनेको सर्ट पाइन्ट अब लगाउन पाइँदैन, बल्ल बल्ल मिल्ने साथी बनेका थिए, अब उनीहरुसँग एउटै कक्षामा बसेर खेल्न पाईँदैन, कुरा गर्न पाईँदैन।’
किनकी त्यो वर्ष अनपेक्षित रुपमा उनी सिद्धिबिनायक बोर्डिङ स्कूलबाट नयाँ विद्यालय जानुपरेको थियो। नयाँ परिवेशले उनलाई तर्साएको थियो जिरिङ्ग हुने गरी। के गर्ने होला, कसो गर्ने होला? भन्दा भन्दै स्कूलको गाडी आयो। चढेर गए। बाटोमा जाँदै गर्दा नयाँ स्कूल कस्तो होला? भन्ने कौतुहलता थियो साथै नयाँ उमंग पनि।
घुरुरु गुडेर स्कूलको गेट भित्र गाडी छिर्यो।
अर्जुन भण्डारी त्यो गेटभित्र छिर्नासाथ अघि गरिएका सबै कल्पना गलत साबित भए। भारी भएको मन एकाएक हलुका भएर आयो, चंगा जस्तै। नयाँ स्कूल नेपाल आदर्शमा त ठूला ठूला स्वीमिङ्ग पुल रहेछन्। कहिँ कम्मरसम्म आउने कहि घाँटीसम्म, कहिँ कहिँ त चुर्लुम्मै डुबाउने पानीका निला रंगीन पोखरी। कुनै कुनैमा चिप्लेटी खेल्दै सुलुलु बगेर पानीमा चोपलिन पाइने, अग्लो ठाउँबाट डाइभ हान्न पाइने। आहा ! भण्डारीको मन त्यसै त्यसै फुरुङ्ग भए।
नयाँ स्कूल जानुभन्दा अघि घर नजिकैको बगादी खोलामा धेरैपल्ट चोपलिएको अनुभव ताजै छ, अब त स्कूलमा नै पौडी खेलाउने भए। बच्चाहरुको मन न हो, पानी देखेपछि चलाउन मन लागिहाल्ने। भण्डारी सम्झन्छन्, ‘घरबाट ढाँटी ढाँटी जान्थे। बाढी आउने बेलामा पनि बहदी खोलाको धमिलो पानीलाई छोडिएन। शनिबार घरमा नभनी जाँदा कम्ता चुटाइ खाइएन।’ नेपाल आदर्शमा शुक्रबारसधैँ पौडी खेलाउँथे।

वैशाखको महिना, वृक्षहरुमा नयाँ नयाँ पालुवा आउँछ, प्रकिृतिले आफ्नो सुन्दरताको सिर्जना गर्छ । हर बुट्यानमा आशाका मुना पलाएका हुन्छन्। वैशाख सुन्दर समयको सुरुवात मानेर होला शायद नयाँ कामको थालनी वैशाखमै हुन्छ। अर्जुन वैशाखमै नयाँ स्कूलमा भर्ना भएका थिए, अनि उनको दिमागमा नयाँ नयाँ आइडियाहरु आइरहेका थिए।
स्कूलबाट घर फर्केपछि अर्जुनले आमा कौशल्या भण्डारीलाई भन्न भ्याइहाले, ‘म ठूलो भएपछि स्वीमिङ्ग पुल भएको घर बनाउँछु।’ आमालाई लाग्यो बच्चाले के भन्या ?
तैपनि छोरो सानैबाट काममा जिम्मेवार थियो, केही देख्यो, सोच्यो न त भन्यो होला भन्ने आमालाई । समय बित्दै गयो हेर्दा हेर्दै ९ वर्षको फुच्चेले १२ वर्षपछि आफूले भनेको पुर्याएरै छोड्यो।
पोखरा जाँदै गर्दा तालचोकको बाटो कट्दै गर्दा देब्रे पट्टि गेटमा ठूलो अक्षरमा लेखेरै छाडे, ‘सेभेन वन्डर्स वाटर पार्क एण्ड रिसोर्ट’
प्रोपाइटर – अर्जुन भण्डारी
ठेगाना– पोखरा महानगरपालिका–२९
लगानी – ९ करोड,
क्षेत्रझल – ८ रोपनी
सञ्चालन मिती–२०७३ मंसीर १७ गते
अर्जुनका अनुसार त्यो बेलमा लेखनाथमा वाटर स्लाइडका लागि पहिलो प्रोजेक्ट थियो। पोखरमा दुई वटा .मात्र स्वीमिङ्ग पुल थियो। फिल्टर सिस्टम अरुमा थिएनन्। उनले रिसर्च गरेर धेरै केमिकल प्रयोग नगर्ने वाटर स्लाइड भएको पानी राख्ने व्यवस्था सहितको पुल बनाए। एक वर्ष बनाउनै लाग्यो ।
सहज थिएन बनाउन
सपना र पानी उस्तै हुन्छन्, आकार बिहीन। जसरी पानीले भाँडो अनुसार आकार लिन्छ, सपनालाई पनि आकार दिनुपर्छ । सपना जति सुन्दर देखिन्छन्, पूरा गर्न असाध्यै गाह्रो हुन्छ।
अर्जुन भण्डारीलाई यो प्रोजेक्ट सुरु गर्न फलामको चिउसा चपाएजस्तै भयो। २०७२ सालमा यो प्रोजेक्टको ब्लु प्रिन्टसहित बैंकमा लोनका लागि अप्लाई गर्न गए, त्यो बेला उनलाई उमेरको हदबन्दिले समस्या पार्यो। १८ वर्षको फुच्चेले यो कसरी गर्न सक्छ, पैसा दिउँला तिर्न सकेन भने ?
अर्जुनका बाबा शिवराम भण्डारी उनका भगवान हुन्, छोराको आवश्यकतालाई आँखा झिमिक्क गर्दा पूरा गर्ने । शिवरामले आफ्नो घर बारी भएको ९ रोपनी जग्गा–जमिन धितो राखेर छोराको सपना पूरा गर्न आफूले रचेका संरचना भत्काए।
‘हाम्रो राइस मिल थियो। टिनको छानो भएको घर । बाबाले सानो विजनेश गर्नु भएको थियो, ब्रोसरीको । बिस्तारै पानी चुहिने टिनको छानो ढलानमा परिवर्तन भएको थियो।’
तिहारमा देउसे भैलेले दिएको आशिर्वाद जस्तै परिवर्तन भएको अवस्था सुनाउँदै अर्जुन भन्न थाले, ‘त्यो कुराले मलाई सधैँ झस्काउँछ, बाबाले कसरी त्यो टिनको छानोबाट ढलान गरेको घरसम्म ल्याइ पु¥याउनुभयो। र मैले एक बचन बोल्दा हुन्छ भनेर त्यसलाई परिवर्तन गर्न मान्नु भयो।’ उनले बाबाबाट सिकाएको थियो, कामगर्दै गएपछि एक न एक दिन सफल भइन्छ।
बाबाआमाको विश्वासले नै व्यवसायिक बैंकहरुले रिजेक्ट गरेको गर्यै गर्दा पनि सानो युवकले हजारको होइन करोडको प्रोजेक्टमा काम गर्ने अवसर मिल्यो । बाबा आमा नै उनको आशाका किरण हुन्, नैतिक समर्थक हुन्। त्यही हौसलाको रुप हो।
को हुन् अर्जुन ?
फेसबुकमा सन् २०१८ को अप्रिल ७ मा अपलोड भएको उनको तस्बिरको क्यापसन छ, ‘आइ एम अ डे–ड्रिमर, बिकज आइ एम अ प्यासनेट इन्टरप्रेनर, माइ लाइफ गोज विथ द फ्लो।’ हुन पनि उनी उद्यमीसँगको परिचानमा आउनुपूर्व धेरै विधामा जाने लक्षण देखा परेको थियो।
पोखरा महानगरपालिकाको तालचोकमा उनको घर छ। पहिला लेखनाथ नगरपालिका पर्थ्यो अहिलेका उदाउदा उद्यमी अर्जुन पढाई अनुसार पेशा रोजेका भए जीवशास्त्री बन्नु पर्थ्यो, समाजको लागि भए डाक्टर इन्जिनियर। एकपल्ट ट्राइ पनि गरेको हो।

प्ल टू विज्ञान विषय पढेपछि एमबिबि एसमा नाम निकाल्न परीक्षा दिँदा एक नम्बरले नाम निश्किएन। त्यसपछि स्नातकमा माइक्रोबायोलोजी पढे। उनले पृथ्वीनारायण क्याम्पसबाट स्नातकसम्म अध्ययन गरेका छन्। एसएलसीपछि विज्ञान विषय अध्ययन गर्न ब्रिज कोष गर्न गएका थिए। खाली समयको उपयोग गर्न पनि उनलाई आउँथ्यो। आमा बाबा सामाजिक काममा सरिक भइराखेको देखेर हुर्केका उनी सामाजिक काममा पनि सरिक हुन्थे।
मिडियामा चाख राख्ने भएकोले सञ्चारकर्मी हुन्छ होला भन्थे, सामाजिक काम गर्ने छाँट देखायो पनि भन्थे। आमाको सामाजिक कार्यकर्ताको छवि थियो।
अर्जुन जे जे मा आबद्ध हुन चाहन्थे त्यसको पूर्व तयारी गर्थे तर करीएरको लागि ९ वर्षको हुँदा देखेको सपना तर्फ पाइल जोडे।
उनकी दिदी अस्ट्रेलिया छिन्। अर्जुनलाई भने विदेश जाने मोहले कहिले पनि तानेन। एसएलसी दिँदासम्म समाजमा बुवा र आमाको प्रेस्टिज देखेर उत्प्रेरित भएका थिए। बुवाको बिडो त धान्नै पर्यो। उनले बाबाले टिनको चुहिने छानो हुँदादेखि गरेको संघर्षले उनलाई जिम्मेवारी महशुस गरायो। बाबा नै उनका रोल मोडल भए।
‘विदेश गएर पैसा कमाइन्छ, यता स्वदेश पनि फर्किएला तर यहाँ आएपछि आफूको हो भन्ने स्थापित गर्न फेरि संघर्ष गर्नुपर्छ। त्यही भएर यही काम गर्ने अनि यहि नाम पनि राख्ने।’ अर्जुनलाई जीवनमा मोनिटरी भ्याल्यु भन्दा पनि गुडविल नै सबैभन्दा ठूलो हो जस्तो लाग्छ।
त्यो त सेभेन वन्डर्सको काम सुरु गर्दा आलोकाँचो छ भनेर बाबा आमालाई धेरैले पैसा डुब्छ भनेका थिए। तर अहिले काम राम्रो हुँदै जाँदा सबैले उदाहरण दिन्छन्।
जीवनको अविश्मरणीय पाटो
बेला बखलमा अर्जुन फिक्सनका किताब पनि पढ्ने अनि कुनै कुनै फिलोसोपी पनि । चाल्स डार्विनको ‘स्ट्रगल फर एक्जिस्टेन्स’ भन्ने सिद्धान्त पढेका थिए, जीवनमा लागु पनि भयो। जीवन सधैँ एकै धारमा त हिन्दैन। कहीँ आफूसँग जोडिएका र नजोडिएकाहरुको उपस्थितिले आफ्नो जीवनमा नयाँ नयाँ अध्याय बनाउछन्। सायद जीवनको ग्राफ नै यसरी बन्छ ।
‘मलाई म यो संसारमा छु भन्नु नै ठूलो कुरा भयो, त्यो भन्दा अगाडिको कुरा मैले सोचिन।’ अर्जुन अतित सम्झन थाले, ‘जब संघर्ष गर्न सकिएन भने जीवनको पनि अर्थ रहँदैन।’
२०७२ सालको असार ३ गते उनको जीवनमा संघर्षका नयाँ अध्याय थपियो। चाउथेमा उनलाई मोटरसाइलले हान्यो उनको खुट्टामा समस्या आयो। उनी परिवारसहित पोखराबाट काठमाडौँको बिएण्डबि आए। उपचार सही तरिकाले भएन, सामान्य समस्या ठूलो भयो र खुट्का केही अंश काम नलाग्ने भए। समाचारमा उनी छाउन थाले। पत्रकार डिबि खड्काले पनि ‘लुटेरा अस्पताल’ भनेर समाचार लेख्दा कानूनी प्रक्रियामा जानुपर्यो, यो–त्यो के के।
यसमा पनि उनको दोष थिएन। तर पनि सहनै पर्यो। डेढ महिना बिएण्डबिको बसाईपछि अस्पताल फेरियो। उपचारको लागि ग्राण्डी गएर फेरि डेढ महिना बसे बाँकीको ३ महिना रेस्ट गरे। उपचार पछि उनी आफ्नै खुट्टामा उभिन ६ लाग्यो । ओहो त्यतिबेला त्यो ठूलो कुरा भयो। आमा कौशल्या दुईपल्ट छोरा आफ्नै पाउमा उभिएको देखेर खुशी भइन्। अर्जुनको अवस्थाले परिवारलाई पिरालेको थियो। घरको एउटा छोरालाई त्यस्तो भएपछि परिवार नआत्तिने कुरै भएन।
हुन त मानिसको विभिन्न शारीरिक अवस्था हुन्छ, कुनै जन्मजात हुन्छ कुनै पछि आइपर्छ। तर सबैले यसलाई नबुझेकाले सहानुभूतिको दृष्टिले हेर्छन्। मन पर्दैन अर्जुनलाई, उनले यसलाई पोजिटिभलि लिएका छन्। ‘म सामान्य छु।’
दुर्घटना पछि एक थोपा आँसु पनि आएन, त्यो च्याप्टर क्लोजभयो नयाँ सुरु भयो। ‘मलाई लाग्यो म बाँच्नु भनेको केही गर्न कै लागि हो।’ अर्जून भन्छन्, ‘अझै सास फेर्दै छु। त्यो नै ठूलो कुरा भयो, कति मान्छे मरेका छन्।’
दुर्घटनापछिका केही समय ट्रमामा बित्यो। त्यसपछि लठ्ठी टेकेर प्रोजेक्ट सुरु भयो । केही नगरी बस्नुभन्दा काम सुरु गर्यो भने ठीक हुन्छ जस्तो लाग्यो। ठीक हुँदै गयो पनि।
आँटेको काम सम्पन्न भएको छ। माया गर्ने श्रीमती पनि साथमा छिन्। कामको सबैतीर मूल्यांकन भईरहेको छ।
पढ्दा पढ्दै जसले काम गरेको छ उसको लागि ‘ग्लोबल स्टुडेन्ट अन्टरप्रेनरसीपको फस्ट रनरअप’ पुरस्कार।
लेकसीटि युथक्लबको प्रेसिडेन्ट,
वडा नं २७ को वडा क्लबको अध्यक्ष
रोटरी क्लबअफ लेखनाथको भाइस प्रेजिडेन्ट
२१ वर्षको उमेरमा यो सब, अब के त ?

‘सेभेन वन्डर्स मेरो ब्राण्ड नै हो। जुनसुकै बिजनेस गरे पनि त्यही ट्रेडमार्क छ। नेपालमा प्रोजेक्ट लोनको राम्रो व्यवस्था छ, तर हामी जस्तो युवालाई पत्याउने अवस्था अझै पनि छैन । फिजिबलिटि अनुसार सेभेन वन्डर्सलाई मैले सोचेको टारगेटमा पु¥याएपछि अरु दुई ड्रिम प्रोजेक्ट पनि पूरा गर्छु।’
त्यसपछि राजनीति,
‘३५ पछि लाग्छु होला, समाज परिवर्तनको लागि युवाको भूमिका हुन्छ, देश विकासको लागि नेताको भूमिका हुन्छ। मलाई देशको सेवा गर्न मन छ।’
भनिन्छ, ‘जीवन भनेको आफूले आफैलाई चिन्न सक्नु हो,’ तर अर्जून भन्छन्, ‘जीवन भनेको आफूले आफैलाई सिर्जना गर्नु हो।’