नेचरगाइड छोटराम थारु । तस्बिर : बर्षा शाह/देश सञ्चार
जंगलमा रमाएका छोटराम

छोटरामले भुलेका छैनन् बाघसँगको ‘जम्काभेट’

अप्ठ्यारोहरु छिचोलेर फुलेको मुस्कानको मिठास त्यहि व्यक्तिलाई बढी ज्ञान हुन्छ जसले असजिलोको लामो यात्रा तय गरेको छ । पसिनाले भिजेको अनुहारमा खुशी त्यो बेला सञ्चार हुन्छ जब गरेको काममा प्रेम बस्छ । छोटराम थारुले कामसँग प्रेम गरेका छन् र त उनले खुलेर हाँस्न पनि जानेका छन् ।

पाँच दाजुभाइ मध्येका काईँला छोटरामले सानैमा मातापिताको साथ गुमाए । उनका तीन दिदी बहिनी पनि छन् । ८ वर्षको हुँदा बुवा र १० वर्ष पुग्दा नपुग्दै आमाको साथबाट वञ्चित भएका छोटरामले धेरै अप्ठ्यारो देखे । अकार्को घरमा काम गर्न बसे । मन अडिएन ।

विज्ञापन

विपदमा भर दिने भेटिन्छन् कोही न कोही भन्ने गरिन्छ । यस्तै सहयोगी बनेर आए बलबहादुर राना । बर्दियाको ठाकुरद्वाराका छोटरामलाई बलबहादुरले पढाए–लेखाए, काम सिकाए । पर्यटन क्षेत्रमा सक्रिय रहेका बलबहादुरले छोटरामलाई पनि त्यतै डोहोर्‍याए ।

पर्यापर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा हुर्किएका छोटराम अहिले राष्ट्रिय निकुञ्जमा पाहुनालाई बाटो देखाउँछन्, पशुपन्छी चिनाउँछन् । छोटरामको पेशा–नेचर गाइड ।

२३ वर्षका भए छोटराम । काम र ठामसँग प्रेम बसेकाले खुशी छु भन्ने उनी देश विदेशबाट आएका पाहुनालाई जंगल घुमाउँछन् । जंगली जनावर र पन्छीहरुबारे बताउँछन् । पाहुनालाई जंगलको बाटोमा सुरक्षित बनाउँदै खुशी बाँड्छन् ।

बलबहादुरको साथ लागेर सानैदेखि जंगलको बाटो छिचोलेका उनले नेचर गाइडको प्रमणपत्र लिएर काम थालेको ६ वर्ष बित्यो । हुर्किँदादेखि जंगल र जंगली जनावरको वरपर रहेका छोटरामको भरिलो उमेर पनि त्यहिँ बितिरहेको छ ।

कामसँग लगाव छ र पाहुनालाई सकेसम्म धेरै जनावर देखाउने रहर पनि । बर्दिया पुग्ने धेरै पाहुनाहरु बाघ हेर्न चाहन्छन् । गैँडा, मृग, हात्तीसहितका अरु जनावर र चराचुरुंगी सामान्य जस्तै भयो ।

घर जस्तो वन पक्कै हुँदैन । धेरै चुनौतीहरु हुन्छन् । हरेक दिन साना ठूला अप्ठ्याराहरु पार गर्नै पर्छ । तर झण्डै चार वर्षअघि बाघसँगको जम्काभेट र झण्डैको घम्साघम्सी बिर्सन सक्दैनन् । साथमा थिए जर्मन पर्यटक । गैँडा देखाउँदै थिए छोटराम, बाघ पनि आयो ।

बच्चासितको बाघ रहेछ । उनीहरुलाई आक्रमण गर्ला जस्तो भयो । छोटरामले पर्यटकलाई रुखमा चढाए । उनलाई बाघले लखेट्यो । आमनेसामने भएका बेला उनीतिर हानिएको बाघ माथिबाट गयो । मुश्किलले जोगिए छोटराम । डर थियो तर पनि फर्केर गइ जर्मन पाहुनालाई रुखबाट ओराली सुरक्षित बाहिर निकाले। अनि बल्ल धक फुकाएर सास फेरेका थिए ।

छोटरामलाई पाहुनाको सुरक्षा आफ्नो भन्दा पनि पहिलो प्राथमिकता हो । बाघ लजालु जनावर रहेको बताउने उनी त्यहि लजालुसँगको भयंकर ‘युद्ध’ बाट डराएका छैनन् । माया बसेको छ बर्दियाको जंगलसँग।

बर्दिया जंगलमा पसिनाले भिजेको अवस्थामा भेटिएका छोटराम मिलेका सेता दाँतमा चम्किएको मुस्कानसहित भन्छन्, ‘खुशी छु, अरु जे गरे पनि यो जंगलसँगको नाता तोड्न सकिँदैन होला कम्तिमा यो जुनिमा ।’

जेष्ठ ३२, २०७६ मा प्रकाशित