फलामको रडले लागेर एकको मृत्यु, दुई जना घाइते

साङ्केतिक तस्बिर

नेपालगञ्ज– बाँकेको विनौनामा पुल बनाउने क्रममा फलामको रडले लागेर एक जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन्।

रडले लागेर भारतीय नागरिक मनिउल हकको मृत्यु भएको हो। उक्त घटनामा भारतकै कुसुम मण्डल र तिरुल हक घाइते भएका छन्।

राप्तीसोनारी गाउँपालिका–५, विनौनास्थित राप्ती नदीमा पुल बनाउने क्रममा ३२ इन्चको रड ठाडो पारेर उठाउँदा उनीहरुको टाउकोमा चोट लागेको थियो।

रडले लागेर घाइते भएका मनिउल हकलाई उपचारका लागि नेपालगञ्जस्थित नर्सिङहोम ल्याइएको थियो। उपचारको क्रममा उनकाे मृत्यु भएको हाे।

अन्य दुई जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। कुसुमको बायाँ आँखा र तिरुलको ढाडमा चोट लागेको छ। उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घटना शुक्रबार साँझ साढे सात बजेको हो।

जेठ ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्