विष्णु बरालको स्मृति

५६ वर्षअघि नेपालले खेलेको त्यो पहिलो अन्तर्राष्ट्रिय फुटबल

२०२० साल कात्तिकको चिसो मौसमः बिहानको करिब साढे सात बजेको समय। बंगलादेशको ढाकामा नेपाली राष्ट्रिय फुटबल टोली अन्तिम खेलको पर्खाइमा रहेको थियो।

ढाकास्थित होटलबाहिर झम् झम् पानी परिरहेको दृश्य अझै पनि विष्णु बरालको मानसपटलमा ताजै छ। ढाकामा नेपाली राष्ट्रिय फुटबल टोली पहिलोपटक देशबाहिर अन्तर्राष्ट्रिय मैदानमा फुटबल प्रतियोगितामा सहभागिता जनाइरहेको थियो। जनरल नरशमशेर राणाको नेतृत्वमा केहीदिनको छोटो तयारीमा टोली ढाका पुगेको थियो र सन्र्दभ थियो, आगा खाँ गोल्डकप फुटबल प्रतियोगिता।

होटलको लबीमा नर शमशेरसहित सबै खेलाडी पदाधिकारी चिन्तित थिए। बाहिर मौसमले साथ नदिँदा मैदानमा कस्तो खेल हुने अन्यौलमा थिए, २२ वर्षिय युवा खेलाडी बराल। गोलरक्षकको महत्वपूर्ण भूमिकामा रहेका बराल सो टोलीको सबैभन्दा कान्छो खेलाडी थिए। प्रतियोगितामा यसअघि नेपाली टोली ढाका वन्डर्स र पाकिस्तान वेस्टर्न रेल्वेसँग नराम्ररी पराजित भइसकेको थियो।

तथापि बरालको गोलरक्षकको भूमिका त्यहाँको दर्शक र सञ्चारमाध्यमलाई लोभ्याउन सफल थियो।

“ अपरान्ह साढे ३ बजे खेल सुरुहुने कार्यक्रम थियो। बिहानदेखि पानी परिरहेको थियो। मैदानको अवस्था र दुई खेलको पराजय। मानसिक रुपमा समेत हामी थकित थियौँ” बराल एकैछिन नोस्टाल्जियामा फर्किए।

तथापि नरसम्सेरको नेतृत्वमा रहेको टोलीमा उर्जाको कमी भने थिएन्। ५६ वर्षअघिको नेपाली टोलीको त्यो पहिलो प्रतियोगिता सम्झँदै उनी भन्छन्, “नेपालबाट पहिलोपटक फुटबल टोलीका रुपमा बाहिर विदेशीभूमिमा खेल्दै थियौँ। कसरी खेल्ने हामी सबै अन्जान थियौँ। तथापि लिगको अन्तिम खेल भएकाले गर या मर को खेल खेल्नुपर्ने हामीले बुझेका थियौँ।”

अघिल्लो दुइखेलमा खराब प्रर्दशन देखेपछि पाकिस्तानी टोलीका प्रशिक्षकले खाली दिनमा नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए। नरशमशेरको आग्रहमा पाकिस्तानी टोलीका प्रशिक्षकले टोलीलाई प्रशिक्षण दिँदा र कमी–कमजोरी औल्याउदाँ टोलीमा केही बदलाव भने आएको थियो।

प्रतियोगिताको तेश्रो खेलका क्रममा सो दिन नेपाली टोली इष्र्टन पाकिस्तान पुलिसलाई हराउने रणनीतिमा जुट्यो। बाहिर पानीको फोहरा जारी थियो। उनी सम्झन्छन्, “जित्नु त थियो नै। पानीको कारण मैदान स्लिपरी भएको थियो। तर हामीले राम्रो खेल्यौँ। र इष्र्टन पाकिस्तान पुलिसमाथि १–० को रोमान्चक जित दर्ता गर्याैँ। जसमा काठमाडौँका प्रकाशविक्रम शाहले गोल गरेका थिए। त्यो जित नै हाम्रो फुटबलको ऐतिहासिक जितका रुपमा रहेको छ।”

७८ वर्षिय बराल विराटनगरस्थित आदर्श विद्यालयमा पढ्दाखेर देखि नै फुटबलमा रमाउँथे। २०१४ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्दासमेत उनी विद्यालय फुटबल टोलीको क्याप्टेन भइसकेको थिए। विष्णुहरिको उमेर डेढवर्षको हुदाँ बराल परिवार सिन्धुलीबाट बिराटनगर बसाईँ सरेको थियो। ६ जना दाजुभाइ मध्ये बराल परिवारको कान्छो छोरा थिए। त्यसपछि उनको शिक्षादीक्षा विराटनगरको आदर्श विद्यालयमा भएको थियो। जुन नेपालकै पहिलो विद्यालयसमेत हो। २००६ सालताका जब क्रान्तिको विगुल फुकिँदै थियो, उनी भने विद्यालय र सरस्वती टोलस्थित मैदानमा अग्रजहरुले फुटबल खेलेको हेरेर रमाउनमा व्यस्त हुन्थे। पछि सोही मैदानलाई वीपी कोइरालाले हवाई फिल्डमा रुपान्तरण गरे।

“त्यो समय हामी सोही मैदानमा अग्रजले फुटबल खेलेको हेर्ने गथ्र्यौँ। विराटनगरको त्यही मैदाननै पहिलो फुटबल मैदानका रुपमा रहेको थियो” बराल सम्झिन्छन्। अहिलेजस्तो मैदान थिएन्। त्यही मैदानमा हामीले २००८ सालतिर फुटबल खेल्थ्यौँ’, उनले बताए।

यसबीच विराटनगरमा २०१२ सालमा टाउन क्लबको गठन भयो। बराल पनि सोही क्लबबाट फुटबलमा भिज्न थाले। सो समय नेपाली फुटबल पनि बामे सर्दै थियो, टाउन क्लब मातहत मोरङ ११ को नाममा टोली हुर्कँदै थियो। त्यससमय यदाकदा नरसमसेर ट्रफी फुटबल आयोजना हुन्थ्यो। तर, त्यो पनि पालो पर्खिनुपर्ने, एकवर्ष वीरगञ्जमा भए अर्कोवर्ष काठमाडौैँ अनि विराटनगर। बिस्तारै विराटनगरमा नै अनन्त रनिङ्ग शिल्ड र बडा हाकिम रनिङ्ग शिल्ड, अञ्चल स्तरीय प्रतियोगिता हुन थाल्यो। त्यसपछि तत्कालीन समयमा श्री ५ महेन्द्र गोल्डकपले विराटनगरमा आयोजना भयो। २०१४ सालपछि महेन्द्र क्याम्पसमा रात्रीकालीन उच्च शिक्षाका लागि भर्ना भए। तर, उनको खेल जीवन यथावत रह्यो।

यसैबीच, २०२० सालमा काठमाडौँमा एन्फाको सहकार्य र नरसमसेरकै पहलमा भारतको ए डिभिजन क्लब गोर्खा विग्रेडसँग मैत्रीपूर्ण खेलको आयोजनाको गाँइगुइँ विराटनगरसम्म चल्यो। त्यसका लागि मोरङ ११ को टोलीबाट ७ जनालाई एन्फाले बोलाइएको थियो। जसमा बराल गोलरक्षकका रुपमा रहेका थिए। उनीसँगै टोलीमा अमर थापा, इन्द्रसिंह सुब्बा, शालिग्राम अधिकारी, पदम श्रेष्ठ, बाबा गुरुङ, प्रवुद्धन सुब्बा रहेका थिए।

सो मैत्रीपूर्ण खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो। यसैबीच नरसमसेरकै नेतृत्वमा बंगलादेशको ढाकामा प्रतियोगिता खेल्नका लागि टोली तयार भयो। जतिबेला काठमाडौँको विद्या व्यायाम, त्रिभुवन आर्मी क्लब, तत्कालीन महेन्द्र पुलिस क्लब लगायतबाट गरी ४ जना र मोरङ ११ को ७ जनाले बंगलादेशको टिकट काट्ने अवसर पाए।

यसबीच बरालको टिकट भने अन्यौल नै रहेको थियो। उनको स्थानमा कोलकाताका घोष बाबुलाई गोलरक्षकको भूमिकामा लैजाने तयारी थियो। उनी भन्छन्, “घोषको चर्चा बेग्लै थियो। उनको नाम लिष्टमा थियो। तर सोही मौकामा द्वारिकाभक्त माथेमाले घोषको स्थानमा नेपालीलाई स्थान दिइनुपर्ने उठान गरे।”

प्रतियोगिताका लागि बरालले विराटनगरबाटै दुई जोर जर्सी र बुट आफैले बोकेका थिए। “टोलीमा जर्सी त उपलब्ध थियो तर, ठूलो साइजको र बुट पनि नयाँ, खेल्न गाह्रो हुने भएकाले पुरानै तयारीमा मैदानमा उत्रिएको थिए”, उनले भने।

प्रतियोगितामा एक जित दुई हार बेहोरेको टोली काठमाडौँ फर्कियो। फर्कदा त्रिभुवन विमानस्थलमा केही पदाधिकारी लिन आएको उनलाई ताजै याद रहेछ। त्यसबेला खेलाडी र पदाधिकारीहरु धावनमार्गमा उत्रिसक्दा आफू भने जहाजभित्र रहेको संझिएका बरालले मुसुमुसु हाँस्दै भने, “स्वागतका लागि बाहिर राम्रै उपस्थिति रहेको थियो। साथै गोलरक्षकलाई हेर्न केही त जहाजभित्रसम्म पसेका थिए। त्यो समय आफू पनि भावुक भएको थिएँ।”

२०१८ सालबाट अञ्चलस्तरीय हुँदै विभिन्न प्रतियोगितामा सहभागिता जनाएका बरालले ४ वर्ष फुटबललाई महत्व दिए। तर, सो समय खेलेरमात्र जीवन धान्न गाह्रो हुने बुझेका बरालले आदर्श विद्यालयमै शिक्षकको जिम्मेवारी सुरु गरे। २०२२ सालपछि भने विद्यालयलाई पनि समय दिनुपर्दा बरालले खेल जीवन अन्त्य गरेका थिए। त्यसपछि उनी फुटबलमा कम समय दिँदै शिक्षण पेशामा सक्रिय हुँदै गए।

नेपाली फुटबलले के दियो भन्दापनि फुटबललाई के दियौँ भन्ने कुरालाई महत्वपूर्ण मान्दै आएका बराल हाल रिटार्यड जीवनमा रमाइरहेका छन्। तीन छोरी एक छोरा सबै आ–आफ्नो स्थानमा जिम्मेवारी साथ अघि बढिरहेकाले जीवन खुशी साथ बिताइरहेका छन्।

गएको वर्ष विराटनगरमा आयोजित साफ महिला च्याम्पियनसिप हुनु फुटबलका लागि फाइदाजनक भएको बताएका बराल, यसप्रकारको खेलकुद निरन्तर रहनुपर्नेमा जोड दिन्छन्।

उनी खुशीसाथ भन्छन्, “कतिपय अवस्थामा आज पनि फुटबलले चिनाएको मेरो कथालाई सम्मान गरिदिन्छन्, खुशी त्यही मिल्छ। कम्तीमा केही त नाम कमाएछु जस्तै लाग्छ।”

विगत संझदै वर्तमानमा रुमलिएका बराल नेपाली फुटबलले स्तरीय प्रदर्शन गरिरहेको भनाई राख्छन्। उनी भन्छन, “नेपालका खेलाडीले अनुशासनमा रहेर, देश र आत्मसम्मानका लागि फुटबल खेले निराशा हात लाग्ने छैन्।”