बुटवलमा जग्गा भएकी को हुन् यी ‘श्री ३ बडामहारानी’?

बुटवल– राणाहरुले गरेको पारिवारिक शासन सकिएको करीब ७० वर्ष भयो। राणाहरुको हुकुमी शासन अन्त्य भएको ७ दशक भइसक्दा पनि बुटवलमा भने ‘श्री ३ बडामहारानी’को नाममा घरजग्गा छ।

बुटवल उपमहानगरपालिका वडा नं. १ मस्जिद टोलमा दुई कठ्ठा १० धुर जग्गा र त्यसमा बनेको जग्गा ‘श्री ३ बडामहारानी’को भनिँदै आएको छ।

जग्गाधनी पूर्जामा ‘श्री ३ बडामहारानी’ भनी पदवी मात्रै लेखिएको छ। नाम र थरबारे उल्लेख गरिएको छैन। कित्ता नम्बर ८३ भएको सो जग्गा २०६० सालमा नयाँ नापनक्शा बनाई जिल्ला नापी कार्यालयले कित्ता नम्बर ४५ कायम गरेको थियो।

‘यसको खास तथ्य केही पनि भेटिएन, बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु प्रसाद खनाल भन्छन्,‘बडामहारानीका सन्तान भन्दै धेरै व्यक्तिहरु वारेस भन्दै आएका थिए, तर उपमहानगरपालिकाले त्यसमा तथ्य पूरा भएको देखेन र नगरकै रेखदेखमा थियो।’

व्यापारिक क्षेत्रको रुपमा परिचित पुरानो बुटवलमा रहेको यो जग्गा र भवनमा श्री ३ हरुको भ्रमणका समयमा घोडा बाँध्ने र आराम गर्ने थलोका रुपमा रहेको जानकारहरु बताउँछन्। पुरानो बुटवलका जानकार रविन्द्रगोपाल लाकौल भन्छन्, ‘राणाकालमा श्री ३ हरु भ्रमणमा आउँदा पहिले घोडा बाँधिन्थ्यो रे, पछि त्यसैलाई श्री ३ बडामहारानीको जग्गा भनेर भन्न थालिएको हो।’

जानकारहरुका अनुसार श्री ३ का चाकरदारहरुले श्री ३ हरुलाई खुशी पार्नका लागि जग्गा दिएको र तबेला बनाइदिएको हुनसक्छ। यो जग्गाको पछिल्लो समय बुटवल उपमहानगरपालिकाले रेखदेख गर्दै आएको भएपनि सो ठाउँमा १६ परिवार बस्दै आएका थिए। ४८ वर्षदेखि बस्दै आएका १६ परिवारलाई हटाएर बुटवल उपमहानगरपालिकाले जितगढी किल्लाका लागि संरचना बनाउने योजना बनाएको छ।

उपमहानगरपालिकाले गत वैशाख २५ मा ३५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो। स्थानीयले भने आफुहरुलाई लालपूर्जा दिनुपर्ने माग राख्दै आएका थिए।

लालपूर्जा माग गर्दै स्थानीयले बनाएको संघर्ष समितिका संयोजक हरि विश्वकर्माले २०२८ सालदेखि आफूहरु सोही ठाउँमा बस्दै आएको र अन्यत्र जग्गा नभएकाले आफूहरुलाई लालपूर्जा दिनुपर्ने माग गरेको बताए। ‘अरु स्थानीय तहले घर नभएकालाई आवास र बसोबासका आधारमा लालपूर्जा वितरण गरिरहेको अवस्थामा बुटवल उपमहानगरपालिकाले हामीहरुलाई हटाएर घरबारविहीन बनाएको छ, हामीमाथि बुटवलले अन्याय गर्‍यो’–उनले भने।

वडा नं १ का अध्यक्ष महेन्द्र लिगलले भने उपमहानगरपालिकाले सूचना जारी गरेको ३६औं दिन पुगेकोले जग्गा खाली गराउन डोजर लगाएको बताए। उनले सो जग्गामा वडा कार्यालय र कभर्ड हल बनाउने बताए।

उपमहानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार जग्गा खाली गराएको बताएको छ। उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी भन्छन्,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार नै जग्गा खाली खोजिएको हो, प्रक्रियाअनुसार सूचना जारी गरेपछि पनि खाली नगरेपछि डोजर चलाइएको हो।’

यसअघि उपमहानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार भन्दै २०७३ साल असार १९ गते पनि जग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो।

जेष्ठ ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू