दक्षिण अमेरिकी फुटबलको महादेशीय प्रतिस्पर्धा कोपा अमेरिकामा लियोनल मेस्सी कप्तानीको अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । समूह चरण अन्तर्गत नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० ले पराजित भएको हो ।
समूह बी मा रहेको अर्जेन्टिना मेस्सीसहित मैदानमा रहे पनि हामेस रोड्रिग्वेजसहितको कोलम्बियन टिम सामु निरिह देखिएको हो । ब्राजिलमा नेपाली समय अनुसार शनिबार बिहान सुरु भएको प्रतियोगिता अन्तर्गत आइतबार बिहान पौने चार बजे अर्जेन्टिनाले कोलम्बियासँग खेलेको हो ।
खेलको ७० औँ मिनेटसम्म गोल नगरे पनि गोल पनि नखाएको अर्जेन्टिनाका लागि त्यसपछिको समय सहज भएन । ७१ औँ मिनेटमा रोजर मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाति अग्रता दिलाए । ८६ औँ मिनेटमा डुवन जापाताले गोल गर्दै अग्रता दोब्बर पारेपछि कोलम्बियाको २–० को जित निश्चित भयो ।
विश्वका उत्कृष्ट खेलाडीहरु मेस्सी तथा सर्जियो अग्युरोसहितको टिम रहे पनि अर्जेन्टिनाले सुरुवात राम्रो गर्न सकेन ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि यसअघिका दुई प्रतिस्पर्धामा अन्तिममा आएर बेहोरेको नमिठो अनुभवलाई उल्ट्याउने जिम्मेवारी, अवसर र चुनौती छ । र यो पटकको प्रतिस्पर्धा मेस्सीका लागि खेलाडीका रुपमा कोपा अमेरिकाको शायद अन्तिम सहभागिता बन्ने छ ।
उनलाई राष्ट्रिय टिमबाट उपाधिको खडेरी मेट्नु पर्ने दबाबयुक्त चुनौती छ । तर सुरुवात नै खराब बनेको छ यसपटक उनका लागि । अर्जेन्टिना सन् २०१५ र २०१६ मा फाइनलमा चिलेसँग पराजित भएको थियो ।
कोपा अमेरिकामा यसपटक प्रतिस्पर्धा गरिरहेका १२ टिम तीन समूहमा छन् । समूह ए मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु, समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार तथा समूह सी मा उरुग्वे, इक्वेडर, जापान र चिले छन् ।
जापान र कतार आमन्त्रित टिम हुन् ।
यसैबिच समूह ए अन्तर्गत आइतबार बिहानै भएको अर्को खेलमा भेनेजुएला र पेरुले गोलरहित बराबरी खेलेका थिए ।