गल्फ अफ ओमानमा तेल ट्यांकरमाथि आक्रमण

साउदी अरेबियाको शंका पनि इरानमाथि, चुनौतीको सामना गर्न तयार रहेको बताए क्राउन प्रिन्सले

ओमानको गल्फमा तेलका दुई ट्यांकरमा भएको बिस्फोटमा इरानको संलग्नता रहेको अमेरिकाले दाबी गरिहेका बेला साउदी अरेबियाले पनि इरानलाई नै दोष लगाएको छ ।

साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) ले आफ्नो देश कुनै पनि किसिमको चुनौती सामना गर्न नहिच्किचाउने बताएका छन् । इरान र साउदी अरेबियाबिचको सम्बन्ध खराब छ । दुई देश एक अर्काकाका प्रतिद्वन्द्वी हुन् ।

क्राउन प्रिन्स एमबिएसले स्थानीय पत्रिकासँग भनेका छन्, ‘हामी यो क्षेत्रमा युद्ध चाहँदैनौँ… तर हामी कुनै पनि किसिमको चुनौती सामना गर्नका लागि हिच्किचाउने छैनौँ । हाम्रा नागरिक, हाम्रो सार्वभौम सत्ता, हाम्रो भूभाग तथा देशको हितको रक्षाका लागि जस्तोसुकै चुनौती सामना गर्नका लागि तयार छौँ ।’

इरानले जापानका प्रधानमन्त्रीको तेहरान भ्रमणको सम्मान नगरेको र सोही बेला ट्यांकरमा आक्रमण गरेको क्राउन प्रिन्स एमबिएसले बताएका छन् ।

इरानले भने आरोपको प्रतिबाद गरेको छ र घटनामा आफ्नो संलग्नता नरहेको पुनः स्पष्ट पारेको छ । यसअघि अमेरिकी पत्रिका वासिङ्गटन पोस्टले एक भिडियोमा इरानीको सेनाले सानो डुंगामा आएर बिस्फोट नभएका माइन एक ट्यांकरबाट निकालिरहेको देखिएको उल्लेख गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहि कुरालाई उद्धृत गर्दै घटनामा इरानकै संलग्नता रहेको बताएका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले घटनाको सत्य तथ्य स्पष्ट रुपमा स्थापित हुनु पर्ने बताएका छन् । रुसले अमेरिकी निष्कर्ष हतारमा निकालिएको हुन सक्ने बताएको छ ।

बिहीबार गल्फ अफ ओमानमा देलका दुई ट्यांकरमा बम बिस्फोट भएको थियो । जापान र नर्वेको स्वामित्वमा रहेका दुई ट्यांकरमा आक्रमण भएको हो । तेलका दुई ठूला समुद्री ट्यांकरमा स्थानीय समय अनुसार बिहीबार बिहान बिस्फोट भएको हो । जापानको स्वामित्वको रहेको कोकुका करेजिएस र नर्वेजिन कम्पनीको फ्रन्ट अल्टाएयरमा बिस्फोट भएको हो ।

घटना लगत्तै ट्यांकरमा रहेको क्र्यू मेम्बरलाई उद्धार गरिएको थियो । इरान र अमेरिकाले दुवै उद्धार आफूहरुले गरेको दाबी गरेका छन् । कोकुकामा रहेका २१ र फ्रन्टमा रहेका २३ क्र्यू मेम्बरलाई उद्धार गरिएको हो ।

विश्वको सबैभन्दा ठूलो तेल मार्गमा महिना दिन भित्र भएको यो दोस्रो आक्रमण हो । यसअघि संयुक्त अरब इमिरेट्सका चार ट्यांकरमाथि आक्रमण भएको थियो । अमेरिकाले त्यो बेला पनि इरानमाथि आरोप लगाएको थियो र इरानले अस्वीकार गरेको थियो ।

घटनाले इरान र अमेरिका तथा इरान र साउदी अरेबियाबिचको तनावपूर्ण सम्बन्धमा थप समस्या निम्त्याउने देखिएको छ ।

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू