प्रदेश १ को राजधानी विराटनगरको प्रवेशद्वार ।

विराटनगर – विराटनगरको महेन्द्र चोकमा पान पसल गरेर बस्ने गीता दहाललाई प्रदेश सरकारले आइतबार बजेट सार्वजनिक गर्दैछ भन्ने कुरा थाह छैन।

संघीय संसदको बजेटबारे थाह पाएकी उनले प्रदेश सरकारको बजेटबारे अहिलेसम्म जानकारी पाएकी छैनन्। तर प्रदेश सरकारले आफ्नो उपस्थिति देखाउने किसिमको बजेट ल्याउनुपर्ने उनको भनाई छ।

उनले भनिन्, ‘जनताले थाह पाउनुपर्ने किसिमको कामका लागि बजेट चाहिएको छ।’

विराटनगरमै इ-रिक्सा चलाउने गंगा सहनीलाई पनि प्रदेश सरकारले बजेट ल्याउँछ भन्ने कुरा थाहा पाएनन्। कस्तो बजेट चाहिएको छ भन्ने जिज्ञासामा उनले जनतालाई विकास चाहिएको बताए।

सहनीले भने, ‘प्रदेश सरकारले कुन कुन क्षेत्रमा विकास गर्छ भन्नेबारे जनतालाई थाह नभएको अवस्थामा कस्तो बजेट चाहिएको भन्ने कुराको उत्तर मसंग छैन। यति हो संघीय सरकार होस् वा प्रदेश सरकार जनतालाई विकास दिनुपर्यो। जनताले कार्यक्षेत्र जान्दैनन्।’

विगतको एक बर्षमा प्रदेश सरकारले खासै काम देखाउन नसकेको भन्दै प्रदेश १ का सर्वसाधारण तथा व्यवसायीले प्रदेश सरकारको उपस्थिति देखिने किसिमको बजेट चाहिएको बताएका हुन्।

प्रदेश १ सरकारले आइतबार बजेट सार्वजनिक गर्दैछ। दिउँसो ३ बजे प्रदेश संसदमा अर्थमन्त्री इन्द्र आङबोले करिब ४० अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दैछन्।

मेची उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष विजय डालमियाँका अनुसार अहिलेको आवश्कता पानी जहाज नभइ जनताको घरमा पानीको धारा हो। सोही प्रकृतिको बजेट चाहिएको उनको भनाइ छ।

यातायातका क्षेत्रमा थुप्रै समस्याहरु रहेका कारण भएका यातायातका साधन तथा बाटा घाटाका पूर्वाधारमा सरकारको ध्यान जानुपर्ने डालमियाँले बताए।

उनले भने, ‘अहिले रेल भन्दा पनि भएका यातायातका साधनलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्छ। नयाँ उद्योग थप्ने किसिमको बजेट भन्दा पनि भएका उद्योगलाई संरक्षण गर्ने किसिमको बजेट हामीलाई चाहिएको हो।’

बजेटका तीन विशेषता

अर्थमन्त्री इन्द्र आङबो

प्रदेश सरकारले ल्याउने दोस्रो बजेटका विशेष तीनवटा विशेषता रहेको अर्थमन्त्री इन्द्र आङबोले जानकारी दिए।

१. विकास निर्माणमा झण्डै पचास प्रतिशत खर्च गरिने उनले बताए। मन्त्री आङ्बोले भने, ‘यो पालीको बजेट जनताले थाह पाउने विकास निर्माणका काममा खर्च गर्ने किसिमको छ। तीन बर्षदेखि पाँच बर्षसम्ममा निर्माण सम्पन्न गर्ने किसिमका विकास निर्माणमा बजेट केन्द्रित छ। सडक लगायत निर्माणका काम त्यस्मा पर्छन्।’

२. कृषिको आधुनिकीकरण र रोजगारी केन्द्रित बजेटमा कार्यक्रम समेटिएको मन्त्री आङ्बोले बताए। कृषिमा आकर्षण गर्नका लागि कार्यक्रमहरु बजेटमा रहेको उनको भनाइ छ।

३. निजी क्षेत्रसंगको सहकार्यका लागि बजेटमा कार्यक्रमहरु रहेको उनले जानकारी दिए। आङ्बोले भने, ‘विकास भनेको सरकार एक्लैले गर्नसक्ने होइन। त्यसैले निजी क्षेत्रसंगको सहकार्य आवश्यक्ता पर्ने भएकाले सोही किसिमको बजेट आज आउँदैछ।’

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्