स्वदेश झर्नासाथ प्रधानमन्त्रीले ‘चान्स छैन’ भन्दा…

साताव्यापी युरोप भ्रमण सकेर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – अत्यावश्यक नमानिए पनि जेठ २५ गते युरोप भ्रमणमा हानिएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनु पहिले नै चौतर्फी घेरामा परे।

खासगरी गुठी विधेयकका विरोधीहरुले सरकार र संविधानको अस्तित्वमाथि नै प्रहार गर्न थालेको स्पष्ट सूचना शायद युरोपमै पाइसकेका प्रधानमन्त्री ओलीले स्वदेश ओर्लनासाथ दिएको अभिव्यक्तिमा पूर्व तयारी देखिन्थ्यो।

विज्ञापन

त्यसैले आफ्ना कार्यवहाक  इश्वर पोखरेल र प्रवक्ता गोकुल बास्कोटाले सार्वजनिकरुपमा लिइरहेको अडानमा लचक बन्दै आक्रोशित उपत्यकाका गुठीयारहरुलाई शान्त बनाउने प्रयासस्वरुप अभिव्यक्ति दिए।

सडक र संसद दुवै तातिँदै गएको अवस्था, भूमाफिया र दलालसँगको मिलोमतोमा नेपालको धर्म, संस्कृति र समाज ध्वस्त पार्ने गरी सरकारले गुठी विधेयक संसदमा पेश गरेको आरोप र त्यो खारेज नभए सरकार ढाल्ने चुनौती ओलीका लागि सानो पक्कै थिएन ।

त्यसैले सुरुमै स्वदेश आउनासाथ भने,‘ अबको समय आवेश, उत्तेजना र आन्दोलनको होइन, संवाद, सहमति, सहकार्य र अग्रमनको हो । हिजो राजनीतिक अधिकार थिएन, जनता सार्वभोमसत्ता सम्पन्न थिएनन् र आन्दोलन गर्नु पर्थ्याे।’

अहिले जनता सार्वभाैमसत्ता सम्पन्न भइसकेको र जनताको इच्छा, भावना र हित विपरित कुनै पनि काम सरकारले नगर्ने भन्दै उनले प्रतिबद्धता जनाउनुमा गुठी विधेयकलाई लिएर सरकार पछि हट्ने संकेत दिन्थ्यो।

विरोधलाई साम्य पार्न उनले जनतालाई देवता पनि बनाए । उनले भने,‘ जनतालाई देवता मान्य, जनतालाई सर्वपरी मान्य, जनताको इति र आदेश अनुसार काम गर्ने र जनताप्रति उत्तरदायी सरकार छ।’

गुठी विधेयक विरोधीहरुसँग छलफल गर्न आफूहरु तयार रहेको संकेत गर्दै उनले भने,‘ कुनै पनि कुरा सतप्रतिशत ‘प्रफेक्ट नहुन पनि सक्छ । त्यस्तो भयो भने सरोकारवाला पक्षले यहाँ नीर यस्तो भयो है भन्ने वित्तिकै सच्याउन तयार छ सरकार ।’

तर आफ्नो विरोध गर्नेहरुलाई चुनौति दिन उनी पछि परेनन्। ‘ जनताका लागि काम गर्ने सरकार छ, अनि जनता के कारणले भड्किन्छ, भड्काउनुको अर्थ छैन ?,’ उनले प्रश्न गरे,‘ कुनै कमी देखियो भने सरकारले सच्चाइहाल्छ । जनतालाई दमन गरेर आएको सरकार होइन। जनताको अभिमतबाट आएको हो । सानातिना कुरामा अल्झिरहन आवश्यक छैन।’

उनले गुठीका नाममा कतिपय ठाउँमा जनतामाथि या गरिबहरुमाथि शोषण भइरहेको बताए पनि उपत्यकाका ऐतिहासिक महत्व राख्ने र संस्कृतिसँग जोडिएको मठमन्दीर, जात्राको कुरा बेग्लै भएको भन्दै लचकता प्रदर्शन गरे।

उनले भने,‘ यस विधेयकले कँही कतै सांस्कृतिक महत्वसँग जोडिएका गुठीहरुमा धक्का पुगेको रहेछ त्यो सरकारले विचार गर्छ ।’

तर घुमाउरोरुपमा आफ्ना विरोधीप्रति उनी लक्षित क्रम जारी थियो । भने,‘ केही मानिसहरुले खुवै मौका पायौँ होला भन्नठानेका होलान् कुनै चान्स आउनेवाला छैन । चान्स छैन । जनताका लागि जनताले बनाएको सरकार हो ।’

खासगरी आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकताका बेला सरकारको नेतृत्व फेरबदल सम्बन्धमा भएको सहमतिलाई लिएर चुलिएको आन्तरिक विवाद, गुठीसँगै मिडिया काउन्सिल, मानवअधिकार आयोग, शिक्षा, राहदानी विधेयकलाई लिएर उत्पन्न असन्तुष्टिले उनी नेतृत्वको सरकार अलोकप्रिय बन्दै गरेको अवस्थालाई उनले लक्षित गरेको बुझ्न कठिन थिएन।

तर उनको सरकारको साख गिराउन गुठी विधेयकविरुद्धको आन्दोलन नै काफी भएकोमा उनी स्पष्ट थिए शायद ।

त्यसैले फेरि उनले जानेर या नजानेर मुलुकको सांस्कृति पक्षमा प्रतिकुल असर पारेको रहेछ भने त्यसलाई सरकारले सच्याउने बताए ।

यो सरकार जनताको मन दुखाउन नभई,उनीहरुलाई हँसाउन बनेको उनले दाबी गरे। ‘तर भुलवस भएको कामलाई लिएर मौका आयो कि भन्नु बेकार हो’ उनले भने।

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्