प्रदेश सभामा प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो बजेट प्रस्तुत गर्दै। तस्बिर : उमाकान्त खनाल/देश सञ्चार।

विराटनगर– आइतबार प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०७६/७७ को बजेटमार्फत प्रदेश–१ सरकारले पनि सांसदलाई पैसा बाँड्ने भएको छ।

प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बोले राजधानी विराटनगरस्थित प्रदेश सभामा बजेट बक्तव्य मार्फत प्रदेश सांसदलाई रकम बाँड्ने घोषणा गरेका हुन्।

बजेट अनुसार प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रका लागि दुई करोड पचास लाख रुपैयाँ र सबै सांसदका लागि भनेर पचास लाख रुपैयाँ सांसदलाई दिइनेछ।

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि भनेर एक अर्ब चालिस करोड रुपैयाँ सांसदलाई नै प्रदान गरिने भएको हो। त्यसका अतिरिक्त प्रत्येक सांसदको सिफारिसमा पचास लाख रुपैयाँका दरले योजना कार्यान्वयन गर्न भन्दै थप ४८ करोड रुपैयाँको व्यवस्था बजेटले गरेको छ।

बजेट अनुसार कृषि तथा भूमि व्यवस्था, पर्यटन, वन तथा वातावरण, उद्योग वाणिज्य तथा आपूर्ति, सिँचाई तथा नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, श्रम र रोजगारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक असहाय तथा अपांग, खेलकुद, संस्कृति, सडक पूर्वाधार, उर्जा तथा विद्युत, यातायात व्यवस्थापन, आवास भवन तथा शहरी पूर्वाधार, सूचना तथा सञ्चार, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन, सुशासन तथा सार्वजनिक सेवा प्रवाह, विपद व्यवस्थापन तथा लागुपदार्थ दुर्व्यसन नियन्त्रणका लागि रकम छुट्याइएको छ।

आर्थिक बर्ष २०७६/७७ को लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट प्रदेश १ सरकारले आइतबार सार्वजनिक गरेको हो।

बजेट सार्वजनिक गर्दै मन्त्री आङ्बोले कुल बिनियोजनमध्ये चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार, त्यसैगरि पुजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार र वित्तीय व्यवस्थातर्फ ८ करोड रुपैयाँ विनियोजन गरेका छन्। जसमध्ये आन्तरिक श्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँडबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड ब्यहोरिने बताइएको छ।

बजेटको सन्दर्भमा प्रतिपक्षी दलका सचेतक सुयर्माराज राईले बजेट सत्यतामा आधारित नभएको भन्दै टिप्पणी गरेकाछन्।

धरानदेखि धनकुटाको मुलघाटसम्म सुरुङ मार्ग, आदिवासी जनजातिको संग्राहलय बनाउने सन्दर्भ हेर्दा सरकार पूर्ण रुपमा बाटो बिराएर अघि बढेको उनको भनाइ छ। बजेट विश्वसनीय नभएको बताएका सचेतक राईले सरकारको स्थायी मानसिकता नदेखिएको उनले स्पस्ट पारे।

क्रोनिक बजेटका रुपमा अर्थ्याएका राईले भने, ‘यस बजेटले हुने खाने र उद्योगीहरुलाई पृष्ठपोषण गरेको छ।’

त्यसैगरि, समाजवादी पार्टी नेपाल प्रदेश एक संसदीय दलका नेता जयराम यादवले बजेट मिश्रित भएको बताए।

पुराना कुरालाई निरन्तरता दिएको बजेटमा महत्वकांक्षी योजनाहरु समेटिएको नेता यादवको भनाइ छ। बिगतको बजेटलाई पनि समयमा कार्यान्वयन गर्न नसकेको बताएका यादवले यसपटक बजेटलाई बृद्धि गरी ल्याइएकोमा बजेट कार्यान्वयन जटिल रहेको उनले बताए।

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्