गुठी विधेयकले गर्मायो संसद

काठमाडौँ – गुठी विधेयकको चर्चाले संसद गर्माएको छ। राष्ट्रियसभामा विचाराधीन रहेको ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५’ को पक्ष र विपक्षमा सडकमा देखिएको आन्दोलन संसदमा समेत देखिएको छ।

आइतबारको बैठक प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले गुठी विधेयक विरोध गरे भने सत्तारुढ नेकपाका सांसद विधेयकको बचाउमा उत्रे।

बैठकको सुरुमै प्रतिपक्षी कांग्रेसकी सांसद लक्ष्मी परियारले गुठीयारको आन्दोलनमाथि जेठ २६ गते प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाइन्। उनले गुठी नेपालको सभ्यता र परम्परा भएकाले त्यसलाई मास्ने गरी ल्याइएको विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरिन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लक्ष्मी परियार ।

सांसद परियारले आफ्ना कार्यकर्तालाई जग्गा बाँड्ने मनसायका साथ सरकारले विधेयक ल्याएको आरोप लगाइन् ।

चेतावनीको शैलीमा उनले भनिन्, ‘यस विषयमा प्रतिपक्षीले आवाज उठाउँदा पनि सरकार किन मौन बसेको छ? आफ्ना कार्यकर्तालाई जग्गा बाँड्ने सोचिएको छ भने त्यो कांग्रेसका लागि स्वीकार्य हुन सक्दैन। सरकारले थाहा पाओस् नेपालमा भएको सस्कृति मास्न कांग्रेसले दिँदैन।’ उनले संविधानलाई नै उल्लंघन गर्ने गरी विधेयक ल्याइएको दाबी गरिन्।

भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वैशाख १७ गुठी विधेयक संसदमा दर्ता गरेको थियो । विधेयकमाथि ६ वटा संशोधन दर्ता भइएका छन् ।

नेकपाकी सचेतक शान्ता चौधरीले गुठी विधेयकको विरोधमा भइरहेको आन्दोलनप्रति आश्चर्य व्यक्त गर्दै गरिब, किसानका कुरा पनि सुन्न माग गरेकी छिन्।

चौधरीले सरकारले संसदमा पेश गरेको विधेयकको समर्थन गर्दै एउटा वर्ग र समुदायको मात्र विचार सुनेर कानुन बनाउन नहुने बताइन्। चौधरीले विधेयकलाई नकारात्मक रुपमा प्रस्तुत गरेको भन्दै कांग्रेसको कार्यशैलीप्रति आपत्ति जनाइन्।

‘प्रस्तावित गुठी विधेयकलाई किन यति नकारात्मक रुपमा प्रस्तुत गरिएको छ? विधेयक संविधान विपरीत पनि छैन। म छक्क परेको छु,’ उनले भनिन्। चौधरीले २०४९ सालमै गिरिजाप्रसाद कोइराला र २०५८ सालमा शेरबहादुर देउवाको पालामा गुठी विधेयक संसदमा विधेयक पेश भएको स्मरण गर्न कांग्रेसलाई आग्रह गरिन्।

‘जसले मन्दिर जोगाउन हातमा ठेला उठायो, काँधको छाला खुइल्यायो उसैको कुरा नसुनिने? आज गुठीका बारेमा बोलिन्छ, गुठीयारका बारेमा बोलिन्छ, तर ती गरिब किसानका बारेमा बोल्ने कि नबोल्ने? चौधरीले अगाडि भनिन्,‘मन्दिरलाई संरक्षण गर्ने किसानको अवस्था नाजुक छ । चर्को गरी बोलेकाहरुका कुरा मात्र भावनात्मक हुने? निश्चित वर्गका लागि बोल्ने? उसो भए गणतन्त्र किन चाहियो ? सभामुख महोदय मान्छेलाई रुवाएर हाँस्ने पनि भगवान कहाँ हुन्छ र ? गरिबका आँसु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लाग्दैन ?’

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शान्ता चौधरी ।

नेकपाका सांसद हरिराज अधिकारीले गोरखाको आरुघाट ११ सय परिवार गुठीबाट पीडित रहेकाले उनीहरुलाई आफूले भोग चलन गर्दै आएको जग्गाको स्वामित्व दिन माग गरे ।

संसदमा उनले भने, ‘गोरखाको आरुघाट थुमिर भन्ने ठाउँमा पृथ्वीनारायणको पालादेखि दुई हजार रोपनी जमिन रहेको छ। त्यसमा ११ सय परिवार आश्रित छन्। सामन्ती प्रथाको अवेशषका रुपमा रहेको गुठीको अन्त्य गरी किसानलाई जग्गा दिइयोस्।’

त्यस्तै नेकपाकै सांसद विमला विकले विधेयकले जमिनमा द्वैध स्वामित्व गर्ने र किसानको हितमा रहेकाले पारित गर्न माग गरिन् । ‘यो विधेयकले धर्म संस्कृति परम्परालाई जोगाउने छ। संस्कृतिलाई मास्न खोजियो भन्ने हल्ला चलाइएको छ। यो विधेयकले परम्परालाई झन बलियो बनाउँछ।’ गुठीको जग्गामा मोही लाग्ने सुरुवात २०४१ मै सुरु भएको र अहिले त्यसलाई निरन्तरता दिन मात्र खोजिएको दाबी गरिन्।

२०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पनि गुठी जग्गालाई रैतानी गर्ने गर्ने विधेयक आएको उनले स्मरण गरिन्। ‘माइतीघरमा आन्दोलन गर्नेका मात्र होइन देशका १५ लाख गुठी पीडित किसानका कुरा सुनिनु पर्छ,’ विकले संसदमा भनिन्।

कांग्रेसका सांसद सत्यनारायण खनालले विधेयक भुमाफियाको चंगुलमा परेर सरकारले ल्याएको आरोप लगाए। उनले विधेयक फिर्ता लिन सरकारलाई चेतावी दिँदै भने, ‘दुई तिहाइ बहुमतको दभ्यमा सरकार गुठीयारमाथि दमन गरेको छ । विधेयक फिर्ता लिएर, सरो्कार वालासँग छलफल गरेर अर्को विधेयक ल्याऊ। नत्र पछुताउनुको विकल्प हुँदैन ।’

कांग्रेसकै सांसद सर्वत आरा खाँले पुर्खाले खाइ नखाइ जोगाएको हो गुठी परम्परालाई सरकारले सिध्याउन खोजेको बताइन् । नेपालको धर्म संस्कृति बचाउन गुठी विधेयक फिर्ता लिर्फा लिनुको विकल्प नभएको उनको भनाइ थियो ।

नेकपाका सांसद मेटमणि चौधरीले किसानबाट खोसेर तत्कालीन शासकहरुले गुठीको नममा जग्गा लगेकाले फिर्ता हुनुपर्ने बताए ।

सांसद विरोध खतिवडाले गुठी विधेयकको पक्ष र विपक्षमा भइरहेको विवादलाई अन्त्य गर्न सभामुखलाई हस्तक्षेपकारी भूमिका खेल्ने सुझाव दिए ।

‘सरकार गुठीयाबीच ३६ को आँकडा छ । दुवैले गालामा हात लगाएर गीत गाइरहेका छन् । एक अर्कातिर मुख फर्काएर बसेका गुठीयार र सरकारबीच हस्तक्षेप गरेर वार्ता गर्न सभामुखले ध्यान दिनु पर्यो, खतिवडाले भने ।

उनले काठमाडौँका आदिवासी नेवारहरुको कारण नै राजनीतिक आन्दोलन सफल भएका कारण उनीहरुलाई चिढ्याउन नहुने धारणा राखे ।

सांसद सुजिता शाक्यले गुठीको समस्या समान्य रुपमा नसुल्झिने भएकाले सबै पक्षलाई छलफल गरेर अघि बढ्न आग्रह गरिन् । ‘गुठी सामान्य तरिकाले सुल्झिदैन । जकडिएको छ । यसलाई जनभावनाको कदर गरेर अघि बढ्नुपर्छ । आन्दोलन स्थगित गरेर छलफल गरौँ, शाक्यले भनिन् ।

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्