गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब १३ करोडको बजेट (पूर्ण पाठसहित)

गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ बजेट प्रस्तुत गर्दै/ तस्बिर: देश सञ्चार।

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

केन्द्रीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोत गरी प्रदेश सरकारले उक्त बजेट प्रस्तुत गरेको हो।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार, पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजन गरिएको जानकारी दिए। ६२ प्रतिशत पुँजीगत, ३८ प्रतिशत चालु खर्च हुने गरी बजेटको बाँडफाँट गरिएको छ।

संघीय सरकारबाट प्रदेशले पाउने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २२ लाख, सशर्त अनुदान ५ अर्ब ३५ करोड १६ लाख, समपुरक अनुदान ७५ करोड, विशेष अनुदान ७५ करोड र राजस्व बाँडफाँडबाट ७ अर्ब ७० करोड ५१ लाख प्राप्त हुने अपेक्षा छ।

आन्तरिक राजस्वबाट ३ अर्ब २७ करोड ७५ लाख र आन्तरिक ऋणबाट ९८ करोड ८३ लाख ९२ हजार उठाउने लक्ष्य छ। आन्तरिक ऋणबाट अपुग हुने १ अर्ब नेपाल सरकारबाट ऋण लिइने अर्थमन्त्री गुरुङले जानकारी दिए।

सांसदलाई २ करोड, समानुपातिक सांसदलाई छैन

गण्डकी प्रदेश सरकारले आगामी आवको बजेटमा प्रदेशका ३६ निर्वाचन क्षेत्रका सांसदलाई बजेट दिने भएको छ। २ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड विनियोजन गरेको हो। बजेट वक्तव्यमा समानुपातिक सांसदका लागि उल्लेख गरिएको छैन। रकम खर्चिनका लागि कार्यविधि तयार भइनसकेकाले खर्चको पद्दति के हुने टुंगो लागिसकेको छैन।

प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नै सांसदहरुलाई पूर्वाधार विकासमा जोड्न उक्त कार्यक्रम ल्याइने उल्लेख गरेको थियो। सरकारले प्रदेशका गौरवका आयोजनाका रुपमा प्राथमिकीकरण गरेको पोखरा चक्रपथ र पोखरा भिमाद, दुम्कीवास द्रुतमार्ग निर्माण, शालिग्राम सांस्कृतिक करिडोरलाई दुई खण्डमा निर्माण गर्ने गरी ११ करोड रुपैयाँ विनियोजन भएको छ।

हेर्नुहोस् पूर्ण पाठ

असार १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्