संरक्षणमा समर्पण

जसको नामबाट सामुदायिक वनको नाम राखियो

सूर्यबहादुर श्रेष्ठ

दाङ– १० वर्षसम्म फरेस्टरको रुपमा काम गरेका सूर्यबहादुर श्रेष्ठ आफ्नै गाउँ गढवा गाउँपालिका वडा नं. १ मलमला फर्किए । गाउँ छेउमा जंगल । तर, जंगलको हैसियत दिनप्रतिदिन बिग्रदैँ जान थाल्यो ।

जथाभावी रुख फडानी हुन थालेपछि सूर्यबहादुर निकै चिन्तित बने । अनि २०४४ सालबाट जंगलको संरक्षण गर्न थाले ।

गाउँका मानिसहरु जम्मा गरेर वन संरक्षण समूह बनाए । २०४९ सालमा सामुदायिक वन उपभोक्ता समूह बनाए । जिल्ला वन कार्यालयमा २०५२ सालमा सामुदायिक वनको रुपमा दर्ता गरियो । दर्ता गर्दा १२ हेक्टर मात्रै वन थियो ।

अहिले यो वनको क्षेत्रफल चार सय ६५ दशमलव ५ हेक्टर पुगेको छ ।

सूर्य सामुदायिक वन

दिनप्रतिदिन नासिदै गएको वनलाई पुनः हराभरा बनाउने काममा सक्रिय रहेका सूर्यबहादुर श्रेष्ठलाई उपभोक्ताहरुको तर्फबाट एउटा प्रस्ताव आयो । जसले गाउँमा वन संरक्षणको अभियान चलायो त्यही व्यक्तीको नामबाट सामुदायिक वनको नाम राख्ने ।

यो प्रस्तावमा सहमति जुट्यो र सामुदायिक वनको नाम सूर्य सामुदायिक वन उपभोक्ता समूह भनेर राखियो । अहिले पनि यो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा तिनै सूर्यबहादुर श्रेष्ठ छन् ।

१० वर्षे द्वन्द्वको समयमा श्रेष्ठले धेरै सास्ती भोगे । वन भित्र तस्कर पस्ने र सालका रुख काट्न थालेपछि वन संरक्षणमा चुनौति थपियो । श्रेष्ठले वन तस्करलाई हतियारसहित पक्रन सफल भए ।

‘वन संरक्षण गर्दा धेरै आरोह, अवरोध भोगियो । ज्यान मार्ने, घर जलाईदिने धम्की आयो । तर, म विचलित भएन’ श्रेष्ठले भने–‘समस्याले भागेको भए अहिले यो वन यस्तो अवस्थामा आईपुग्दैनथ्यो । उपभोक्ताको एकताको कारणले नै वनको हैसियत बढाउन सफल भएका छौँ ।’

काठ तस्कारको प्रभावमा परेर संरक्षणकर्मी श्रेष्ठलाई विभिन्न आरोप लाग्यो । वन समूहको अध्यक्ष अरुलाई नै बनाए ।

तर, वन झन बिग्रदैँ गयो । जिल्ला वन कार्यालयले अनुसन्धान गर्दा श्रेष्ठ निर्दाेष देखिए । पछि वन समूहका उपभोक्ताले पुनः श्रेष्ठलाई सामुदायिक वन संरक्षणको जिम्मेवारी सुम्पिए ।

अहिले यो वनमा वैज्ञानीक वन व्यवस्थापन, बहुउद्देश्यीय संरक्षण पोखरी निर्माणको लागि डिभिजन वन कार्यालयले कार्यक्रम सञ्चालन गरेको छ ।

वन भित्र तीन ओटा वनपथ, एक ओटा अग्निपथ बनाइएको छ ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू