दामासाहीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगारी

रोजगार कार्यक्रमका लागि फारम भर्दै । तस्बिर : राजन राव/हुम्ला

हुम्ला, सिमकोट – प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फारम भरेका मध्य तीन प्रतिशतले मात्र उक्त रोजगारी पाउने भएका छन् । केन्द्रबाट चालु आर्थिक वर्षका लागि तोकेर रोगजारी दिन भन्ने आदेश आएपछि गाउँपालिकाले पनि सबै वडालाई दामासयी बाँडेर यसको टुंगो लगाएको छ ।

पूर्व सूचनामा चार हजार सात सय १३ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सिमकोट गाउँपालिकाबाट फारम भरेका थिए । तर, कार्यक्रमको केन्द्रबाट अहिले अन्तमा आएर १६१ जना मात्र छान्नु भन्ने आदेश आएपछि पालिकाले पनि सबैतिर समावेशी र चित्त बुझाउन दामासाही भाग लगाइएको रोजगार संयोजक हर्क शाहीले बताए । यसबाट कार्यक्रमका लागि जति हल्ला गरिएको थियो, त्यस अनुसार उपलब्धी छनौट मै देखिएको छैन ।

रोजगार पाउने भनेर निक्कैले फारम भरे पनि अन्तमा एक वडाले बीस जना मात्र छान्दा बाँकी सबै जिल्लिए पछि प्रधानमन्त्री रोजगार कार्यक्रम पनि हात्ती आयो हात्ती आयो फुस्स भने झैँ भएको सेवाग्राहीले बताउन थालेका छन् । सिमकोट गाउँपालिकाका आठ वटै वडाले पनि आफ्नै तजबिजीमा बीस जना छनौट गरेका कारण विरोध सुरु भएकोे संयोजक शाहीले बताए । हालसम्म वडा नम्बर एकको योजना छनौट भए पनि बाँकीको भएको छैन । योजना छनौट नभए पछि लागत अनुमान बन्ने कुरै भएन ।

सिमकोट गाउँपालिकाका लागि २५ लाख ९० हजार बजेट आएको छ । एक वडाले तीन लाख २३ हजार ७५० रुपियाँको योजना निर्माण गर्नु पर्ने भए पनि असार महिना लागि सक्दा पनि काम सुरु नहुँदा यो काम के हुने हो भन्ने आशंका पैदा भएको छ ।

कामका लागि पारिश्रमिक भन्ने यो कार्यक्रमबाट प्रतिदिन कामदारले पाँच सय सत्र रुपैयाँ पाउने छन् भने ३१ दिन काम गर्नु पर्नेछ । छनौट भएका कामदारहरुलाई अभिमुखीकरण पनि दिई सकिएको पालिकाले जनाएको छ ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्