गण्डकी प्रदेशका कर्मचारीले तलबी बिदामा घुम्न पाउने

पोखरा – गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्षको रुपमा मनाइरहेको छ । यस वर्षमात्रै १० लाख आन्तरिक पर्यटन प्रदेशमा भित्र्याउने लक्ष्य सरकारको हो ।

त्यसै सन्दर्भमा आन्तरिक पर्यटनलाई बढावा दिन आगामी आर्थिक वर्षको बजेटमा समेत गण्डकी प्रदेशले आफ्ना कर्मचारीलाई तलबी बिदा दिएर घुम्न पठाउने योजना ल्याएको छ ।

विज्ञापन

आन्तरिक पर्यटनको प्रवद्र्धन र घुम्ने परिपाटीको विकास गर्न सरकारले यस्तो कार्यक्रम ल्याएको हो।

प्रदेशबाट प्रवद्र्धन गरिएका होमस्टे भएका गाउँहरु घुम्न र होमस्टेमै बस्न प्रेरित गर्ने सरकारको उद्देश्य छ । होमस्टे पुगेर त्यसको बिल पेस गरेपछि सरकारले भ्रमण बिदा र बिदा अवधिको तलब उपलब्ध गराउने भएको हो ।

‘यस किसिमको सुविधा प्रदेश सरकारबाट स्वीकृत कार्यविधिबाट सञ्चालन गर्न बजेटको व्यवस्था मिलाएको छु’ अर्थमन्त्री किरण गुरुङले भने ।
बिदाको प्रकृति कस्तो निर्धाराण गर्ने भन्ने कार्यविधिले टुंगो लगाउनेछ ।

नेपाल सरकारबाट निजामती कर्मचारीका लागि घोषणा गरिएको तलब वृद्धि दरमा एकरूपता हुने गरी प्रदेश सरकारमा कार्यरत कर्मचारीको तलव वृद्धि समायोजन गरिने पनि अर्थमन्त्रीले सुनाए ।

उनले भने, ‘प्रदेश सरकारको तहगत संरचना अनुसार तलब स्केल कायम गरिनेछ । साथै, प्रदेश सरकारले गठन गरेका नयाँ संरचना अनुसारका पदहरूमा पदपूर्ति गर्ने व्यवस्था मिलाएको छु ।’

यो सुविधा प्रदेश सरकारका कर्मचारीका लागि उपलब्ध हुनेछ ।

आगामी आर्थिक वर्षलाई छिमेकी आकर्षण भ्रमण वर्षको रुपमा मनाउन सरकारले एक करोड रुपैयाँ विनियोजन समेत गरेको छ ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू