‘ब्ल्याकआउट’ ले प्रभावित अर्जेन्टिना र उरुग्वेमा विद्युत आपूर्ति पुनः स्थापित हुँदै

बृहतस्तरमा भएको विद्युतीय कमजोरीका कारण अर्जेन्टिना तथा उरुग्वेसहितका दक्षिण अमेरिकी देशमा अवरुद्ध भएको विद्युत आपूर्ति सुचारु हुन थालेको छ । अर्जेन्टिना र उरुग्वेका अधिकांश क्षेत्रमा विद्युत सेवा पुनः स्थापित भएको छ ।

बृहतस्तरको ‘इलेक्ट्रिकल फेलियर’ का कारण दशौँलाख मानिस अन्धाकारमा बस्न बाध्य भएका थिए । अर्जेन्टिनाका राष्ट्रपति माउसिरिओ माक्रीले कमजारी कहाँ भएको भन्ने बारे पूर्ण अनुसन्धान हुने प्रतिबद्धता जनाएका छन् ।

नेपाली समय अनुसार आइतबार दिउँसो पौने चार बजेपछि विद्युत आपूर्ति बन्द भएको अर्जेन्टिनाका सञ्चारमाध्यमले जनाएका छन् । जसका कारण रेल सेवा प्रभावित भयो र ट्राफिक सिग्नलमा पनि समस्या आयो ।

अर्जेन्टिना र उरुग्वेमा विद्युत आपूर्ति गर्दै आएको इलेक्ट्रिकल ग्रिडमा समस्या आएका कारण ‘ब्ल्याकआउट’ भएको हो ।

अर्जेन्टिनामा स्थानीय चुनावको मतदानको तयारी भइरहेका बेला विद्युत आपूर्ति बन्द भएको हो ।

ब्ल्याकआउटका कारण पाराग्वे र चिलेका केही क्षेत्रमा पनि प्रभाव परेको छ ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्