निशानामा भारतका ज्वाईँ, पाकिस्तानका खेलाडी शोएब मलिक

जारी विश्वकप क्रिकेट अन्तर्गत भारतसँगको खेलमा पाकिस्तान ८९ रनले पराजित भएपछि पाकिस्तानी टिमको आलोचना भइरहेको छ । पाकिस्तानमा ट्वीटरमा समर्थकहरुले टिम र खेलाडीको आलोचना गरिरहेका छन् ।

सबै भन्दा बढी शोएब मलिकको आलोचना भइरहेको छ, जो भारतीय टेनिस स्टार सानिया मिर्जाका पति हुन् । कोहीले उनलाई भारतीय भनेका छन् भने कसैले उनको मजाक उडाएका छन् । ट्वीटरमा सानिया मिर्जासहितको भिडियो तीव्र रुपमा शेयर भइरहेको जसमा एक व्यक्तिले चुरोटा तानिरहेका छन् ।

आइतबार म्यानचेस्टरमा भएको खेलमा रनको खाता नै नखोली आउट भएका थिए । उनलाई भारतका हार्दिक पाण्डेयले बोल्ड गरेका थिए । यसअघिका दुई खेलमा पनि शोएबले राम्रो गर्न सकेका थिएनन् ।

पाकिस्तानी टिमका पूर्व कप्तान मलिकको यो अन्तिम अन्तर्राष्ट्रिय खेल रहेको भन्नेहरु पनि छन् । शोएबले जारी विश्वकप क्रिकेटमा तीन खेलमा मात्रै ८ रन बनाएका छन् ।

उनले इंग्ल्याण्डसँगको खेलमा ८ रन बनाएका थिए । अस्ट्रेलिया र भारतसँगको खेलमा भने उनले रनको खाता नै खोल्न सकेनन् । मलिकले यसअघि नै विश्वकपपछि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताइसकेका छन् । शोएबले पछिल्ला ३० एक दिवसीय क्रिकेटमा मात्रै तीन अर्धशतक बनाएका छन् । सन् २०१८ को सुरुदेखि अहिलेसम्म उनले मात्रै ६०८ रन बनाएका छन् ।

यसको अर्थ उनले टिमलाई खासै केही योगदान दिन सकेका छैनन् । शोएब अहिले टिमका लागि बोझ जस्तै बनेको पाकिस्तानका खेल पत्रकारको भनाई छ । आउँदा खेलमा शोएब मलिकको स्थानमा आसिफ अलीले खेल्न सक्ने सम्भावना छ ।

मलिकले कुल २८७ एक दिवसीय क्रिकेटमा सात हजार ५३४ रन बनाएका छन् । सन् १९९० को दशकमा क्रिकेट खेल्न सुरु गरेका मलिक अहिलेसम्म सक्रिय छन् । मलिकले सन् २०१५ मै टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू