हातको औँला र पैतालामा हुने खिल कसरी हटाउने?

खिललाई अंग्रेजीमा (कोर्न) भनिन्छ। यो मकैबाट लिएको शब्द हो। यसलाई हामी यस रोगको नामको लागि प्रयोग गर्दछौँ। मकैको दाना हेर्दा बाहिरबाट कडा देखिए पनि भित्रबाट नरम हुन्छ। गाँउघरमा पैतालामा काँडा बिझ्यो र निस्केन जरा भित्र नै रहिरह्यो भने पछि खिल हुन्छ भनेर भन्ने गरिन्छ।

खिल पैताला वा हत्केलामा हुने गर्छ। समान्यतया कोर्न (खिल) त्यस ठाँउमा देखिन्छ जहाँ दबाब (फ्रिक्सन) बढी हुन्छ। कुनै एक भागमा बराबर घर्षण र दबाब परेमा त्यहाँको छाला मृत हुन्छ र त्यस भागको मृत छाला बाक्लो तहमा परिणत भई कडा किसिमको गाँठोको रुप लिन्छ। यो प्रायः गरी खुट्टाको औँला, पैताला, हत्केला र हातका औँलाहरुमा पनि देखिन्छ।

खिल जसलाई कोर्न भनिन्छ, यो कुनै दुख्ने हुन्छ भने कुनै नदुख्ने हुन्छ। खिल जसलाई पनि हुन सक्छ, महिला, पुरुष, बालबालिका, वृद्ध–वृद्धालाई समेत देखा पर्न सक्छ। यसमा कुनै उमेरको बन्देज हुँदैन।

सामान्यतः धेरै पैदल हिँड्ने दुब्लो, पातलो मानिसहरुमा खिलको समस्या बढी देखिने गर्दछ। किन भने उनीहरुको पैतालामा बोसो कम हुने गर्छ। खिल कहिले काही शारीरिक तौल बढी भएका मानिसहरुमा समेत देखा पर्ने गर्दछ। किनभने तौल धेरै भएका मानिसहरु हिँड्दा पैतालामा बढी दबाब पर्ने गर्छ। यस बाहेक पनि जस्तै लामो समयसम्म उभिएर काम गर्ने व्यक्ति, मजदुरी गर्ने मजदुर, कपडा कटिङ् गर्ने मास्टर, गिटारिष्ट, बोक्सर, हाईहिल भएको सेन्डिल, जुत्ता वा बेसाईजको जुत्ता लगाउने महिला, मोजा बिनाको जुता, प्लाष्टिकको कडाखालको चप्पल, खुट्टामा पसिना बढि आउने जस्ता व्यक्तिलाई पनि कोर्न हुन सक्छ। यसमा पनि अझ बढी डायबिटिज भएका व्यक्तिलाई हुने सम्भावना धेरै हुन्छ।

पहिचान कसरी गर्नेः खुट्टाको पैताला र हातको  छालामा मोटो गाठो र खस्रोपन देखिन्छ, जसको बिच भागमा डटपेनको टुप्पोले थीच्दा दुखाई महशुस हुन्छ भने त्यो खिल हो भन्ने बुझ्नु पर्दछ।

प्रकारः मुख्यत खिल तीन प्रकारका हुन्छन्

–कडा खालको खिलः जुन हेर्दा सानो देखिन्छ। यसको बिचमा कालो टिका जस्तो चिन्ह देखिन्छ। जसमा डेड स्किन उठेको हुन्छ ।

–सोफ्ट (नरम) खालको खिलः जुन हेर्दा सेतो रबरको जस्तो पातलो तहको हुन्छ।

–सिड खिलः यो हेर्दा सा–साना खिलको समुह हुन्छ । यो धेरैजसो हिलमा देखिन्छ।

लक्षणः हातका औँला या खुट्टाको पैतालामा कडा गोलो खस्रो किसिमको मोटो सेतो रगंको मृत छालाको गुच्छा एक ठाउँमा जम्मा हुनु खिलको लक्षण हो। खिल भएको ठाउँमा कडा खालको गाठो हुन्छ। हिँड्दा पेतालामा दुख्ने गर्दछ। खुट्टा टेक्दा समेत पिडा हुन्छ। हिडडुल गर्न गाह्रो हुन्छ। परिवर्तित तापक्रम खासगरी चिसो र ओसिलोपना असहनिय दुखाईको कारण बन्दछ।

सल्लाहः हाई हिल भएको सेन्डिल र जुता न लगाऊने

मोजा बिनाको जुत्ता न लगाउने

लगातार लामोसमय सम्म एकै ठाउँमा उभिएर काम नगर्ने

खुट्टाको नाप अनुसार सहज हुने खालको जुत्ता लगाऊने

खुट्टाको सर सफाईमा विशेष ध्यान दिने ।

उपचारः खिलको उपचारमा प्रायः के देखिन्छ भने बाक्लो छालाको मृत तहलाई काटने गरिन्छ भने कोही बजारमा पाइने कर्नटेप समेत लगाउने गरेको पाइन्छ। शल्यक्रिया गरेर पनि खिल निकाल्न सकिन्छ। यस्ता विभिन्न विधिद्वारा खिललाई निकाल्न सकिन्छ। तर यसको आफ्नै दुष्प्रभाव पनि देखिन्छ। जस्तै उपचार गरेको केही समय पश्चात फेरि खिल देखा पर्न थाल्दछ।

तर उपचार पश्चात पनि उक्त ठाउँमा दाग देखिएको खण्डमा होमियोप्याथिक चिकित्सामा यसको उपचार सम्भव छ। होमियोप्याथिक उपचार द्वारा उपचार पछि खिल पुनः बल्झिने संभावना नरहनुका साथै हातकेला वा पैतालाको छालामा दाग समेत देखा नपर्ने हुन्छ। सबै भन्दा पहिला खिल कुन ठाउँमा छ? कस्तो छ? कडा वा नरम छ। दुखाई वा दुखाई रहित छ भन्ने कुरा थाहा पाउन अत्यन्तै जरुरी हुन्छ।

यस्ता कुराका साथसाथै रोगीको मानसिक एवं शारीरिक लक्षणको आधारमा प्रयोग गरिने केहि औषधिहरु यस्ता रहेका छन्। जसको प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चकित्सकको सल्लाह अनुसार प्रयोग गर्नु उचित हुने छ। स–थुजा, एन्टिमक्रुड, साईलिसिया, रेनन कूलस, फेरम पिक्रिकम, कालिआर्स, कल्केरिया फ्लोर, फाईट्टोलेक्का, कल्केरिया कार्ब, पेट्रोलियम, आर्निका, रुटाग्राव आदि औषधिहरु रहेका छन्।

(डा. ललितकुमार मिश्र होमियोप्याथिक कन्सलटेन्ट हुन्)

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्