कुलेखानीमा पौडी खेल्दा बेपत्ता विद्यार्थी २६ घन्टापछि मृत फेला

सांकेतिक तस्बिर

काठमाडौं- मकवानपुरको कुलेखानी क्षेत्रमा शैक्षिक भ्रमणमा गएको राजधानीको एक कलेजका विद्यार्थी बेपत्ता भएको २६ घन्टापछि मृत फेला परेका छन्। प्रहरीले २४ वर्षीय सुरज भेटवालको शव सोमबार अपरान्ह ४ बजे फेला पारेको हो।

उनी आइतबार मार्खुस्थित इन्द्रसरोबर तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। भेटवाल राजधानीको बौद्धस्थित जेभियर इन्टरनेशनल कलेजमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिए। तेह्रथुम घर भएका सुरज काठमाडौंको अनामनगरमा परिवारसँग बस्दै आएका थिए। परिवारका दुई सन्तान (छोरा)मध्ये उनी कान्छा हुन्।

जेभियर इन्टरने‍सनलको टोली २९ जना विद्यार्थी र दुई जना शिक्षकसहित जेठ ३० गते शैक्षिक भ्रमणमा निस्किएको थियो। तीमध्ये १२ छात्रा र १७ छात्र थिए। चित्लाङबाट काठमाडौं फर्कनेक्रममा ताल देखेपछि विद्यार्थी ओ‌र्लिएर रमाइलो गर्न थालेका थिए।  ‘केटीहरु फोटो खिच्न थाले। केटाहरु पौडी खेल्न गएछन्’, भ्रमणमा गएका शिक्षकको भनाइ उद्धृत गर्दै पालुङ इलाका प्रहरी कार्यालयका प्रमुख लोकबहादुर गुरुङले भने।

भेटवाल आफ्ना अन्य पाँच जना साथीहरु लिएर पौडी खेल्न निस्किएका थिए। तालको एक छेउबाट वारिपारि गर्नेक्रममा भेटवाल फर्कँदा बेपत्ता भएका थिए।

कुलेखानी जलबिद्युत आयोजनाको लागि बनाइएको ड्यामका कारण बनेको इन्द्र सरोबर तालको लम्बाइ ७ किलोमिटर र चौडाइ साढे तीन सय मिटर छ।

मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले कुरिनटारबाट आएको सशस्त्र प्रहरी बल-एपीएफको प्रहरी निरीक्षक नेतृत्वको गोताखोर टोलीले भेटवालको शव फेला पारेको जानकारी दिए। प्रहरीले भेटवाल हराएकै स्थानमा उनको शव भेटिएको जनाएको छ। प्रहरी निरीक्षक गुरुङले पोष्टमार्टमका लागि शव पठाउने तयारी भइरहेको बताए।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्