वेष्ट इन्डिजले बंगलादेशलाई दियो ३ सय २२ रनको लक्ष्य, होप सतकबाट ४ रनले चुके

लन्डन- इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत अहिले जारी लिग चरणको खेलमा वेष्ट इन्डिजले बंगलादेशलाई तीन सय २२ रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय २१ रन जोड्यो।

वेष्ट इन्डिजका साई होपले ९६ रन बनाए। एर्विन लेविसले ७० र सिमरन  हेटमेयरले ५० रन जोडे। होप र लेविसले दोस्रो विकेटका लागि एक सय १६ रनको साझेदारी गरेको थियो। तेस्रो नम्बरमा ब्याटिङमा आएका विकेटकिपर होप सातौँ विकेटका रुपमा मुस्ताफिजुर रहमानको बलमा आउट भए।

वेष्ट इन्डिजका कप्तान जेसन होल्डरले पनि ३३ रन जोडे। विस्फोटक ब्याट्सम्यान क्रिस गेलले १३ बल खेलेपनि खाता खोल्न सकेनन्। वेष्ट इन्डिज र बंगलादेश दुवैको चार खेलबाट समान तीन अंक छ।

 

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्