अझै सुल्झिएन त्रिवि सेवा आयोगको विवादित परीक्षाको गाँठो

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी नियुक्तिका लागि लिएको परीक्षामा धाँधली भएको र पदाधिकारीहरुले आफ्ना आफन्तहरुलाई उतीर्ण गराएको आरोप लगाउँदै विद्यार्थी तथा शिक्षक आन्दोलनमा छन्।

गत जेठ ६ गतेदेखि सञ्चालित अखिल क्रान्तिकारीेको अनिश्चितकालीन रिले अनसन २९ औँ दिनसम्म पनि जारी छ। उनीहरुले सोमबार सेवा आयोगको मूल गेटमा तालाबन्दी गरेका छन्। आन्दोलनकारीले सेवा आयोगका कर्मचारीलाई कार्यालय भित्र जानबाट समेत रोक लगाएका छन्।

रिले अनसनमा अखिल क्रान्तिकारी, अखिल नेपाल विद्यार्थी यूनियन, प्रगतिशील कानुन व्यवसायी एशोसियसन नेपाल, नेवाः राष्ट्रिय मुक्तिमोर्चा नेपाल र ब्रिटिश गोर्खा सैनिक संगठनले ऐक्यबद्धता जनाएका छन्।रिले अनसनको कुनै प्रभाव परेको देखिन्न सेवा आयोग माथि। त्यसैले थप दबाब दिनका लागि कर्मचारीलाई भित्र जानबाट रोक लगाएर लेक्चरको अन्तवार्ता रोकिएको अखिल क्रान्तिकारीका संघर्ष दाहालले बताए।

उनले भने, ‘सेवा आयोग राजनीतिक चेतना र राजनीतिक विचारधाराबाट निर्देशित भएको देखिन्छ।’ त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको विचारधाराबाट निदेर्शित भएको बताए।

‘उनीहरु गुटमा रहेर नेकपा एमालेमा राजनीति गरेको र सेवा आयोगको अध्यक्ष चैतन्य शर्मालाई बनाएको हो।’ शर्मा त्रिविको उपकुलपति बन्ने लाइनमा रहेको उनले आरोप छ।

संघर्ष दाहाल।

सेवा आयोगले माग पूरा गर्न नसक्नु एउटा पाटो भएकाे तर उनीहरु यसतर्फ अग्रसर नै नभएको दाहालकाे आराेप छ। उनले २९ औँ दिनसम्म रिले अनसनमा बस्दा पनि आयाेगकाे तर्फबाट वार्ताका लागि काेही नआएको र औपचारिक वार्ताका लागि पहल नभएपछि आन्दोलनको स्वरुप नै परिवर्तन गर्ने उनको भनाई छ।

‘आन्दोलन के होला? कस्तो होला? हामीलाई थाहा छैन। तर उनीहरु जसरी हामीसँग पेश हुन आउँछन्। त्यसरी नै जवाफ दिन्छौँ’, उनले भने।

रमेशमान महर्जन।

यस्तै त्रिविले लिएको परीक्षामा नातावाद, कृपावाद र भष्ट्राचार भएको रमेशमान महर्जनले दाबी गरे। यस्तो नातावाद प्रवृतिलाई खारेज गर्नुपर्ने उनको माग रहेको छ। परिक्षामा अनियमितता भएको र आफ्ना आफ्न्तलाई पास गरेको कीर्तिपुरका स्थानीय समेत रहेका महर्जनको आरोप छ।

उनले भने,‘कीर्तिपुरका बासिन्दाले १० देखि १२ प्रतिशतले खुल्लामा आउनुपर्थ्याे तर त्यो पनि भएको छैन। कीर्तिपुरका लागि कोटा पनि छुट्याइएकाे छ। जसरी पनि यो परीक्षा खारेज गर्नुपर्छ र निष्पक्ष रुपमा परिक्षा लिनुपर्छ।’

यस्तै अन्तर्वार्ताका लागि धरानबाट आएका परीक्षार्थी रोहित दंगालले सेवा आयोगबाट कुनै सूचना नपाउँदा अलपत्र परेको बताए।
अहिलेसम्म सेवा आयोगबाट कुनै सूचना प्राप्त नभएको उनको भनाई छ।

राेहित दंगाल।

उनले भने, ‘सेवा आयोगका अध्यक्षलाई फोन गर्दा पनि उठेन। कार्यकारी प्रमुखहरुको जिम्मेवारी के हो? हामी १ बजेको अन्तर्वार्ताका लागि पर्र्खिरहेका थियौँ। तर त्यसको कुनै जानकारी आएको छैन। ‘फिजिक्सको लिखित परिक्षाका दिन २३ जना परीक्षार्थी थियौँ। १५ जनाको हिजो अन्र्तवार्ता सकियो भने नौँ जना बाँकी राखिए। म लगायत, विराटनगरका १, भद्रपुरका १, पाल्पाका १, र बाँकीँ काठमाडौँका रहेको छन्’, उनले भने।

फिजिक्समा १८ जनाको दरबन्दी हुने तर त्रिविले ४ वटा मात्र खोलेको विद्यार्थीहरुले बताए। १४ दरबन्दी कसका लागि राखेको र किन राखेको भन्दै परीक्षार्थीहरुले आक्रोश व्यक्त गरे।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्