राधेश्याम अधिकारीको त्यो फोन जसले गुठी विधेयकविरुद्ध आन्दोलन जगायो

काठमाडौँ – राष्ट्रियसभामा विचाराधीन रहेको ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५’ ले यति बेला राष्ट्रिय राजनीति नै तरंगित भएको छ। विधेयकको पक्ष र विपक्षमा सडकदेखि संसदसम्म चर्को बहस भइरहेको छ।

काठमाडौँ उपत्यकाका नेवार समुदायले विधेयकविरुद्ध थालेको आन्दोलन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयकलाई राजनीतिक मुद्दा बनाएपछि सरकार रक्षात्मक बन्न पुगेको छ।

विज्ञापन

उता विधेयकको पक्षमा विस्तारै भोजपुरदेखि कैलालीसम्मका पीडित किसान पनि जागरुक हुँदै गइरहेका छन्। उनीहरु पनि सडक आन्दोलनको तयारीमा जुटेका छन् ।

आइतबार युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विधेयकमा कमी कमजोरी भए सच्याउन सरकार तयार रहेको बताउँदै चर्किएको आन्दोलनलाई मत्थर पार्ने कोसिस गरे । तर प्रधानमन्त्रीको अभिव्यक्तिले मात्र आन्दोलन मत्थर हुने नदेखेपछि सोमबार बिहानैदेनि उनी विभिन्न पक्षसँग छलफलमा जुटेका छन् ।

सोमबार दिउँसो नेकपाबाट उपत्यकाका तीन जिल्लामा निर्वाचित संघीय सांसद, प्रदेशसभा सदस्य, मेयर, उपमेयर र वडाअध्यक्षसँग विधेयकबारे छलफल गर्दै ओलीले मन्त्रिपरिषदबाट निर्णय लिने आश्वासन दिएका छन् ।

कसरी सुरु भयो विधेयक विरोधी आन्दोलन

वैशाख १७ गते भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रियसभा सचिवालयमा दर्ता गरेको विधेयकबारे एक महिनासम्म खासै चर्चा भएन ।

विधेयक दर्ता भएपछि देश सञ्चारसहित केही मिडियाले समाचार लेखे पनि सरोकारवाला पक्षले चासो दिएन । विधेयक राष्ट्रियसभा जेठ ६ गते पेश भयो र १३ गते सैद्धान्तिक छलफल सकेर संशोधन दर्ता गर्न सांसदहरुलाई ७२ घण्टे समय दिइयो ।

बाहिर चर्चा र बहस नहुँदा राष्ट्रियसभा सांसदहरु पनि विधेयक पढ्ने र छलफल गर्नेतर्फ लागेनन् । विधेयकमा जम्मा ६ वटा संशोधन पर्‍यो।

संशोधन दर्ता गर्ने क्रममा कांग्रेसबाट राष्ट्रियसभाका सदस्य एवं कानुनविद् राधेश्याम अधिकारीले धर्म, संस्कृति र परम्परासँग जोडिएको विषय भएकाले आफूलाई त्यति धेरै जानकारी नभएको भन्दै सम्पदा संरक्षणको अभियानमा जुट्दै आएका अधिवक्ता भरत जंगमलाई जेठ १४ गते बेलुका फोन गरे। अधिकारीले विधेयकमा संशोधन हाल्नु पर्ने विषय आफूलाई दिन आग्रह गरे ।

तर, जंगमले आफूलाई विधेयकबारे कुनै जानकारी नै नभएको जवाफ दिँदै अध्ययनका लागि विधेयक मगाए। अधिकारीको आग्रहअनुसार जंगमले हतार हतार अध्ययन गरेर केही दफामा संशोधन तयार पारेर पठाए ।

जंगमले पठाएको संशोधनमा केही थपघट गर्दै सांसद अधिकारीले जेठ १६ गते विधेयकमाथि संशोधन दर्ता गराए ।

विधेयकबारे छलफल गर्न आयोजना गरिएको एक कार्यक्रममा जंगमले भने, ‘मलाई अधिकारीजीले के के विषयमा संशोधन हाल्ने भनेर सोध्नुभयो ।तर त्यति बेलासम्म मैंले अध्ययन नै गरेको थिइन । तै पनि हतार हतार विधेयक हेरेर केही संशोधन पठाएको छु ।’

जंगमको हातमा विधेयक परेपछि उनले प्रस्तावनादेखि अन्तिम दफासँग गहिरो गरी अध्ययन गरेर निष्कर्ष निकाले : विधेयक गुठी परम्परा र धर्म संस्कृति विरुद्ध छ ।

नेपाल गुठी संरक्षण पुचःको आयोजनमा गुठी विधेयकमाथि द्धारिका होटलमा गरिएको छलफल । तस्विर : प्रकाश ढकाल

आफ्नो निष्कर्ष जंगमले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं नेपाल गुठी संरक्षण पुचःका अध्यक्ष केदारभक्त माथेमा, पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डन, लक्ष्मीबहादुर नियाले, पूर्वसचिव दीपक सापकोटालगायतका व्यक्तिलाई सुनाउँदै छिट्टै सामूहिक छलफल गर्ने प्रस्ताव गरे ।

जंगमकै प्रस्तावअनुसार नेपाल गुठी संरक्षण पुचःका अध्यक्ष माथेमाले जेठ १९ गते बत्तीस पुतलीको द्वारिका होटलमा विधेयकबारे छलफल गर्न पहिलो कार्यक्रम आयोजना गरे । कार्यक्रममा काठमाडौँ उत्यकाका विभिन्न गुठीका प्रतिनिधि, सम्पदाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरु र केही पत्रकार सहभागी थिए ।

कार्यक्रममा सम्पदाविद डा. टण्डनले नेपालमा गुठी प्रथाको सुरुवात, यसको विकास क्रम, विभिन्न शासकका पालामा आएको उतार चढावदेखि यसको महत्वका बारेमा एक घण्टा भन्दा बढी समय धारणा राखे।

उपस्थितमध्ये १२ जनाले धारणा राखेपछि भेलाले निष्कर्ष निकाल्यो : गुठी विधेयक सनातन धर्म, संस्कृति र परम्पराविरुद्ध भएकाले सशक्त आन्दोलन गर्ने ।

द्वारिका होटलको छलफलपछि गुठी पुचःका सदस्य र उपत्यकाका विभिन्न गुठीका गुठीयारहरु भित्रभित्रै आन्दोलनको तयारीमा जुटे । उनीहरुले गुठी विधेयकले नेवार समुदायको परम्परा र धर्म संस्कृतिलाई समाप्त पार्ने भन्दै प्रचार गरे । जसले सुसुप्त अवस्थामा रहेका उपत्यकाका नेवार समुदायको भवनामा ठेस पुग्यो ।

जेठ २६ गते माइतीघर मण्डलामा पहिलोपटक प्रदर्शन गरे । पहिलो दिनमै प्रर्दशनकारीमाथि प्रहरीले पानीको फोहोरा र लाठी चर्चा गरेर दमन गर्‍यो।प्रहरी दमनले आन्दोलन उछाल्न झन मद्दत गर्‍यो।

आफ्नो जन्मदेखि मरणसम्म जोडिएको गुठी जोगाउनुपर्छ भन्ने भावना नेवार समुदायमा झन्झन् गहिरिँदै र दिनदिनै आन्दोलनले आकार लिँदै गयो। अझ प्रतिपक्ष कांग्रेसले समेत विधेयकलाई राजनीतिक मुद्दा बनाएर सडकमा उत्रदा आन्दोलन झनै चर्कियो।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्