हिरासत बाहिर निस्केपछि प्रनेशको अनुभव

धन्यवाद मिलन चाम्स, तपाईँको झोँकले मलाई फेमस बनायो

धन्यवाद मिलन चाम्स, तपाईँको झोँकले मलाई फेमस बनायो

अहिले बल्ल हालखबर राम्रो भयो। गएको एक महिनामा जीवनमा धेरै चिज भयो।

८ दिनअगाडि रुन मन लागेको थियो, ६ दिन अगाडिबाट बिस्तारै कन्फिडेन्स आउन थाल्यो, तीन दिन अगाडिदेखि बल्ल हिम्मत आयो।

विज्ञापन

सुरु डरबाट भयो, मैले मिम नेपालको पेजबाट चलचित्रको समीक्षा गरेको भिडियो गलत भयो भन्दै जब मिलन चाम्सले प्रहरीमा उजुरी गर्ने निर्णय गरेको भिडियो युट्युबमा हेरेँ। त्यतिबेला म चितवनमा थिएँ, ममीलाई फोन गरेर भनेँ, ‘केही हैन ममी, हामी मिलाउँछौ, पीर नगर्नुस है।’ त्यो भिडियोमा भनिएको थियो, ‘फरार अभियुक्त।’भिडियो भाइरल हुँदै गएपछि डर लाग्न थाल्यो।

त्यसपछि वकिलहरुसँग सल्लाह भयो, ‘अवैध काम हैन, केही समस्या हुँदैन’ भन्ने प्रतिक्रिया आएपछि डर अलि कम भएकै हो। तर शुक्रबार जेठ २४ गते जब म हिरासतमा परेँ तब रुन मन लाग्यो तर म रोइन। मेरो हातलाई हतकडीमा बाँधिएको थियो, मेरो बाबा मेरो अवस्था टुलुटुलु हेर्दै बस्नुभएको थियो। सायद उहाँको हातमा केही थिएन।

शुक्रबार साँझ म भित्र छिरेँ, शनिबार साप्ताहिक बिदा र आइतबार भोटो देखाउने जात्रा। म बाहिर निस्कनलाई सोमबार कुर्नुको विकल्प थिएन। ६० घण्टा कहिले सकिएला जस्तो भएको थियो। साँझबिहान बाबालाई भेट्दा सोध्थेँ, ‘बाबा, सब कुरा मिल्या हो ?’ बाबाले टाउको हल्लाएर उत्तर दिँदा म आफैँलाई बलियो बनाउँदै थिएँ।

तेस्रो दिन, मिलापत्र हुन्छ भनेका थियौँ तर भएन, म छुट्टिनँ। अनि म बेस्सरी रोएँ। मैले तीन दिनसम्म रुन मन नलागी रोकिएको आँसु त्यो दिन नै पोख्खियो। म एकदमै कमजोर अनुभव गर्न थालेँ।

त्यसको तीनदिनपछि जब मेरो पक्षमा विरोध प्रदर्शन हुन लाग्यो, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मेरो कुरा आउन थाल्यो, पत्र पत्रिकामा मेरा समाचार आए, मलाई भेट्ने जत्तिले प्रेरणा दिन थालेपछि बल्ल सहज महसुस हुन थाल्यो। म आइतबार छुटेपछि आनन्द आयो। ‘ब्रेभहार्ट’ भन्ने चलचित्रको अन्तिम दृश्यमा ‘मेल गिप्सन’लाई मार्न लागेको बेलामा अन्तिम इच्छा सोध्दा उनी चिच्याउँछन्, ‘फ्रिडम’ । मेरो दिमागमा त्यही कुरा आएको थियो।

हिरासतभित्र हुँदासम्म मैले ममीको अनुहार हेर्नै सकिन। आँखामा आँसु रसाइहाल्थ्यो। छुटेपछि मैले ममीलाई खुसी भएर हेरेँ। हातमा हत्कडी लाग्दा ‘मैले अपराध गरेँ, मैले दुख पाएँ, मलाई अपराधी भने’ भनेर मेरा आँसु झरेका होइनन्। मैले बाबाममीको कति चित्त दुखाएँ, कति पीर लागिरहेको होला भन्ने कुराले मलाई पोल्थ्यो। ‘थुक्क ! कस्तो छोरा पाएछु, यस्तो दुख दियो’ भनेर सोच्नु भएको छ कि!

तर अलिकति पनि त्यस्तो भएको रहेनछ।

मेरो कामलाई उहाँहरुले राम्रै मान्नुहुन्थ्यो, मलाई ठ्याक्कै कुन बेलादेखि म कमेडीमा आकर्षित भएँ, थाहा छैन। मान्छे हँसाउन जस्तो खुसी म अरु मेरा कामहरुमा पाउँदिन। कसैको पर्फमेन्सबाट मान्छे हाँस्दाको अवस्थाको मलाई लोभ लाग्छ, खुसी लाग्छ। स्ट्याण्डअप कमेडीको माध्यमले डेढ वर्षदेखि मैले आफ्नो रहर पूरा गर्न पाइरहेको छु, यसलाई दोस्रो आम्दानीको स्रोत बनाएको छु। अझै धेरै गर्न बाँकी छ।

आमासँग प्रनेश।

म आफैँ पनि स्ट्याण्डअप कमेडीको फ्यान, बच्चैबाट हेर्दै आएको। जर्ज कार्लिन, बिलबर्ड लुइस सिकेहरु मेरा प्रेरणाका स्रोत हुन्। यसैक्रममा मिम नेपालसँग काम गर्ने अवसर पाए, मिम नेपालका मालिक पनि स्ट्याण्डअप कमेडियन नै हुन्। मिम नेपालको युट्युब च्यानलमा केही कन्टेन्टहरु राख्ने कुरा भयो। मैले पहिला आफ्नै च्यानलबाट ठट्याइलो पारामा अरु चलचित्रको समीक्षा गरेको थिएँ। मिम नेपालले गर्ने हो भनेर प्रस्ताव राख्नुभयो। मैले हुन्छ भनेर गरेँ, पहिलो अनुभव नै यस्तो भयो।

बुवासँग प्रनेश।

तर सोचिल्याउँदा जे भयो राम्रै भयो।

मैले यो घटनापछि धेरै कुरा सिक्न पाएँ, ‘आफूलाई कसरी अगाडि लैजाने’। कसरी अर्काको चित्त दुख्दैन, मान्छे हँसाउँदै गर्दा अरुको चित्त दुख्यो भने त्यो कमेडियन सफल हुँदैन। करियर बढाउनलाई सुत्र थाहा भयो।

अनि यतिका मानिसहरु मिलेर मेरो समर्थनमा आउनुभयो, यो ‘अभिव्यक्ति स्वतन्त्रता’ को पक्षमा भएको आन्दोलन हो। म माध्यम भएँ। जो जो मेरो पक्षमा बोल्नुभएको छ, उहाँहरुले मेरो भिडियो हँसाउने खालको छैन भनेर कमेन्ट गर्नु भएको छ तर म पक्राउ परेको घटनाको विरोध गर्नुभएको छ। यस हिसाबले पनि मैले ‘अभिव्यक्ति स्वतन्त्रता’ को संरक्षण गर्न र देशका अरु समस्याहरुको बारेमा पनि कसरी काम गर्ने भनेर जिम्मेवार अनुभव गराएको छ। अब त झन् मैले केही भनेँ भने धेरैले सुन्ने भएका छन्, त्यसैले मैले केही काम गर्नै पर्छ।

मैले अहिले नै थाहा पाए कति मानिसहरु मेरो पक्षमा रहेछन्। हुन त ‘अभिव्यक्ति स्वतन्त्रता’ कति महत्वपूर्ण हो समाज परिवर्तनको भन्ने कुरा सबैलाई थाहा छ। त्यसैले नै बोल्न खोज्दा रोक्ने मानिसहरुको विरोध भयो।

अनि, सबैप्रति आभारी छु कि २४ वर्षको यो ठिटोलाई बोलेकै आधारमा थुन्न हुन्न भनेर बाहिर निकाल्न आवाज उठाउने हरेकलाई धन्यवाद भन्न चाहन्छु।

सबैभन्दा धेरै धन्यवाद मिलन चाम्सज्यूलाई, उहाँको कारण म यति धेरै प्रख्यात भएँ। यति सानो कुरालाई यत्रो ठूलो बनाइदिनुभयो। मलाई लाग्छ उहाँले झोकमा यो निर्णय गर्नुभयो। मेरो ममीबाबाको आँसु देखेपछि उहाँ पनि क्षमाप्रार्थी हुनुभएको थियो। त्यो भन्दा पनि ठूलो पाठ मेरो लागि भयो।

हामी अब आआफ्नो बाटोमा हिँड्छौ, फेरि ठोक्किन सक्छौँ, आशा गरौँ, राम्रो तरिकाले ठोक्किऔँ। मलाई उहाँले पछि सहकार्य गर्ने भन्नुभएको छ, कुनै दिन भाइ यस्तो सहयोग चाहियो भन्नुभयो भने म कलाकारको हैसियतले ‘नाइँ’ भन्दिन। उहाँसँग सहयोग माग्नु परेको अवस्थामा पछि पर्दिन। यो मात्र एउटा मुद्दा हो, बाँकी त हामी मानवीय नाताले पनि परेको बेलामा सहकार्य गर्नुपर्छ, अहिलेलाई यो विवादको सेफ ल्याण्डिङ भइसकेको छ।

भिडियोमा केही ‘सिल्ली कम्प्यारिजन’ गरिएको छ। नाजिर हुसेनलाई अशोक दर्जी देखाइएको छ, सरिता गिरीलाई निकिता चाण्डक भनिएको छ। यो उहाँको वर्ण मिल्दोजुल्दो भनेर जोक गरिएको हो। मैले रंगभेद गर्ने नियतले त्यो गरेको होइन, उहाँको वर्णलाई लिएर केही कुरा चलिरहेको छ भन्ने थाहा भएपछि उहाँले मन पर्दैन भनेको कुराबाट म अन्जान थिए। मैले कालो राम्रो हुँदैन भनेको हैन। मैले नजानेर गरेकाले मलाई ग्लानि छ तर त्यसलाई रंगभेद भनेर व्याख्या गर्दा चित्त बुझ्दैन।

सोमबार मिलापत्र नभएपछि म फेरि हिरासतमा गए, त्यहाँ १ सय ९ जना भन्दा धेरै थुनुवा थिए। मलाई हँसाउन, गीत गाउन लगाइयो। म गएँ, गरेँ । पहिलो दिन गरेँ, उहाँहरु हाँस्नुभयो, दोस्रो दिन पनि गर्नुपर्‍यो, तेस्रो दिन पनि गर्नुपर्‍यो। मैले नाइँ भन्न सक्ने अवस्था थिएन, त्यो गर्न खुसी थिइनँ। तर त्यो घोक्राएर लगाइएको काम थिएन, परिस्थिति त्यस्तो बनेको थियो।

खाना रुचेन, ६० घण्टा त खाँदै खाइनँ। तर जब खाएँ, लाग्यो धेरै नभएपनि अलिकति राम्रो खाना खुवाए हुन्थ्यो। कस्टडीमा बसको केही दिन आफैँ भासिएको जस्तो हुँदो रहेछ, त्यो वातावरण थाहा थिएन। म छाँगाबाट खसेको जस्तो भएँ। छिनमै हारेँ, छिनमै अतालिएँ, कहीले मन भतभती पोल्यो, कहिले आशा पलायो, यस्तै यस्तै गरी १० दिन बित्यो र म घर आएँ।

जेठको १० पछि मेरो आत्मविश्वास, शक्ति, सिर्जनशीलता अनि गतिशीलता घट्दै घट्दै झरेर ० भएको थियो। तर बिस्तारै बढेर पहिलेकै ठाउँमा आइपुगेको छ। ‘सेल्फसेन्सरसीप’ गर्छु, म बचेर फेरि पनि भिडियो निकाल्छु । चाँडै नै मेरा भिडियो सार्वजनिक भएपछि यो कुरा पनि दर्शकले देख्न पाउनुहुनेछ।

म पनि सिक्दै छु, गल्ती पनि सिक्दै गर्दा हुने हो। अगाडि झन् धेरै धेरै भिडियो निकाल्छु। समीक्षा गर्छु, समसामयिक विषय र मुद्दामा काम गर्छु। सायद त्यसमा पनि गल्ती हुन सक्ला । तर म सिक्न छोड्दिन। यसमा त मेरो गल्ति थिएन, तर पनि अगाडि मैले भिडियो बनाउँदा ‘केस नहालियोस्’ भन्ने हो।

किनकि ‘अभिव्यक्ति स्वतन्त्रता’लाई कसैले रोक्न सक्दैन।

तस्बिर : बर्षा शाह

(यु्ट्युबर/कमेडियन प्रनेश गौतमसँग सुजाता खत्रीले लिएको अन्तर्वार्ता)

 

पूरा अन्तर्वार्ता यहाँ हेर्नुहोस्:

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू