मोरङमा जारी फुटबल लिगमा उर्लाबारी र सम्राट स्पोर्टिङ क्लब विजयी

मोरङ– उर्लाबारी फुटबल क्लब र सम्राट स्पोर्टिङ क्लबले मोरङमा जारी ए डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेका छन्।

लिग अन्तर्गत विराटनगरको रानी मिल्स एरियाको खेल मैदानमा सम्पन्न खेलमा उर्लाबारीले विराटनगरकै मुनाल क्लबलाई ९–२ गोलले पराजित गरेको छ।

एकपक्षीय खेलका क्रममा उर्लाबारीका टेक बहादुर लिम्बूले चार गोल गरेका थिए। लिम्बूले मुनालमाथि दबाब बनाउने क्रममा खेलको पन्ध्रौँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका थिए। त्यसपछि मैदानमा हावी भएको उर्लाबारीका लागि लिम्बूले बाँकी तीन गोल दोश्रो हाफमा गरेका थिए। यद्यपी उर्लाबारीका लागि सुरुवाती गोल खेलको चौथो मिनेटमा सुभाष गुरुङले गरेका थिए। गुरुङले खेलमा कुल दुई गोल गरे।

त्यसैगरि, उर्लाबारीको जितमा मिलन धिमाल, अनिल तिम्सिना र नविन कमालले समान एक गोल गरेका थिए। पराजित मुनालका लागि नविन चौधरी र सागर कार्कीले सान्तवना गोल फर्काएका थिए। पहिलो खेलमै जित हात पारेको उर्लाबारीले लिगमा स्पस्ट ३ अंक बनाएको छ।

लिग अन्तर्गत लेटांगमा भएको अर्को खेलमा साविकको लिग विजेता टोली साइनो क्लब पराजित भएको छ। विराटनगर मिल्स एरियाको टोली साइनोलाई विराटनगरकै पोखरियास्थित सम्राट स्पोर्टिङ क्लबले तीन शुन्यले पराजित गरेको थियो। जितसंगै सम्राटले स्पस्ट तीन अंक जोडेको छ।

लिग अन्तर्गत समूह ‘बी’बाट मंगलबार विराटनगरस्थित जुटमिल्सको मैदानमा बेलबारी फुटबल क्लबले चारतारे क्लब लेटांगको सामना गर्नेछ। त्यसैगरि समूह डी बाट लेटांगमा हुने खेलमा श्री हरैंचा क्लबले नवप्रगतिशील समाज सेवाको सामना गर्ने आयोजक मोरङ जिल्ला फुटबल संघले जनाएको छ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्