बाराका हावाहुरी प्रभावित महिलाले गरे गाउँपालिका घेराउ

वीरगञ्ज– गत चैत १७ गते आएको विनासकारी हावाहुरीबाट प्रभावित भएका बारा भरबलियाका हुरी पीडीतहरुले सोमबार गाउँपालिका कार्यालय घेराउ गरेका छन्।

फेटा गाउँपालिका वडा नम्बर–१ का हुरी पीडितहरुले घर निर्माण गर्ने क्रममा नाम छुटाएको भन्दै भरवलिया टोलका हुरी पिडितहरुले गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन्।

हातमा झाडु लिएर आएका करिब ५० जना हुरी पीडीत महिलाहको समूहले गाउँपालिका कार्यालय घेराउ गरेका हुन्। सो क्रममा गाउँपालिकाका प्रमुख अमिरी लाल साहका कार्यकर्ताहरुले महिलाहरुको समुहलाई गाउँपालिका भित्र प्रवेश गर्नबाट रोक्न खोज्दा धकेला–धकेल समेत भएको थियो।

यसक्रममा झडप हुने स्थिति सिर्जना भएपछि नेपाल तथा सशस्त्र प्रहरीले भिडलाई नियन्त्रण गरेको थियो। गाउँपालिका कार्यालय घेराउ गर्नेक्रममा करिब ८ जना समान्य घाईते समेत भएको स्थानीय वीरेन्द्र साहले बताए।

गाउँपालिका कार्यालयकै लापारबाहीका कारण आफुहरुको नाम वास्तविक पीडितको सूचीमा नराखिएको भन्दै पीडित स्थानीयबासीहरुले आक्रोश समेत व्यक्त गरेका थिए। उनीरुले हुरीबाट आफनो घर क्षतिग्रस्त भएपछि त्रिपाल र टेन्टमा बस्दै आएको भएपनि आफनो घर निर्माण गर्नको लागि संकलन गरिएको सूचीमा आफनो नाम नपरेकाले स्थानीय जनप्रतिनीधीहरुले अरुको नाम हालेकोे आरोप लगाएका छन्।

वास्तविक हुरी पिडितको नाम छुटाएर जनप्रतिनिधिहरुकै मिलेमतोमा आफना कार्यकर्ताहरुको नाम सूचीमा समावेश गरेको आरोप पिटडीतहरुले लगाएका छन्। हावाहुरीले घर भत्काएपछि पीडितहरुको सूची संकलन गर्ने क्रममा चरम लापारबाही भएको बताएका छन्। स्थानीय हुरी प्रभावित महिलाहरु गाउँपालिका कार्यालयको मूल गेटमै बसेपछि गाउँपालिका प्रमुख अमिरी लाल साहले छुटेका हुरी प्रभावितहरुको बारेमा भोली देखि नै प्रशासनसँग आवश्यक पहल थाल्ने आश्वासन दिएपछि हुरी प्रभावित महिलाहरु घर फर्किएको वडा नम्बर १ का वडाध्यक्ष जय प्रकाश दासले बताए।

उनले नाम छुटेका प्रभावितरुलाई निवेदन लेखेर दिन तथा आफूहरुले आवश्यक पहल गर्ने आश्वासन दिएपछि हुरी पीडितहरु घर फर्किएको जानकारी दिए। ‘महिलाहरु गाउँपालिका कार्यालयमा आक्रोशित भएर तालाबन्दी नै गर्न गएका थिए’,वडाध्यक्ष दासले भने,‘पछि सम्झाएर प्रशासनसित छुटेका पीडितहरुका लागि पहल गरिने भनेपछि उनीहरु घर फर्किएका छन्।’

यस्तै बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ४ को वडा कार्यालयमा बितेको ५ दिनदेखि तालाबन्दी गरिएको छ। हावाहुरी प्रभावितहरुलाई राहत वितरणमा विभेद गरिएको आरोप लगाउँदै विपक्षी दलका नेता कार्यकर्ताहरुले गएको बिहीबारदेखि तालाबन्दी गरेको वडाध्यक्ष आनन्द गुप्ताले बताए।

वडा अध्यक्ष गुप्ताले आफनो लोकप्रियता देखेर विपक्षीहरु आत्तिएर तालाबन्दी गरेको आरोप लगाए। ‘हुरी प्रभावितको नाममा राजनीति गर्ने कामले तालाबन्दी गरिएको हो’,वडाध्यक्ष गुप्ताले भने,‘विपक्षी पार्टीहरुले नै हुरी पिडीतहरुलाई उचालेर तालाबन्दी गरेका हुन्।’

आफनो समस्या राख्ने प्रशस्त ठाँउ भएपनि जनताको कामलाई असर पार्ने गरी गरिएको तालाबन्दी खेदजनक भएको वडा अध्यक्ष गुप्ताले आरोप लगाए। तालाबन्दी गर्ने अराजक तत्वमाथि आफूहरुले कानुनी कारवाहीको प्रक्रिया अघि बढाई सकेको समेत वडा अध्यक्ष गुप्ताले बताए।

उनले तालाबन्दी खोल्ने बिषयमा सोमबार दिउँसो बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलसँग आफूले कुरा गरेको बताउँदै प्रजिअ पौडेलले तालाबन्दी खोल्न पहल गर्ने आश्वाशन दिएको बताए।

गएको बिहिबार देखि लागेको ताला अहिल सम्म पनि नखुलेपछि सेवाग्राहीहरु मारमा परेका छन्।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्