भारतीय सवारी साधनबारे गृह सच्चियो- शंका लागे प्रहरीले जहाँ पनि चेकजाँच गर्न सक्छ

फाइल तस्बिर

काठमाडौँ- भारतबाट भित्रिने मालवाहक गाडीमा शंका लागे प्रहरीले जुनसुकै समय र स्थानमा चेकजाँच गर्न सक्ने गृहमन्त्रालयले जनाएको छ । एक महिनापहिले २२ जिल्ला प्रशासनलाई परिपत्र गर्दै प्रहरीलाई अनावश्यक चेकजाँच नगर्न निर्देशन गरेको गृहले त्यसको विरोध भएपछि सोमबार त्यसको बचाउमा विज्ञप्ति जारी गरेको हो ।

यसअघि भारतबाट भित्रिने मालवाहक साधनलाई अनावश्यक दुःख नदिन भन्दै परिपत्र गरेको गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्बद्ध निकायले शंका लागेमा जहाँ र जुनसुकै समयमा चेकजाँच गर्नसक्ने जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भनेका छन्, ‘कुनै व्यवसायप्रति आग्रह/पूर्वाग्रह राखी कसैप्रति लक्षित भई परिपत्र गरिएको हैन । उद्योगमैत्री वातावरण गर्न प्रशासनलाई परिपत्र गरिएको हो ।’

उक्त परिपत्र नेपाल प्रवेश गरिसकेपछि सडकमा हुने गरेको दुःख हैरानीका सम्बन्धमा आएका गुनासा सम्बोधन गर्ने प्रयोजनका लागि मात्रै गरिएको गृहको पछिल्लो दाबी छ।

यसअघि जेठ २ गते गृह मन्त्रालयका शाखा अधिकृत दीपक पौडलले हस्ताक्षर गरेको परिपत्रमा बाटामा ट्राफिक प्रहरीले दुःख दिएको भन्दै चेकजाँच नगर्न निर्देशन दिइएको थियो।

बाटोमा ट्राफिक प्रहरीले ओभरलोड भनेर ट्रक र ट्रेलर समाती दुःख दिने, जरिवाना तिराउने, २–३ दिनसम्म होल्ड राख्ने गरेको उद्योगीको गुनासोपछि यस्तो निर्देशन गर्नुपरेको गृह मन्त्रालयले जनाएको थियो ।

नियमन गर्ने छुट्टै निकाय भएकाले उनीहरूले आग्रह गरेमा शान्ति सुरक्षाको व्यवस्था गरे पनि अनावश्यक दुःख नदिन परिपत्रमा भनिएको थियो । नियामक निकायको समन्वय र अनुरोधबिना क्षेत्राधिकारविपरीत रोक्ने, हैरानी दिने कार्य नगर्न गृहमन्त्री रामबहादुर थापाको निर्णय भन्दै गरिएको आफ्नै परिपत्र विपरित गृहले सोमबार विज्ञप्ति जारी गरेको हो।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्